काठमाडौं- दुई वर्षअघि अर्थात् २०७६ कात्तिकमै र्यापर भिटेन पक्राउ परे। उनको चर्चित गीत ‘हामी त यस्तै त हो नि ब्रो’ले अश्लिलता फैलाएको भन्ने आरोप प्रहरीको थियो। त्यो गीतमा उनले बेप्रवाह युवाहरुको असीमित सपनालाई गीतमार्फत् प्रस्तुत गरेका थिए।
सामाजिक यथार्थ र्यापमार्फत् प्रस्तुत गर्ने भिटेनको त्यो शैली आधुनिकता अपाउन चाहने तर खुलेर समर्थन गरिनसकेको समाज र त्यही समाजको ‘श्लिलता’को जिम्मा लिइरहेको प्रहरी प्रशासनलाई हजम भएन। अभद्र व्यवहार र अश्लिलता फैलाएको आरोपमा उनी जेल परे।
उक्त घटनाको दुई वर्षपछि भिटेनको अर्को गीत ‘गल्ली सडक’ आएको छ। सार्वजनिक भएको दुई दिनमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको गीत प्रहरी प्रशासनको त्यही क्रियाको ‘प्रतिक्रिया’ जस्तो सुनिन्छ। आफ्नो कथाबाट उनले सामाजिक यथार्थमाथि चोटिलो प्रहार गरेका छन्।
जो गर्न खोज्न यहाँ राम्रो, त्यही नर्क जान्छ
मेरो बानीबेहोराले यहाँ सवकुरा फरक पार्छ
जब हान्न थाल्छु र्याप, एक्कासी रगत तात्छ
किनकी मेरो कहानीको सुरुवात भो गल्ली र सडकबाट
![](https://nepallive.com/elFinder-2.1.51/files/viten1.jpg)
समिर घिसिङका नाममा भिटेनको बाल्यकाल अभावमा बित्यो। त्यसैले उच्च शिक्षा हासिल गर्न पाएनन्। १६ वर्षकै उमेरमा गाउँ छाडेर काठमाडौं आइपुगेका उनले थाङ्का पेन्टिङबाट आफ्नो काठमाडौंमा बाँच्ने मेलो लगाएका थिए। काठमाडौंका गल्लीमा भौतारिँदा सहरले गरिबमाथि गरिरहेको अन्याय उनले राम्ररी महशुस गरेका छन्। आफूले भोगेको गरिबी र गरिबलाई काठमाडौंले हेर्ने दृष्टिकोण उनले पहिलो रेकर्डेड गीत ‘गरिबी’मा प्रस्तुत गरेका छन्।
गरिबको छोरो हुँ म गरिबी नाम
ज्यलादारी गरेर घर चलाउने मेरो बाउ
नौ डाँडा पारी छ मेरो त्यो पुरानो गाउँ
बाउ खाने र छोरा हेर्ने काठमाडौं यो ठाउँमा
गाँठ र ठाँट चाहिँदो रहेछ चल्न यो ठाउँमा
यस्तो स्वार्थ हुँदैनथ्यो हाम्रो स्वच्छ गाउँमा
नुन छर्किने मान्छे मात्र भेट्छु मनको घाउमा
यो गीतमा उनले संघर्ष गर्न र दुःखसँग लड्ने उत्प्रेरित गरेका छन्। नयाँ गीत ‘सडक गल्ली’मा उनी आफ्नो त्यही अतितलाई सम्झिएका छन्। समाजको असलीयत बुझेका उनले ‘छाडा गीत’ गाएर समाज बिगारेको आरोप लगाउनेमाथि यसरी चोटिलो प्रहार गरेका छन्:
अपराधी सरकारले पाल्या छ, भात खुवाउँदै मज्जाले राख्या छ
बिग्रेको समाजको दोष मेरो टाउकोमा खन्याउँदै हाल्या छ
के गर्न खोजेको थाहा छैन, जेल हाल्छ मलाई समातेर
के फाइदा छ र मलाई यहाँनेर बिग्रेसकेको समाज बिगारेर
उनलाई आफूलाई पक्रेर लैजाने प्रहरीमाथि रोष पोखेका छन्। गाढा निलो ड्रेस मन नपर्ने बताउँदै उनले प्रहरीमाथि घृणा पस्केका छन्।
आफ्ना र्यापमामा ‘लोकका गीत’ पस्किने क्रमको यो नयाँ शृंखला हो। कहिलेकाहिँ राम्रो काम गर्दागर्दै ‘फस्ने’ निर्दोषहरु मानसिक मझदारलाई उनले यसमार्फत् पस्केका छन्।
लयले लोकगीत भनिने गीतहरु लोक दैनदिन, व्यथा र कथाबाट टाढिँदै गएका छन्। तर, भिटेनका गीतहरु ‘कथा’, ‘बैनी’, ‘लफंगा’ ‘चुरोट’, ‘हालखबर’, ‘मान्छे खत्तम’ ‘खलासी’ लोकका गीत जस्ता सुनिन्छन्।
‘कथा’मा उनले एउटा गरिब नेपालीको कथा भनेका छन्। विदेशमा संघर्ष गर्दासमेत सपनाको ‘घरजग्गा’ जोड्न नसक्ने तर, जवानी खेर फाल्ने लाखौं नेपाली युवाको मर्म बोल्छ। ‘चुरोट’ले कुलतमाथि प्रहार गर्छ। ‘मान्छे खत्तम’ प्रेममा धोका दिने युवाहरुको ‘रियलाइजेसन’ हो। युवाहरुको निकम्मापनमाथि ‘लफंगा’मा प्रस्तुत गरेका छन्। ‘हालखबर’मा युवाहरुको मनोदशामाथि छ।
तिहारको छेकमा सुन्नैपर्ने उनको गीत ‘बैनी’ हो। आफ्नै कान्छी बहिनीका विषयमा प्रस्तुत गरेको गीतमा ठूलो मान्छे होसियारी नपुग्दा सानोले भोग्ने पीडामाथि छ। आफ्नै पश्चातापबाट उनले आमजनलाई सन्देश दिन खोजेका छन्।
भिटेनका गीतमा प्रस्तुत हुने असहज शब्द केलाएर उनलाई प्रहरीले हिरासतसम्म पुर्यायो। तर, उनले हरेक गीतबाट आफू शब्द भन्दा अर्थ बढी हो भनेर प्रस्तुत गर्दै आएका छन्। नयाँ गीत ‘गल्ली सडक’ त्यसैको निरन्तरता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।