प्रमुख प्रतिपक्ष नेकपा एमाले दशौं महाधिवेशनको संघारमा छ। आउँदो मंसिर १०–१२ मा चितवनमा हुने महाधिवेशनका लागि एमालेले वडा र पालिका तहका अधिकांश अधिवेशन सम्पन्न गरिसकेको छ। बाँकी केही स्थानमा कात्तिक मसान्तभित्र अधिवेशन भइसक्नेछ। एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी गठन भएपछि हुनलागेको यो महाधिवेशनलाई एमालेले ‘एकताको महाधिवेशन’ भनिरहेको छ। एमालेको नयाँ नेतृत्व कसरी चयन हुन्छ त? एमाले महाधिवेशन तयारी, एमाले हिँड्न खोजेको अबको बाटो र पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रहेर एमाले प्रवक्ता प्रदीप ज्ञवालीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको संवादः
दशौं महाधिवेशनको तयारीमा केन्द्रित हुनुहुन्छ, तयारी कहाँ पुग्यो?
तीब्र रफ्तारमा हामीले महाधिवेशन तयारीलाई अगाडि बढाइरहेका छौं। हुन त अत्यन्तै ठूलो सहभागितासहित विधान महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पार्टी राष्ट्रिय महाधिवेशनमा जाँदैछ। तयारीका निम्ति यो समय अपर्याप्त हो। तर, पनि देशव्यापी रुपमा जुन ढंगको उत्साह, नयाँ उर्जा र गति पार्टी पंक्तिमा उत्पन्न भएको छ, त्यही उर्जामा टेकेर महाधिवेशनको तयारीलाई तीव्रता दिएका छौं। भरखरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि छनोट लगायत अन्य मापदण्ड, विधि, प्रक्रिया निश्चित गरेसँगै धेरै काम अगाडि बढेका छन्। हामी अब प्रतिनिधि चयनको प्रक्रियातिर पनि अगाडि बढ्दै छौं।
महाधिवेशन प्रतिनिधि कसरी छनोट हुन्छन्?
महाधिवेशनमा तीन प्रकारका प्रतिनिधिहरु हुनुहुनेछ। एउटा, पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगसँगै सल्लाहाकार परिषद्बाट करिब २६३ सदस्यहरु पदेन हैसियतमा सहभागी हुनुहुनेछ। ठूलो संख्या भने हामी निर्वाचित गर्नेछौं। निर्वाचित र पदेन प्रतिनिधिको कुल संख्याको ५ प्रतिशत मनोनित हुनुहुनेछ।
निर्वाचनबाट आउने प्रतिनिधि करिब १७ सय हाराहारी हुनुहुनेछ। त्यसमध्ये सबैभन्दा ठूलो संख्या हरेक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आउनेछ जहाँ हामीले १५ सय पार्टी सदस्य बराबर २ जना खुला र एकजना महिलासमेत प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम तीन, त्यसमाथि एक हजार सदस्य बढ्दै जाँदा एक–एकजना थपिने र हरेक तेस्रोमा महिला हुने गरेर यो संख्या तय गरेका छौं। केन्द्रीय कमिटीले थप चार सय प्रतिनिधि बढाउने निर्णय गरिसकेपछि यो अनुपात अलि घट्न सक्छ। सम्भवतः यो १२ सय, १३ सयमा आउन सक्ला। तर, प्रतिनिधिको सबैभन्दा ठूलो संख्या प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आउनेछ।
दोस्रो, हरेक जिल्लालाई एउटा निर्वाचन क्षेत्र मानेर जिल्लाभरका दलित सदस्यमध्येबाट चुनिएर आउने प्रतिनिधि हुनुहुन्छ। त्यसो गर्दा ७७ जिल्लाबाट न्यूनतम एकजना दलित प्रतिनिधि आउनुहुन्छ। सदस्य संख्या बढदै जाँदा त्यो अनुपात पनि बढ्नेछ। त्यस्तै, प्रत्येक प्रदेशलाई निर्वाचन क्षेत्र मानेर मजदुर प्रतिनिधिहरु आउनुहुन्छ। त्यसैगरी, हरेक प्रदेश कमिटीमा रहनुभएका प्रदेश कमिटीका सदस्यले मनोनित गरेर पठाउने एउटा निश्चित संख्या छ। यो चाहिँ भुगोलबाट आउने कुरा भयो।
हाम्रो प्रवासमा पनि पार्टीका सदस्य हुनुहुन्छ। प्रवासलाई हामीले मुख्यतया ६ वटा क्षेत्रमा बाँडेका छौं। उत्तर अमेरिका र दक्षिण अमेरिकासहितको एउटा, युरोप, खाडी, भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायतको ओसिनिया एउटा क्षेत्र र एशिया प्यासिफिक गरेर ६ वटा क्षेत्रबाट पनि हामीले प्रतिनिधिको व्यवस्था गरेका छौं। त्यसअलावा हामीसँग २१ वटा परिभाषित जनसंगठन छन्। जनसंगठनका केन्द्रमा रहेका पार्टी सदस्यहरुबाट हामीले ५ जनाका दरले प्रतिनिधि ल्याउँछौं। ३१ वटा विभाग र केन्द्रीय कार्यालय छन्, त्यसलाई एउटा निर्वाचन क्षेत्र मानेर प्रतिनिधिहरु सहभागी गराउछौं। यसमा चाहिँ ५ जना चुनिनु भयो भने २ जना महिला अनिवार्य हुनुपर्छ। तीनजना भए एकजना महिला अनिवार्य हुनुपर्छ। हाम्रो विश्वास छ, महाधिवेशन प्रतिनिधिमा एकतिहाई महिला प्रतिनिधित्व सुनिश्चित हुनेछ।
नेतृत्व चयन कसरी हुन्छ? अनि पदाधिकारी र केन्द्रीय सदस्य कसरी निर्वाचित हुन्छन्?
हामीले पदाधिकारी र केन्द्रीय सदस्य चुन्दा ध्यानमा राख्नुपर्ने महत्वपूर्ण पक्ष भनेको त्यो कमिटीको समावेशी संरचना हो। संविधान र राजनीतिक दलसम्बन्धी प्रचलित कानूनले नै केन्द्रीय समिति समावेशी हुनुपर्ने र एकतिहाइ महिला सहभागिता सुनिश्चित हुनुपर्ने भनेको छ। हामी त्यसको कार्यान्वयन गर्नेछौं। राष्ट्रिय दलहरुमध्ये सबैभन्दा पहिले हामी नै महाधिवेशनमा जादै छौं। यसो गर्दा हाम्रो निर्वाचन क्षेत्र सामान्यतया दुई खालको हुनेछ।
एउटा खुला क्षेत्र हुनेछ जसमा जोकोही पनि सहभागी हुन सक्नुहुनेछ। दोस्रो समावेशी हो जहाँ हामीले ७ वटा कलष्टर छुट्याएका छौं। त्यसभित्र आदिवासी, जनजाति, मधेशी, दलित, थारु, मजदुर, मुस्लिम र अपाङ्गता सहितका कलष्टर छन्। हाम्रो अनुमान कम्तीमा ५१ प्रतिशत प्रतिनिधि यी कलष्टरबाट आउनुहुनेछ। त्यसले गर्दा एकदमै समावेशी खालको केन्द्रीय कमिटी बन्नेछ। पदाधिकारी चाहिँ खुला निर्वाचनबाट आउनुहुन्छ। त्यसमा हामीले कुनै आरक्षण छुट्टयाएका छैनौं। तर, मलाई विश्वास छ, पदाधिकारीमा पनि विभिन्न कलष्टरको प्रतिनिधित्व हुनेछ।
एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु बाहिरिएको बेला भइरहेको महाधिवेशन कस्तो होला? यसले दिने अर्थ के होला?
विभाजन उहाँहरुले स्वेच्छाले रोजेको बाटो हो। एउटा गलत मनसाय र गलत डिजाइनमा उहाँहरु पर्नुभयो भन्ने म ठान्छु। कम्युनिष्ट आन्दोलन एउटा उचाइमा जाँदै थियो। कम्युनिष्टहरुले झण्डै दुई तिहाइ बहुमतसहितको सरकार चलाउने अवसर पाएका थिए। कम्युनिष्टमाथि जनताको भरोसा थियो, त्यो तोडने काम उहाँहरुले गर्नुभो। कल्पना नै गर्न नसकिने आफ्नो पार्टी नेतृत्वको सरकारलाई गिराउन आफै अग्रसर हुने र त्यसमा निर्णायक भूमिका खेल्ने काम उहाँहरुले गर्नुभो। किनभने कांग्रेस, माओवादी वा अरु कसैले चाहँदैमा सरकार ढल्नेवाला थिएन। एमालेकै नेताहरु स्वयं अग्रसर भएर सरकार ढाल्नुभो र पार्टी विभाजनको बाटो रोज्नुभो। त्यो इतिहासको एउटा कलंकित बाटोमा चित्रित हुनेछ। इतिहास हेर्दा सम्मान गर्न मन लाग्छ, तर वर्तमान त उहाँहरुको सम्मान गर्न लायकै रहेन।
मानिसले बलेको आगो ताप्छ। तर, यो भन्दा ठूलो, सत्ताको आगो त कांग्रेसको चुल्होमा बलेको छ। माओवादीको चुल्हो र माधव नेपालको पार्टीको चुल्होमा पनि बलेको छ। तर, ती पार्टीहरु छाडेर एमालेमा प्रवेश गर्ने क्रम तीब्र छ। पार्टी पंक्तिमा कहीँ कतै निराशा छैन, बरु एकखालको संकल्प छ।
उहाँहरु अलग्गिएको अवस्थालाई एकखालका मानिसहरुले, समाजको एक तप्काले जबर्जस्ती नेकपा एमालेको विभाजन भएको, एमाले कमजोर बनेको, ओरालो लागेको हिसाबले चित्रित गरे। कतिपयले एमालेको भविष्य नै छैन भन्ने हिसाबले पनि व्याख्या गरे। तर, हामीले अभूतपूर्व एकताका र भव्यरुपले असोज १५–१७ मा सम्पन्न गरेको विधान महाधिवेशन, कात्तिक ६ गते एकैदिन गरेको वडा र ९ गतेको पालिका तहको अधिवेशनपछि देशव्यापी रुपमा एमाले प्रवेश गर्ने लहर चलेको छ।
हो, मानिसले बलेको आगो ताप्छ। तर, यो भन्दा ठूलो, सत्ताको आगो त कांग्रेसको चुल्होमा बलेको छ। माओवादीको चुल्हो र माधव नेपालको पार्टीको चुल्होमा पनि बलेको छ। तर, ती पार्टीहरु छाडेर एमालेमा प्रवेश गर्ने क्रम तीब्र छ। पार्टी पंक्तिमा कहीँ कतै निराशा छैन, बरु एकखालको संकल्प छ। हामीलाई सरकारबाट बाहिर पुर्याउनेहरुको हिसाबकिताब गर्छौं भन्ने छ। अरु बेला अधिवेशन भन्नेबित्तिकै अस्वस्थ प्रतिस्पर्धा र झैंझगडा नै हुनेगरेकोमा अहिले अभूतपूर्व एकता देखिएको छ। यसले नै विभाजनका असरहरुलाई समाप्त पार्ने छ।
सामान्यतया विभाजन कहीँ पनि प्रिय चिज होइन। विभाजनबाट हामी खुशी छौं भन्ने होइन। तर, उहाँहरुले जे गर्नुभो, त्यो गर्ने मनसायसहित एकै ठाउँमा भए पनि के अर्थ हुन्थ्यो र! उहाँहरु बाहिरिएसँगै पार्टी दुइवटा कुराबाट मुक्त भएको छ। एउटा, बैठक भनेपछि अनन्त कचिङ्गल थियो। बैठकमा बहस गर्नु, छलफल गर्नु राम्रो कुरा हो। पार्टी जीवन्त हुन यसो हुनैपर्छ। पार्टीको आन्तरिक लोकतन्त्र एकदमै सुनिश्चित र फराकिलो हुुनुपर्छ। तर, लोकतन्त्र भनेको अन्तहीन कचिङ्गल होइन। उहाँहरुको उपस्थिति हुँदा बैठक अन्तहीन कचिङ्गलको थलो जस्तो बनेको थियो। अधिवेशन र महाधिवेशन पनि कचिंगल र गुटगत प्रतिस्पर्धाको थलो जस्तै थिए। यो स्थितिबाट पार्टी मुक्त भएको छ। अब एउटा स्पष्ट लक्ष्य, एउटै लय र गतिका साथ पार्टी अगाडि बढेको छ।
तपाईंहरुले यसलाई एकताको महाधिवेशन भनिराख्नुभएको छ, त्यसो भन्नुको अर्थ के हो?
तीनवटा कुरामा यो एकताको महाधिवेशन हो। पहिलो, हामीले २०७५ जेठ ३ गते पार्टी एकीकरण गर्यौं। पार्टीभित्र समस्याहरु उत्पन्न भए। प्रचण्ड सधैँ अस्थिरतामा रमाउने र त्यसैलाई सफलता ठान्ने सदाबहार चरित्रमा देखिनुभो। उहाँको अस्थिरताको शिकार नेकपाको एकीकरण पनि भयो। फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एउटा कानूनी ढोका पनि खोलिदियो। तर, प्रचण्ड आफ्नो सानो समूह लिएर अलग भए पनि त्यो एकीकरणबाट एकीकृत पार्टीमा आएको एउटा ठूलो पंक्ति आज पनि एमालेभित्र छ। प्रचण्ड जानुभयो, उल्लेख्य हिस्सा गयो होला तर, एकीकरणलाई निरन्तरता दिनुपर्छ भन्ने पूर्वमाओवादीको एउटा पंक्ति एमालेमै छ। उहाँहरुसमेत समेटिएकाले यो एकताको महाधिवेशन हो।
दोस्रो, महाधिवेशनमा बहस हुनु, विचारमा फरक हुनु, त्यसमा मतदान पनि हुनु ठूलो कुरा होइन। हामीले २०४९ सालमा पाँचौ महाधिवेशनमा पनि मतदानबाट फैसला गरेका हौं। जनताको बहुदलीय जनवाद मतदानबाटै अत्यधिक बहुमत प्राप्त गरेरै पार्टीको कार्यक्रम र पछि सिद्धान्त बनेको हो। अरु बेला पनि हामीले कतिपय विषयमा विचारमै पनि मतदान गरेका छौं। विचारको मतदानलाई अन्यथा ठान्नु हुँदैन। तर, यसपटक हामीलाई खुसी र गर्व मान्नुपर्ने कुरा के छ भने असोज १५–१७ को प्रथम विधान महाधिवेशनबाट पार्टीलाई पाँच वर्षसम्म बाटो देखाउने हाम्रो सिद्धान्त, कार्यक्रम, कार्यदिशा एकमतले टुंग्याएका छौं। यस अर्थमा यो महाधिवेशनमा विचारमा अनेकता हुने छैन। अनि कमिटीमा धेरै साथीहरु सर्वसम्मत रुपले छानिनु हुनेछ भन्ने हाम्रो विश्वास छ। यद्यपि, प्रतिस्पर्धा नै हुँदैन भन्ने होइन।
झण्डै ८ लाख पार्टी सदस्यहरुबाट चुनिएका झण्डै दुईहजार प्रतिनिधिहरुको बीचमा सबै पदमा र निकायमा सर्वसम्मत नहुन पनि सक्छ। त्यसलाई हामीले अनेकताका रुपमा बुझ्नु हुँदैन। तर, स्वस्थ प्रतिस्पर्धामा जाने र आएको परिणामलाई स्वीकारेर अगाडि बढ्ने त्यो एउटा साझा संकल्प जुन छ, त्यसअर्थमा पनि हामीले एकताको महाधिवेशन भनेका हौं।
वडा र पालिका तहमा अधिकांश ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको छ। महाधिवेशन पनि त्यस्तै हुन्छ कि चुनावी प्रतिस्पर्धा हुन्छ?
हाम्रो प्रयास सर्वसम्मत नेतृत्व चयनमा हुनेछ, यद्यपि त्यसो भएन भने पनि हामी त्यसलाई एकदमै सहज ढङ्गले लिन्छौं। किनभने पार्टी छैटौं महाधिवेशनदेखि नै निर्वाचनको माध्यमबाट गुज्रिएको छ। त्यो अनौठो र अप्ठयारो कुरा केही पनि होइन। तर, सामान्यतया अहिले हाम्रोसामु जुन चुनौतीहरु छन्, एमालेलाई जसरी घेराबन्दी गरिएको छ। संसारभर हामीले सत्तापक्षविरुद्ध प्रतिपक्षले गठबन्धन गरेको, प्रतिपक्षले सत्तालाई हाँक दिएको देखेका छौं। हामीकहाँ त सत्तापक्षले गठबन्धन गरेर प्रतिपक्षलाई हाँक दिइरहेका छन्। यस्तो अवस्थामा नेतृत्वमा उच्चस्तरको सहमति र समझदारी ज्यादै महत्वपूर्ण हुन्छ। हामी त्यो होस् भन्ने चाहन्छौं। अब त्यसो भएन भने पनि त्यसलाई स्वस्थ र मर्यादित ढङ्गले सञ्चालन गरिन्छ। त्यो त्यति ठूलो कुरा होइन।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भनेको त धेरै विचारलाई फुल्न, फैलिन नदिने अभ्यास पनि हो भन्ने गरिन्छ। त्यसलाई ख्याल गर्नुभएको छ?
होइन। पहिलो कुरा त दशौं राष्ट्रिय महाधिवेशनमा हामीले थप सैद्धान्तिक, वैचारिक विषयहरुमा धेरै छलफल गर्दैनौं। किनभने त्यो गर्ने प्रयोजनका लागि छुट्टै विधान महाधिवेशन सम्पन्न गरिसक्यौं। विधान महाधिवेशनले पार्टीको सिद्धान्त, कार्यक्रम, कार्यदिशा, नीति समेटिएको विधानको टुंगो लगाइसक्यो। अब फेरि दुई महिनापछि त्यही विषयमा बहस गर्नु आवश्यक हुँदैन र सान्दर्भिक पनि हुँदैन। हो, हामीले हाम्रा कतिपय विषयहरुलाई अझ बढी स्पष्ट पार्नुपर्ने छ र अद्यावधिक पनि गर्नुपर्ने छ। ती काम हामी क्रमशः गर्नेछौं। केन्द्रीय कमिटीको बैठकमा गर्न सकिने छ। स्थायी कमिटीको बैठकमा गर्न सकिने छ।
भोलि अरु कुनै राष्ट्रियस्तरको फोरम निर्माण गर्न सकिनेछ। तर, दुई महिना अगाडि टुंग्याइएको विचारको बहस फेरि दशौं राष्ट्रिय महाधिवेशनमा प्रवेश गर्दैन। त्यसो भएर दशौं राष्ट्रिय महाधिवेशन मुख्य दुईवटा कुरामा केन्द्रित हुनेछ। एउटा, निकै ठूलो जनसहभागितासहित नेकपा एमालेको सामथ्र्य, एकता र नेकपा एमाले कुन दिशातिर अगाडि बढदै छ भन्ने कुरा हामी उद्घाटन शत्रमार्फत् प्रष्ट गर्नेछौं। दोस्रो, पार्टी नेतृत्व चयन गर्छौं।
विधान महाधिवेशनले पारित गरेको विचारलाई अगाडि बढाउन सक्ने सक्षम, गतिशील नेतृत्व हामी चयन गर्छौं। त्यहाँ असहमतिलाई ठाउँ नदिने भन्ने प्रश्न नै हुँदैन। कतिपय प्रश्नहरु हिजो विधान महाधिवेशन अगाडि दस्तावेजमा छलफलकै क्रममा विभिन्न नेताहरुले उठाउनुभएको थियो। ती विषयहरु दस्तावेजमा समेटिएका छन्। केही प्रश्नहरुमा साथीहरुका भनाइहरु छन्, ती भनाइहरु कमिटीमा सुरक्षित छन्। तर, विधान महाधिवेशनले एउटा स्पष्ट बाटो तय गर्यो। केही कमरेडहरुलाई प्रतिनिधि सभा विघटन गर्नु उचित थिएन कि भन्ने लागिरहेको छ, तर विधान महाधिवेशनले त्यो कुरालाई उचित ठहर्यायो। त्यतिबेलाको बाध्यात्मक कदम हो भनेर स्वीकार गरिसकेपछि अब महाधिवेशनको फैसलालाई स्वीकार गर्दै जाने हो। अब पछि कुनै घटनाक्रममा समग्र समीक्षामा अन्यथा निष्कर्ष निस्किएछ भने बेग्लै कुरा। नभए महाधिवेशनले स्वीकार गरेको, पारित गरेको विषयलाई कार्यान्वयन गर्दैै हामी अगाडि बढनुपर्ने हुन्छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनकै कुरा गर्दा एमालेमा जिम्मेवारी लिन सक्ने नेताहरुको संख्या धेरै छ।उनीहरुको पदीय व्यवस्थापन कत्तिको सहज देख्नुभएको छ?
निश्चय नै, महाधिवेशनले केन्द्रीय कमिटीको आकार २२५ मा सिमित गरेको छ। पदाधिकारीहरुको संख्या १५ मा सीमित गरिएको छ। हामी त्यसलाई परिवर्तन गर्न सक्दैनौं। अब केही कमरेडहरु उमेर हदका कारणले फेरि कार्यकारी जिम्मेवारीमा नआउनु होला। तर, त्यो संख्या अहिलेका लागि कमै छ। त्यसले गर्दा नेता कमरेडहरुको व्यवस्थापन चाहिँ एउटा गह्रौं जिम्मेवारी हो। हामी खुशी यस मानेमा छौं कि मुलुक र पार्टी हाँक्न सक्ने सक्षम र सुयोग्य नेतृत्वको टीम हामीसँग छ।
टीमको नेताका रुपमा केपी शर्मा ओली हुनुहुन्छ। अरु सिंगो पंक्ति पनि त्यसैगरी तयार भएको छ। हामी ती उत्कृष्ट नेताहरुमध्येका सर्वोत्कृष्ट, सक्षम नेताहरुमध्येका अझ क्षमतावान्, लोकप्रियमध्येका सर्वाधिक लोकप्रिय नेताहरुलाई नेतृत्वमा स्थापित गर्छाैं। अब सबै जना पदाधिकारी बन्न त सम्भव हुँदैन। पार्टीमा खास साथीहरुले जिम्मेवारी लिने हो। अरु साथीहरु, पार्टीका विभिन्न पदाधिकारीमा आउन नसकेका साथीहरु पार्टीको केन्द्रमा रहेर, केन्द्रमा नअटाउने साथीहरु अन्य कमिटीमा रहेर हामी एउटै लयमा अगाडि बढछौं।
कमिटी कत्रो बनाउने भन्ने विषय पनि सापेक्ष कुरा रहेछ। नेकपा एमालेको जुन नेतृत्व पंक्ति छ, सबैलाई समेटौं भन्ने हो भने एकहजार सदस्यीय कमिटी बनाए पनि हामीलाई पुग्दैन। एकहजार बनाउँदा १५ सय, दुई हजार मानिस समेटनुपर्ने खाँचो आइलाग्छ। त्यसैले २२५ सदस्यीय केन्द्रीय कमिटी सानो होइन। तर, धेरै साथीहरुलाई समेट्न गाह्रो छ। समावेशी पाटो पनि छ, त्यहाँनेर हामी चाहिँ त्यसभित्रका राम्रा नेताहरु आउनुस् भनेर जोडबल गर्नेछौं।
विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले नेताहरुको व्यवस्थापनका लागि पदाधिकारीमा केही संख्या बढाइनुपर्ने सुझाव दिएका थिए। राष्ट्रिय महाधिवेशनले केही फेरबदल गर्न सक्ने अवस्था रहन्छ कि?
महाधिवेशनले त्यो अधिकार राख्छ, किनभने राष्ट्रिय महाधिवेशन भनेको सबैभन्दा माथिल्लो निकाय हो। तर, तुरुन्तै गरिहाल्छ भन्ने मलाई लाग्दैन। अब यसलाई कसरी हेर्नुपर्ला भने पार्टीमा पदाधिकारीहरुको जुन तह छ, अध्यक्ष अध्यक्ष नै भइहाल्नुभयो। वरिष्ठ उपाध्यक्षसहितको उपाध्यक्षको पंक्ति भनेको आमरुपमा भन्दा भोलि नेतृत्व सम्हाल्ने पंक्ति हो। अलिकता बुझाइमा फरक कहाँनेर भयो भने सात प्रदेशमा हेर्ने सात उपाध्यक्ष अथवा समावेशी समेट्ने गरी ९ जना उपाध्यक्ष भन्ने खालका तर्कहरु आए। त्यो तर्कलाई चाहिँ विधान महाधिवेशनले उचित ठहर्याएन। किनभने अध्यक्षको अनुपस्थितिमा काम गर्ने भनेको एउटा प्रदेशको प्रतिनिधि बनेर आउने होइन।
उपाध्यक्षहरु अध्यक्षका विकल्प वा उत्तराधिकारी हुन् सामान्यतया। यद्यपि उहाँहरु अध्यक्ष बन्न अर्को महाधिवेशनमा प्रतिस्पर्धा गर्नैपर्ने हुन्छ। यसो भएको हुनाले अध्यक्षको पदलाई चाहिँ हामीले अलिकति धेरै खुकुलो बनाउन नचाहेको हो। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलाई आगामी नेतृत्वको एउटा आधारको रुपमा हेरिएको हो। महासचिव, उपमहासचिव, सचिव एकदम कार्यकारी भएका कारणले बरु अलिकति फराकिलो बनायौं। ताकि त्यसमा अलिकति समावेशीता पनि आओस्। त्यो बरु अलिकति फराकिलो बनोस् भन्नका निम्ति।
साथीहरुले पदाधिकारीको संख्या अलि ठूलो बनाउने भन्नुभएको थियो। हाम्रो विगतको अनुभव कस्तो छ भने पदाधिकारी धेरै बनाउँदा केही मानेमा सजिलो पनि भएको छ। त्यसले असहज अवस्था पनि सिर्जना गरेको छ। त्यसो भएको हुनाले ठिक्क नेताहरुलाई व्यवस्थापन गर्न पनि सकियोस् र धेरै अव्यवस्था पनि नहोस्। पार्टीको टाउको ठूलो खुट्टा र जीउ सानो हुने जस्तो पनि नहोस्। अहिले केही पार्टीहरुमा हामी देख्छौं, पदाधिकारीहरुको संख्या ठूलो, गल्लीगल्लीमा ठोक्किएलान् भने जस्तो खालको छ। त्यो राम्रो हो जस्तो लाग्दैन।
एमालेभित्र हिजोको अन्तरसंघर्षमा फरक समूहमा रहेका कैयौं नेता अहिले पनि एमालेमै हुनुहुन्छ। एमाले अहिले जसरी अघि बढिरहेको छ, खासगरी अध्यक्ष केपी शर्मा ओली जसरी अगाडि बढिरहनुभएको छ, उहाँहरुले अबको महाधिवेशनबाट आफूहरु किनारा पारिने आशंका गरिरहनुभएको छ नि?
होइन, त्यो बिल्कुलै हुने छैन। म तपाईंको सञ्चारमाध्यममार्फत् आश्वस्त तुल्याउन चाहन्छु, हिजो को कहाँ उभिएको थियो भन्ने कुराको आधारमा कुनै पक्षपात र भेदभावपूर्ण व्यवहार हुने छैन। हामीले नेकपा एमालेलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रुपमा स्थापित गरेका छौं। यो सबै वामपन्थी समूहको पनि नेता पार्टी हो। देशकै नेता पार्टी हो। यसले सिंगो देशलाई समेटनुपर्ने छ। सबै वामपन्थीलाई समेटनुपर्ने छ। आफ्नो पार्टीभित्रका नेताहरु नसमेटेर उसले राष्ट्रिय दायित्व पुरा गर्न सक्छ र? सक्दैन नि। त्यसकारण त्यस्तो बिल्कुलै हुने छैन। कतिपय कमरेडहरुमा चाहिँ अलि बढ्तै आशंका भएको हो कि भन्ने लाग्छ।
हामीले यी समग्र घटनाक्रमलाई कसरी विश्लेषण गरेका छौ भने पार्टीभित्र सीमित रहनुपर्ने हाम्रा अन्तरविरोधहरु छचल्किएर बाहिर पुगे। ती संसदमा पुगे, ती राष्ट्रपति कार्यालयदेखि अदालतमा मुद्दाको रुपमा पुगे। सार्वजनिक प्रतिक्रिया, टिकाटिप्पणी, आलोचना, आरोप–प्रत्यारोपमा गए। त्यो इतिहासको दुःखद कालखण्ड थियो। कमरेडहरुले समयमा नै त्यो (माधव नेपालले लैजान खोजेको) बाटोलाई बुझ्नुभयो। र, त्यो कुराबाट आफूलाई पूर्ण रुपले अलग राख्नुभयो। उहाँहरुले आफूपक्षीय केन्द्रीय कमिटी र स्थायी कमिटीका साथीहरुको बैठक राख्नुभो। दुबै बैठकबाट पार्टी एकताको पक्षमा सहमति गर्नुभो। तर, माधव नेपालले ती आफ्नै पक्षका बैठकको म्यान्डेटलाई लत्याएर, साथीहरुले हात जोडेर विभाजनमा नजानुस् भन्दा, विभाजनमा जानु भनेको देशका लागि दुर्भाग्य हुन्छ भनेर सम्झाउँदा पनि खै किन हो थाहा छैन, तर उहाँ त्यो ठाउँमा पुगिछाड्नुभो।
माधव नेपालको कुरा समयक्रममा आउला, तर उहाँको साथ छाड्नुभएका कमरेडहरुले माधव नेपालको उद्देश्य बेग्लै रहेछ भन्ने देख्नसाथ हाम्रो साथ तपाईलाई पार्टीको अन्तरसंघर्षमा थियो, विभाजनमा होइन भनेर त्यहाँबाट अलग्गिएर आउनुभो। यो एकदमै राम्रो निर्णय हो। त्यसलाई हामी हार्दिकतापूर्वक स्वागत गर्छौं। विधान महाधिवेशनले नै त्यसलाई हार्दिकतापूर्वक स्वागत गरेको अवस्था छ। त्यसकारण यो एउटा इतिहासको कालखण्ड हो, यसलाई लिएर उहाँहरुले धेरै चिन्ता गरिरहनु जरुरी छैन।
कहिलेकाहीँ लाग्छ त्यस्तो नभइदिएको भए हुन्थ्यो। तर, भयो। न हिजोदेखि नै संस्थापनमा रहेको पक्षले उहाँहरुप्रति थप आशंका गर्नुपर्ने कुनै कारण छ। निश्चय नै अब हामी सार्वजनिक प्राणी हौं। पार्टी आफै एक खालको सामाजिक प्राणी हो। प्रश्न त उठछ। नेताहरुलाई तल कार्यकर्ताले प्रश्न उठाउलान्। त्यसको जवाफ त उहाँहरुले नै दिनुहुन्छ, दिइरहनुभएको पनि छ। त्यो जवाफबाट कार्यकर्ता पंक्ति कन्भिन्स्ड पनि छ। यहाँ अब कसैलाई विभेद गरिन्छ कि भन्ने कुरा चाहिँ बिल्कुल आशंकाको विषय हो। त्यो आशंका पाल्नु जरुरी छैन।
अहिले पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले केही असन्तुष्टि व्यक्त गरिरहनुभएको छ। असन्तुष्टिकैबीच महाधिवेशनमा जाने तयारी भएको छ। उहाँहरुका असन्तुष्टिबारे अहिले छलफल नै गर्न नचाहनुको कारण के हो?
होइन, समयक्रममा ती सम्बोधन हुँदै गइरहेका पनि छन्। जस्तो कि, उहाँहरुको मुख्य जोड चाहिँ केही राजनीतिक प्रश्नहरुमा छ। ती विषय विधान महाधिवेशनले नै टुंगो लगाइसकेपछि थप भनिरहन परेन। खासगरेर १० बुँदे प्रस्तावमा टेकेर हामीले जे निर्णयहरु गरेका छौं, जसलाई हामीले अन्तर पार्टी निर्देशनमार्फत जारी गरेका छौं, त्यसको कार्यान्वयनसँग जोडिएको विषय छ। कार्यान्वयन अधिकाशं ठाउँमा भयो। प्रदेश १, २, बागमती, लुम्बिनी, गण्डकी र कर्णालीमा कार्यान्वयन पनि भयो। तर, सुदूरपश्चिमका केही ठाउँमा त्यो कार्यान्वयनमा केही समस्या देखापर्यो। त्यसको कार्यान्वयन जस्ताको तस्तै होस भन्ने उहाँहरुको भनाई छ।
यसमा दुईवटा कुरा छन्। हामीले त्यसको रचनात्मक र सिर्जनात्मक कार्यान्वयनको कुरा गरेका छौं। किनभने २०७५ जेठ २ को अवस्था भनेको आज भन्दा चार वर्ष अघिको कुरा हो। यो बीचमा पार्टीको संरचनामा, नेताहरुको मनोविज्ञान र कमिटीको बनोटमा केही न केही त परिवर्तन आएको छ नि। त्यसो भएको हुनाले जो साथीहरु हिजो त्यो जिम्मेवारीमा हुनुहुन्थ्यो र आज पनि पार्टीको एकताको पक्षमा उभिएर काम गर्न चाहनुहुन्छ, उहाँहरुलाई उही जिम्मेवारी मुलतः दिने भन्ने कुरा हो। त्यसमा ठूलो समस्या छैन।
हिजो पदाधिकारी भएका कमरेडहरु पदाधिकारीमा हुनुहुन्छ। दोस्रो, यसबीचमा पार्टी एकीकरणको माध्यमबाट नेकपा माओवादी केन्द्रका कतिपय कमरेडहरु एमालेमा हुनुहुन्छ। उहाँहरुलाई केही कार्यविभाजनको जिम्मेवारी दिइएको छ। त्यो जिम्मेवारी तत्काल हेरफेर नगरौं भन्ने अध्यक्ष र पार्टीको आग्रह हो। किनभने त्यहाँ पनि मनोविज्ञान छ। हामीले जेठ २ को मनोविज्ञानको कुरा गरिरहँदा सिंगो पार्टी छोडेर, एउटा धार छोडेर त्यसबापत त उहाँहरुले धेरै कुरा गुमाउनुभएको छ नि। मन्त्री पद गएको छ, सांसद पद गएको छ, प्रदेश सभाको पद गएको छ। ती सबै जान्दाजान्दै पनि एकीकरणको पक्षमा उभिनुभएका साथीहरुको जिम्मेवारी अहिले चाहिँ हेरफेर गर्ने कुराले सकारात्मक सन्देश जाँदैन।
अर्को कुरा, पदीय जिम्मेवारी र कार्यविभाजनलाई फरक गरेर हेरौं। कार्यविभाजनमा त कैयौं कुराहरु फेरबदल भइरहेका हुन्छन्। यो कुरामा उहाँहरुको कुरा जस्ताको तस्तै गरौं भन्ने हो। त्यसमा पार्टीले आग्रह गरेको कुरा के हो भने तीनवटा मनोविज्ञानलाई लिएर पार्टीलाई बलियो बनाऔं। एउटा– सुरुदेखि नै संस्थापन (मूल नेतृत्वसँग जोडिएको एउटा) पंक्ति, दोस्रो– एकीकरणबाट आएको पूर्वमाओवादी केन्द्रका साथीहरुको एउटा मनोविज्ञानसहितको पंक्ति, तेस्रो– १० बुँदेपछि पुरानै संरचनामा फर्किएको वा फर्किने प्रक्रियामा रहेको जेठ २ पूर्वको मनोविज्ञान रहेको पंक्ति। यी तीनवटैलाई सँगसँगै लैजाने हो। एउटालाई कमजोर बनाएर पार्टी बलियो बन्दैन। सिंगो देशलाई हाँक्ने पार्टीले हो। त्यसैले हामी भन्दा बाहिरका दायरालाई समेत समेटदै जानु छ भनेपछि यसमा अलिकति रचनात्मक बन्दा, सिर्जनात्मक बन्दा पार्टीलाई फाइदा हुन्छ भने त्यस्तो किन नबन्ने? यसलाई अलिकति यान्त्रिक हिसाबले नै कार्यान्वयन गरौं भन्ने जस्तो बुझाइ उहाँहरुको भएकोले केही कुरामा उहाँहरुका गुनासाहरु छन्। ती बाहिर प्रकट भएका छन्, सम्बोधन पनि हुँदै जान्छन्। अब कति नै बाँकी रहयो र, वडा र पालिकाका अधिवेशनहरु १८ गतेसम्म सबै ठाउँमा सकिन्छन्। त्यसपछि एउटा नेतृत्व आउँछ।
गुटमा लागिसकेपछिको समस्या यही हो कि गुटले मानिसलाई परसम्म देख्न नसक्ने बनाउँछ। विवेकलाई बन्धक राखिदिन्छ। र नेतृत्वले जे भन्छ, आँखा चिम्लेर स्वीकार गर्ने ठाउँमा पुर्याउँछ।
भोलि राष्ट्रिय महाधिवेशनपछि नयाँ कार्यविभाजन हुन्छ, हिजोको त्यो स्थिति पनि सकिन्छ। जिल्लाहरुमा पनि नयाँ अधिवेशन आउला। हामीले के भनेका छौं भने यसबीचमा अलिकति कमिटी ठूलो बनाइएको छ। जेठ २ भन्दा अगाडि रहनुभएका साथीहरुलाई पूर्वजिम्मेवारी दिऊँ। तर, कमिटीमा जोडिएका साथीहरुलाई ‘ल, तपाईहरु आजदेखि रहनुभएन’ भनेर किन भन्ने? त्यसकारण यो कुरामा अलिकति बुझाइमा समस्या हो भन्ने लाग्छ।
केपी शर्मा ओली र माधव नेपालको टकरावले एमाले विभाजन भयो। विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीसँग एकता वा सहकार्य हुने सम्भावना कत्तिको देख्नुहुन्छ?
पहिलो कुरा त अहिले माधव नेपालको बर्हिगमनलाई दुईजना नेताको व्यक्तिगत टकरावको रुपमा बुझ्नु हुँदैन। यो त्योभन्दा धेरै फराकिलो छ। यसको गहिराइमा गएर हेर्नुभयो भने नेकपा एमालेको नेतृत्वमा मुलुकमा जुन स्थिरताको प्रक्रिया सुरु भएको थियो, राष्ट्रको स्वाभिमान माथि उठ्दै राष्ट्रले आफ्ना हरेक मुद्दाहरुको फैसला आफै गर्ने कामको जुन सुरुवात हुँदै थियो, आर्थिक विकास र सम्बृद्धिको नयाँ कोर्स सुरु हुँदै थियो। यी कुरालाई मन नपराउने विभिन्न पक्ष समाजमा छन् नै। यो कोर्सलाई उल्ट्याउने स्वरुप बनेको हो। यसमा प्रश्न केपी ओली र एमालेको मात्रै होइन। क्रमशः यसका बाइप्रडक्टहरु देखिने छन्। यो चाहिँ मुलुकले केही वर्षयता हासिल गरेको धारलाई उल्टाउने प्रयत्न हो। यसलाई बृहत फ्रेममा हेर्नु भयो भने बुझ्न सकिन्छ। त्यसकारण व्यक्ति–व्यक्तिबीचको अन्तरविरोध थियो भन्ने ढंगले बुझ्न मिल्दैन।
अब माधव नेपालसँगै जानु भएका तलका साथीहरुप्रति हाम्रो कुनै आग्रह छैन। टीमसँग जोडिएर जानुभयो, गुटमा लागिसकेपछिको समस्या यही हो कि गुटले मानिसलाई परसम्म देख्न नसक्ने बनाउँछ। विवेकलाई बन्धक राखिदिन्छ। र नेतृत्वले जे भन्छ, आँखा चिम्लेर स्वीकार गर्ने ठाउँमा पुर्याउँछ। छँदाखाँदाको एमालेको सरकार गिराएर कांग्रेसको सरकार बनाउने र त्यसलाई अग्रगमन भन्ने ठाउँमा उहाँहरु हुनुहुन्छ भने त्यहाँ कुन हदसम्म विवेकलाई बाँधेर राखिएको रहेछ भन्ने सजिलै बुझ्न सकिने विषय हो। तिनै साथीहरु कांग्रेससँग प्रतिस्पर्धा गरेर, लडेर आएको साथीहरु हो। लोकतान्त्रिक प्रतिस्पर्धामा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमाले नै हो। हाम्रो मुल प्रतिस्पर्धी कांग्रेस हो। उसको नेतृत्वमा सरकार बन्नुलाई अग्रगमन, आफ्नो नेतृत्वको सरकारलाई प्रतिगमन देख्ने? यो ढंगको दृष्टिविहीन अवस्थामा उहाँह देखिनुभो।
फेरि पनि तलका कार्यकर्ताहरुप्रति कुनै किसिमको गुनासो छैन। उहाँहरु लाग्नुभएको छ, फर्किन चाहने सबैलाई स्वागत छ। तर, माधव नेपाल फर्किने कुरा मैले साह्रै गाह्रो देख्छु। उहाँ फर्कंदा हाम्रो पंक्तिले स्वीकार्ने कुरा पनि म गाह्रो देख्छु। किनभने उहाँले असाध्यै ठूलो घात गर्नुभो। हामीले इतिहासमा केशरजङ्ग रायमाझीलाई कम्युनिष्ट आन्दोलनको गद्दारको रुपमा चित्रित गर्छाैं। हो, उनले गद्दारी गरे। २०१७ सालमा राजा महेन्द्रले तानाशाही ल्याउँदा त्यसविरुद्द प्रतिरोध संगठित गर्नुपर्ने, पार्टीको महासचिव रहेको मानिसले राजाको कदमलाई प्रगतिशिल भन्ने ठाउँसम्म पुगे। त्यो उनको आन्दोलनप्रतिको विश्वासघात थियो। तर, एउटा फरक के छ भने रायमाझी त्यतिबेला निर्णायक ठाउँमा थिएनन्। उनले चाहेर २०१७ साल आएको होइन।
अरु विभिन्न शक्तिहरुलाई हातमा लिएर २०१७ साल आयो। उनी दिग्भ्रमित भए, त्रसित भए, अब राजासँग लडेर पार लाग्दैन भनेपछि उनले आत्मसमर्पण गरे। तर, माधव नेपाल त निणार्यक ठाउँमा हुनुहुन्थ्यो। उहाँसहितका २३ जनाले शेरबहादुर देउवालाई भोट नहालेको भए नेपाली कांग्रेसको सरकार त बन्दैन थियो नि। उहाँसहितका २८ जना साथीहरु बैशख २७ गते केपी ओलीले विश्वासको मत लिने दिन अनुपस्थित नभएको भए सरकार ढल्दैन्थ्यो नि। त्यसकारणले यो तहको जुन घात आन्दोलनमा भएको छ, मलाई लाग्दैन कम्युनिष्ट आन्दोलनले उहाँलाई भविष्यमा स्वीकार गर्छ भन्ने कुरा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।