काठमाडौं- साहित्यमा नयाँ प्रयोगका रुपमा लेखिएको उपन्यास ‘दुङाल’लाई अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद गरिनुपर्नेमा जोड दिइएको छ। पुस्तकका विषयमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक प्रा डा रमेश ढुङ्गेलले पुस्तक दुवै भाषामा अनुवाद गरिए यसले उठाएको तिब्बती शरणार्थीको विषयमा विश्वव्यापी चर्चा भएकाले पाठक बढ्ने बताए। शरणार्थी साहित्यका रुपमा लेखिएको पुस्तक ‘दुङाल’ले नेपालमा ठूला लामा आएको र ठाउँ-ठाउँमा गुम्बा बनेको विषयलाई पनि उजागर गरेको उनले सुनाए।
तिब्बती संस्कृति र परम्पराको सम्मीश्रणका रुपमा रहेको पुस्तकमा प्रयोग गरिएको ‘भोटिनी’ र ‘नेपाली केटो’ जस्ता शब्दले जीवन्त साहित्यिक कृतिका रुपमा पुस्तकप्रति पाठकको चासो बढ्ने ढुङ्गेलको भनाइ थियो। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले भुटानी शरणार्थी आन्दोलनका माध्यमबाट चिनिएको उल्लेख गर्दै तिब्बती शरणार्थी साहित्यका माध्यमले चिनिने वातावरण बनेको बताए।
राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारीले राजनीतिक प्रोपोगाण्डा र यौन साहित्यका पुस्तक बढी बिक्री भएका बेला मान्छेले भोगेका समस्याका बारेमा लेखिएको पुस्तक ‘दुङाल’ पनि धेरै बिक्री हुने पुस्तकको सूचीमा सूचीकृत भएको बताइन्। पत्रकार एवं समीक्षक राजकुमार बानियाँले लेखकले पूर्वस्मृतिका विषय समेटेर मानवीय समस्यालाई उपन्यासमा प्रस्तुत गरेको बताए।
तिब्बती शरणार्थी टासी छिरिङले पुस्तक पढ्दा आफ्नै जीवन कथाजस्तो लागेको अनुभव सुनाए। परिचयपत्रसमेत नपाउँदा बैङ्क खाता खोल्न नपाएका जस्ता विषय साहित्यका माध्यमबाट सार्वजनिक हुँदा आफूहरुको जीवनस्तरमा परिवर्तन आउने आशा गरिएको बताए। उपप्राध्यापक टीएन भट्टले औपन्यासिक रुपमा शरणार्थीका समस्या देखाउन ‘दुङाल’ सफल भएको बताए। पुस्तकका लेखक प्रकाशकुमार श्रेष्ठ ‘माला केशरी’ले तनहुँमा शरणार्थी शिविरको नजिकै जन्मिएर बाल्यकालदेखि देखे, भोगे एवं शरणार्थीले दिएको सूचनाका आधारमा उपन्यास तयार भएको जानकारी दिए।
सामाजिक यथार्थवादी उपन्यास दुङाल २७५ पृष्ठको छ। साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ४८४ रुपैयाँ छ। लेखकका हालसम्म चार वटा कृति प्रकाशित छन्। उनको पहिलो उपन्यास ‘पुरुत्थान’ २०७२ भदौमा प्रकाशित भएको थियो। २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुरुत्थान’ पाठकले मन पराएपछि छ वर्षको बीचमा उनका तीनवटा उपन्यास प्रकाशित भएका हुन्।
लेखकको दोस्रो उपन्यास ‘सुवर्णलता’ हो। ‘सुवर्णलता’ मा आमाबाबुबाट छुटिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्किएका छन्। उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ। तिब्बती भाषाको शब्द ‘दुङाल’को अर्थ दुःख, पीडा भन्ने हुन्छ। शरणार्थी जीवनका दुःख, पीडा उतारिएको उपन्यासको नामाकरण तिब्बती भाषाको शब्दमा गरिएको लेखक केशरीले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।