के मैले
गुलाब, मखमली वा गुराँस जस्तै
फुल्नु पर्ने हो?
म हुनलाई घोटिनु पर्ने हो
तिम्रो सनातन सौन्दर्यशास्त्रको कसीमा?
के तिमीले सुन्यौ?
प्रकाश क्षणभरमै निल्न सक्ने
‘ब्ल्याक होल’को शक्ति
पाखाभरि झाङ्गिएर
अरुलाई मास्न सक्ने
बनमाराको कथा
मरुभूमिमा पनि एक्लै
टुसाउन सक्ने
सिउँडीको गाथा
के तिमीले सुन्यौ?
तिम्रो कथित मानक भत्काउँदै
फैलाएर आफ्ना जरा टाढा-टाढा
अभावमा पनि मुस्कुराउँदै फुल्न सक्ने
सुरक्षार्थ आङ्भरी उमारेर काँडा
तिम्रो नियमविरुद्ध उभिएको
म— सिउँडी।
म त बनिदन सक्छु
साँधमा उभिएर- बार
बगैँचामा उभिएर- श्रृङ्गार
अनि,
सजिलै चिथोर्न सक्ने- हतियार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।