यस वर्षको मदन पुरस्कार ‘लिम्बुवानको एतिहासिक दस्तावेज संग्रह’ले पाएको छ। लामो समयसम्म सरकारी जागिरे रहेका भगिराज इङ्नाम यसका लेखक हुन्। ६५ वर्षीय उनले पञ्चायत विरोधी अभियानदेखि नेपालमा भएका राजनीतिक परिवर्तनलाई नियालेर हेरेका छन्। जागिरबाट अवकाश पाएपछि २०७१ सालबाट पूर्णरुपमा आफ्नो (लिम्बु) समूदायको दस्तावेज संलकन गर्न थालेका उनी पछिल्लो तीन वर्ष त अनुसन्धानका लागि निरन्तर खटिएका थिए। इङ्नामसँग नेपाल लाइभका युवराज भट्टराईले गरेको संक्षिप्त कुराकानीः
यस वर्षको मदन पुरस्कार पाउँदा कस्तो लागिरहेको छ?
अहिले त म एकदमै खुसी छु। यी ऐतिहासिक दस्तावेज राज्यले नै राख्नु पर्ने हो। सरकारले गर्नुपर्ने काम नै मैले गरेको थिएँ। यद्यपि राज्यले पनि मैले गरेको कामको मूल्याङ्कन गरेको छ। यसमा म राज्यलाई पनि धन्यवाद दिन्छु। मदन पुरस्कार जित्दा धेरै खुसी लागेको छ।
मदन पुरस्कार पाएको खबर पाउँदा के गर्दै हुनुहुन्थ्यो?
म घरमै थिएँ त्यो बेला। म तेह्रथुमको लालिगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले एउटा आर्टिकलको लागि तस्वीर मागेकाले उहाँलाई आफ्नो तस्वीर ईमेल गर्न कम्प्युटर अगाडि नातीनातिनालाई ईमेल भन्दै थिए।
उहाँ (मेयर माबोहाङ)ले आर्टिकल लेख्छु तपाईंको फोटो पठाइदिनु भनेर म फोटो खोज्दै थिएँ। त्यत्तिकैमा पत्रकार सचिन राईले फोन गरेर मलाई मदन पुरस्कार पाएको जानकारी दिए। मैले सुरुमा त पत्याइनँ, तर उहाँले विज्ञप्ति नै पठाइदिन्छु भनेपछि मात्रै मैले पत्याएँ।
हजार पृष्ठको किताब छ। यी सबै दस्तावेजहरु कहिलेबाट संकलन गर्नुभयो?
म त जागिरे मान्छे। ०७०/०७१ सालदेखि मैले औपचारिक रुपमा दस्तावेजहरु संकलन गर्न थालेको थिएँ। जागिर छाडेपछि २ वर्ष पूर्ण रुपमा दस्तावेज नै संकलन गरेर हिँडेको थिएँ। मैले धेरै समय यो पुस्तकको लागि खर्च गरेको छु। दस्तावेज संकलन गर्नेदेखि यसलाई लेख्ने, सरक्षित राख्ने क्रममा धेरै दुःख भएको छ।
आफैंले अनुसन्धान गर्नुभयो र त्यसलाई संग्रहित गरेर पुस्तक छाप्नु भयो। मिहेनतको परिणामस्वरुप नै आज मदन पुरस्कार पाउनुभएको छ। अनुसन्धान गर्नेदेखि पुस्तक प्रकाशनसम्मको मिहेनतलाई आज कसरी सम्झिनुहुन्छ?
यो जति नै मैले दुःख गरेँ, दस्तावेजलाई संकलन गर्न जसरी बाइकमा गाउँ गाउँ घुमे, पानीमा भिज्दा थुरथुर कामेर जसरी काम गरेँ, ती सबै दुःखहरुको मूल्याङ्कन भएको छ। मैले कसैको लागि नभएर आफ्नो जातिको दस्तावेज हराउँछ, आफ्नो जातिको इतिहास हराउँछ भनेर दुःख गरेको थिएँ।
आज मेरो काम देखेर जुन सम्मान मलाई मिलेको छ, त्यसले पनि मेरो कामलाई प्रोत्साहन गरेको छ। एकदमै खुसी लागेको छ। पुरस्कारका लागि योग्य ठान्ने सबैलाई यो कुरामा धन्यवाद दिन चाहन्छु।
मैले मदन पुरस्कार आफ्नालाई मात्र दिन्छन्, बाहिरका मान्छेलाई दिँदैनन् भन्ने सुनेको थिए। तर, त्यो पनि गलत रहेछ। यसमा निष्पक्ष रुपमा चाहिँ छनोट भएको रहेछ। साह्रै खुसी छु। खुसीको सीमा छैन।
तीन सय वर्षदेखिको इतिहास, जुन राज्यले गर्नुपर्ने थियो, गरेनन्। दस्तावेज नहराओस्, पछिल्लो पुस्ताले थाहा पाउन् भनेर मैले जुन काम गरे, जुन दस्तावेजीकरण गरे त्यसको कदर भएको छ।
किताब लेख्न कति समय लाग्यो? आफ्नो कामलाई लिएर तपाईं कति सन्तुष्ट हुनुहुन्छ?
हाम्रा चाडपर्व हुन्छन्, हाम्रै समूदायबाट पनि ती कुराको दस्तावेज मलाई दिइएन्। उनीहरुले नदिएको भन्दा पनि ती दस्तावेज हराउँछ भन्ने पिर लागेको छ मलाई। नाम तोक्नु भएन्, तर उनीहरुले नदिएकाले ती दस्तावेज हराउँछन् कि भन्ने गुनासो छ मलाई।
अरु कुरामा म पूर्ण रुपमा सन्तुष्ट छु।
किताब लेख्न लागेको समय भन्ने हो भने ०७१ देखि पूर्ण रुपमा दस्तावेज संकलन गर्न थालेको थिएँ। त्यो भन्दा पहिल्यैबाट काम सुरु गरेँ।
तीन वर्ष यता चाहिँ म पूरै फिल्डमा अनुसन्धानमा थिएँ। आफूलाई टाइप गर्न आउँदैन्। अरुले टाइप गर्दा प्रूफ हेर्नेदेखि अनुसन्धान गर्ने काममा पछिल्लो तीन वर्षदेखि खटेको थिएँ।
लिम्बु जातिका मानिसले आफ्नो पहिचानका लागि गरेको आन्दोलनको पनि राज्यले सम्मान नगरेको विषय बेला–बेला चर्चामा आइरहन्छ। तर, तपाईंले लिम्बुको पहिचानलाई आम नेपालीमाझ ल्याउनुभएको छ। यसप्रति अरु जातिका मान्छेले कसरी मूल्याङ्कन गर्छन् जस्तो लाग्छ तपाईंलाई?
यो कुरा गर्दा हाम्रा जातिका मान्छेहरु रिसाउलान्। राज्यले दमन गर्दा गर्दै पनि हाम्रो आफ्नो इतिहास थियो। हाम्रो इतिहासलाई आज परिवर्तन भएको व्यवस्थामा सम्मान पाइदो रहेछ भन्ने साबित भएको छ।
जातीय कुरा गरिहाल्नु भयो। यो मदन पुरस्कार गठन गर्ने ठूला जातिका मान्छेहरु भए। राज्य पनि उनीहरुकै। अहिले पनि हाम्रो वर्गको इतिहास छैन्।
हिजो उत्कृष्ट ९ मा पर्दा मलाई मदन पुरस्कार पाउँछु भन्ने लागेको थिएन्। तर, जुन अहिले मैले पाएँ, काम गरिसकेपछि राज्यबाट, त्यो समुदायबाट पनि हाम्रो कामको, हाम्रो जातिको इतिहासलाई, हामीलाई सम्मान दिइँदो रहेछ भन्ने प्रमाणित भएको छ। हेपिहाले भन्ने कुरा रहेनछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।