काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलनका लागि वडास्तरमा काम सुरु गरिएको छ।मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाले नदी तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिको विवरण, उद्धार र राहतको व्यवस्थाका लागि गर्नुपर्ने कामका लागि वडा स्तरबाट लगत संकलनको काम थालेका हुन्।
बाढीले पुर्याएको भौतिक तथा अन्य क्षतिको विवरण सुक्ष्म रुपमा अध्ययन गर्नका लागि सम्बन्धित वडाका अध्यक्षहरुको नेतृत्वमा विवरण संकलनको काम थालिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।
‘बाढीको क्षतिका बारेमा मसिनोसँग विवरण संकलन गर्नका लागि सम्बन्धित वडाका अध्यक्षहरूले टिम बनाएर काम गर्नुहुनेछ’ अध्यक्ष शेर्पाले भने, ‘त्यसपछि बाढीले क्षति गरेको वास्तविक विवरण आउँछ।’ त्यसरी संकलन गरिएको विवरणका आधारमा राहत, पुनर्निर्माण वा पुनःस्थापना के गर्ने भन्ने बारे निर्णयमा पुग्न सकिने उनी बताए।
त्यस्तै, मेलम्ची नगरपालिकाले पनि आफ्नो नगर क्षेत्रमा बाढीले पुर्याएको असरबारे सुक्ष्म रुपमा अध्ययन र लगत संकलनको काम थालेको जनाएको छ।मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालका अनुसार बाढीले पुर्याएको क्षतिको सम्पूर्ण विवरण संकलन भइसकेपछि कसरी अघि बढ्ने भन्ने निर्णय गरिने बताए।
‘बाढीले के कति क्षति गरेको छ भनेर वडा स्तरबाटै अध्ययन भएपछि सहज हुन्छ,’ प्रमुख अर्यालले भने, ‘त्यसपछि राहत, पुनःस्थापना वा पुनर्निमाण के गर्ने भन्ने निर्णयमा पुग्न सहज हुन्छ।’
अध्यक्ष शेर्पा र प्रमुख अर्यालले आफूहरुले लगत संकलन गरिसकेपछि छलफल गर्ने र त्यसपछि प्रदेश र संघीय सरकारसँगको समन्वयमा काम अघि बढाइने बताए। अध्यक्ष शेर्पाले मेलम्ची र हेलम्बु गाउँपालिकाबीच बाढीका विषय समन्वय गरेर अघि बढ्ने बताए।
मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुन:स्थापना कोष सञ्चालनमा ल्याएको छ। असार १ गते राति आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीले जनधनको क्षति पुगेको छ।
मेलम्ची नगरपालिकाको मेलम्ची बजारसहितका क्षेत्र र हेलम्बु गाउँपालिकाका धेरै क्षेत्रमा बाढीले नराम्रोसँग प्रभाव पारेको छ। बाढीले पुलहरू बगाएको छ भने भौतिक संरचनाहरुमा समेत क्षति पुर्याएको छ। २० जना मानिस बेपत्ता हुँदा तीन जनाको मृत्यु भएको छ। खेत र बजार बगरमा परिणत भएको छ।
दुवै स्थानीय सरकारले आपसी सम्वन्वय गरेर क्षति भएका सडकदेखि अन्य संरचनाको पुन:निर्माण गर्ने कार्यका लागि अन्तर नगरपालिका सम्वन्वय समेत सुरु भएको मेयर अर्यालले बताए। वडास्तरवाट आउने तथ्याकपछि पुन:निर्माण, पुनर्उत्थान र बस्ती स्थानन्तरणसम्मका कार्यक्रम सञ्चालन गर्ने तयारी दुवै स्थानीय सरकारले गरेका छन्।
मेलम्ची नगरपालिकाको मेलम्ची बजार, हेलम्बु गाउँपालिकाको चनौटे, ग्याल्थुम, तालामाराङ, लगायत अन्य बजारहरुको पुन:निर्माण मात्र नभई बस्ती नै स्थान्तरणसम्म गर्नुपर्ने भएकाले विस्तृत योजना बनाएर काम गरिने उनीहरुले जनाएका छन्। यसरी पुन:निर्माण गर्दा बजेटको समेत कुरा आउने भएकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरि योजना बनाएर काम गरिने उनीहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।