काठमाडौं- नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आए पनि यहाँ भित्रिने रेमिट्यान्स रकम बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म)मा आठ खर्ब नाै अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको वैशाखको तुलनामा १९.२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई छ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो।
गत वैशाखसम्म अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ। पुन: श्रम स्वीकृति लिनेको संख्या पनि ४९ प्रतिशतले घटेको छ। तर पनि रेमिट्यान्स बढिरहेको छ।
चालु खाता घाटा बढ्यो
चालु आर्थिक वर्षको १० महिनामा मुलुकको चालु खाता दुई खर्ब ४७ अर्ब आठ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९६ अर्ब १८ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब ११ करोडले घाटामा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले बढेर १३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले घटेर १४ अर्ब आठ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति सात अर्ब ७५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो।
विदेशी विनियमको सञ्चिति घट्यो
२०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर गत वैशाख मसान्तमा १३ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेकोमा २०७८ वैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई १२ खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।