काठमाडाैं- राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य-सचिव केशवकुमार विष्टले सरकारले विनियोजन गरेको बजेट अपुग रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत् उनले सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई विनियोजन गरेको २ अर्ब ७४ करोड बजेट अपुग रहेको बताएका हुन्।
अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड विनियोजन गरेकाे जानकारी दिएका हुन्।
मन्त्रालयका आगामी आवका लागि बजेटमा केही बढोत्तरी भएको छ। चालु आवमा युवा तथा खेलकुदको बजेट २ खर्ब ३६ करोड छुट्याइएको थियो।
चालु आव र आगामी आवकाे तुलना गर्ने हाे भने मन्त्रालयको बजेट ३८ करोड रुपैयाँ थप भएको छ। नवौं राष्ट्रिय खेलकुद हुने कार्यक्रम रहेकोले पनि बजेटमा केही बढोत्तरी भएको हाे।
‘युवातर्फ १ अर्ब जति होला, त्यो घटाउँदा १ अर्ब ७४ करोड जति खेलकुद मन्त्रालयअन्तर्गत रहला। त्यसमा पनि मन्त्रालय आफैंले तालिम, प्रशिक्षण, गोष्ठि, सेमिनार, कार्यक्रम, भत्ता र भ्रमण शिर्षकमा बजेट राख्नेगर्छ। अब बाँकी रहेको बजेट राष्ट्रिय खेलकुद परिषद्ले आफैं कार्यान्वयन गर्ने हो,’ उनले लेखेका छन्।
यस्तै, बजेटको झन्डै १ अर्ब कर्मचारीको तलब तथा सेवा सुविधामा खर्च हुने उनको भनाइ छ।
‘छुट्टाइएको बजेट कर्मचारीको तलब तथा सेवा सुविधा र भत्तामा खर्च हुन्छ। अब बाँकी ५०/६० करोडले बजेटमा उल्लेख गरिए जस्तो काम गर्न सकिन्छ र ?,’ उनले प्रश्न गरेका छन्।
उनले सरकारले खेलकुदक क्षेत्रलाई गम्भीरतासाथ नलिएको पनि आरोप लगाएका छन्।
‘करोडले बजेटमा उल्लेख गरिए जस्तो काम गर्न सकिने अवस्था छैन। खेलकुद प्रतियोगिता कति हुने? खेलाडी प्रशिक्षण कस्तो गर्ने? खेलकुद विकास र पुर्वाधार निर्माणमा कति लगानी गर्ने? खेलाडी र पुर्व खेलाडीको संरक्षण कसरी गर्ने? खेलकर्मीलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था कसरी गर्ने? नयाँ खेल प्रतिभाहरुको खोजी र क्षमता अभिवृद्धि कसरी गराउने? अन्तर्राष्ट्रिय प्रविधि र अनुसन्धानको प्रयोगमा अभिवृद्धि कसरी गराउने? जस्ता आवश्यकतामा कहिले पनि सरकार गम्भीर भएको देखिदैन,’ उनले लेखेका छन्।
यसपाली चुनाबलाई ख्याल गरेरै भएपनि उल्लेख्य बजेट आउँला र नेतृत्वले ल्याउन पनि सक्ला भन्ने लागेको तर, विगतमा जत्तिको बजेट पनि नआएको उनले बताएका छन्।
‘कार्यान्वयन कति हुन्छ त्यो त भविष्यमा देखिएला। खुशीको कुरा केछ भने बिगतमा शुरुवात गरिएकोलाई निरन्तरता दिने भनिएको छ। नयाँ केही छैन। कमसेकम शुरुवात भएकाले पुर्णता पाइयोस् र निरन्तरता पाइरहोस्,’ उनले लेखेका छन्।
यसपटक पनि भौतिक पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र प्रशिक्षण, गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको छ।
आगामी आवमा झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्ष भित्रै निर्माण सम्पन्न गरी सञ्चालन गरिने अर्थमन्त्री पाैडेलले जानकारी दिए।
यस्तै, आगामी आवमा पोखरा रंगशाला निर्माण कार्य सम्पन्न गरिनेछ। यता, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, मोरङको बैजनाथपुर, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरिएको छ।
यस्तै, धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, विरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडी बढाइनेछ। त्यस्तै हरेक स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिनेछ। सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था गरिएको छ।
आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माण गर्न रकम छुट्टयाइएको छ। खेलकुद विद्यालयको सम्भाव्यताबारे पनि अध्ययन गरिनेछ।
यस्तै, नेपालको अन्तर्राष्ट्रिय सहभागिता बढाउने र सम्भावना बोकेको खेललाई प्रोत्साहन गरिने छ। यता, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।