पोखरा– कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक अपराधीलाई आज जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। मादी गाँउपालिका–३ एक्ले खेतका ३८ वर्षीय मनबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले घरबाटै पक्राउ गरेको जनाएको हो।
शाहीलाई एक स्थानीयको जाहेरीका आधारमा पक्राउ गरिएको प्रदेश ४ का प्रहरी प्रवक्ता विरेन्द्रकुमार बस्यालले जानकारी दिए।
२०५६ साल असोजमा कास्की साविक मिजुरेडाँडा गाविस ८ माझटीमा स्थानीय अमिरबहादुर रानाभाटलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका शाही फरार थिए।
शाही पहिले पुर्पक्षका लागि ३ वर्ष जेल बसेका थिए। २०६० सालमा जिल्ला अदालत कास्कीले उनलाई सफाइ दिएको थियो। तर, पछि उनलाई सर्वोच्च अदालतले १२ वर्ष जेल सजायको फैसला सुनाएको थियो। कास्की जिल्ला अदालतका अनुसार शाहीले अझै ८ वर्ष १ महिना २९ दिन जेल सजाय काट्न बाँकी छ।
शाहीलाई बाँकी जेल सजायका लागि आजै जेलचलान गरिएको बस्यालले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।