राजविराज– नाताले भतिजा पर्ने १८ वर्षीय अजय चौधरीको बैसाख २५ गते हत्या गरी फरार भएका सप्तरीको शम्भुनाथ नगरपालिकामा ७ का ३० वर्षीय आनन्द चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले आनन्दलाई सार्वजनिक गरेको छ। उनले हत्याको जिम्मेवारी लिएका छन्।
गाउँमा भइरहेको वैवाहिक कार्यक्रममा मोटरसाइकल पार्किङ गर्ने विषयमा अजय र आनन्दबीच विवाद भएको थियो। सोही विवादका कारण अजयको हत्या भएको प्रहरीले जनाएको छ। अजयको हत्यालगत्तै आनन्द फरार थिए। उनलाई घटनाको ७२ घन्टाभित्रै सिरहाको लहान बजारवाट पक्राउ गरिएको एसपी मुकेशकुमार सिंहले बताए। काका–भतिजाबीच विवाद भएपछि आवेशमा आएर आनन्दले अजयको टाउकोमा हथौडाले हिर्काएर हत्या गरेको उनको भनाइ छ।
एसपी सिंहका अनुसार मदिरा सेवन गरी वैवाहिक कार्यक्रममा पुगेका आनन्दले अजयसँग विवाद गरेका थिए। परिवारका सदस्यले तत्काल दुवैलाई घर लगे पनि शौचालय जान्छु भन्दै घरबाट निस्केका आनन्दले अजयको घरमै पुगेर हथौडा प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएको छ।
पक्राउ परेका आनन्दलाई जिल्ला अदालत राजविराजबाट म्याद थप गराई कर्तव्य ज्यान मुद्दा अन्तरगत कारबाही सुरु गरिएको सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।