विश्वव्यापी महामारी कोभिड–१९ का कारण सबैभन्दा प्रभावित भएको क्षेत्र हो, पर्यटन। नेपालसँगै संसारभरकै पर्यटन उद्योग पहिलेकै अवस्थामा फर्कन अझैं लामो समय लाग्ने आकलन भइरहँदा थोरै नै सही, आन्तरिक पर्यटनका गतिविधि भने देखापर्न थालेका छन्। घुमघाममा निस्कनेको संख्या बढ्दै छ। सरकारले पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि खुला गर्ने निर्णय गरे पनि विदेशी पर्यटक आउने वातावरण भने अझै बन्न सकेको छैन।
पर्यटन क्षेत्रका जानकार र यो क्षेत्रमा काम गरिरहेका व्यवसायीहरु सरकारले पर्यटक आगमनलाई सहज पार्नेगरी ‘सुरक्षा प्रोटोकल’ जारी नगरेको भनेर असन्तुष्ट छन्। यो अवस्थामा कोभिडपछिको पर्यटन क्षेत्र कसरी अगाडि बढ्ला? पर्यटन क्षेत्रलाई पहिले जस्तै चलायमान पार्न सरकार, राज्यका अरु निकाय र स्वयं व्यवसायीको भूमिका के हुनुपर्ला? नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग नेपाल लाइभका उत्तम काप्रीले गरेको कुराकानीको सारसंक्षेपः
कोभिड-१९ महामारीले थला पारेको पर्यटन क्षेत्र अहिले कस्तो अवस्थामा चलिरहेको छ?
पर्यटन क्षेत्रमा कोभिडको प्रभाव सबभन्दा बढी पर्यो। नेपालमा मात्रै नभएर विश्वकै पर्यटनमा यो प्रभाव रह्यो। अहिले विस्तारै मुभमेन्टहरु बढ्न थालेका छन्। आन्तरिक तथा बाह्य पर्यटनका क्षेत्र पनि विस्तारै खुल्न थालेका छन्।
गत सेप्टेम्बरदेखि पर्यटन क्षेत्रमा विस्तारै गतिविधि सुरु भएका हुन्। यो क्षेत्र विस्तारै चलायमान हुन खोज्दै छ। आन्तरिक हिसाबले त धेरै नै चलायमान भइसकेको छ, तर अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र अझै पनि हामीले सोचेको जस्तो हुन सकेको छैन। त्यसमा विभिन्न कारणहरु छन्।
अन्तर्राष्ट्रिय हिसाबले केही गन्तव्यहरुले साँच्चिकै उदाहरणीय काम गर्न थालेका छन्। हामीले पनि त्यसबाट केही पाठ सिक्न सक्छौं।कोभिडको महामारी सुरु हुनुअघि पर्यटन क्षेत्र एउटा परिवेशमा चलिरहेको थियो। हामीले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेका थियौं। त्यहीअनुसार तयारी हुँदै सुरुआत पनि गरेका थियौं। लगानी भित्रिएको थियो। पर्यटक आगमन पनि बढिरहेको थियो।
हाम्रो वर्षौंदेखिको समस्या पूर्वाधारमा सीमितता थियो। तर, त्यसबेला पूर्वाधारमा पनि अलिकता खुकुलो हुँदै थियो। एकखाले उत्साहका साथ नेपालको पर्यटन अगाडि बढिरहेको थियो। त्यहीबेला मुभमेन्ट नै ठप्प हुनेगरी महामारी आयो। त्यसले दुइवटा पक्षमा ठूलो प्रभाव पार्यो। एउटा, जसले धेरै लगानी गर्नुभयो र व्यवसायमा उत्साहपूर्ण रुपले आइरहनुभएको थियो, उहाँहरुलाई ठूलो असर पारेको छ।
अर्को, यसमा संग्लन श्रमिकहरुको जीविकोपार्जनमा ठूलो समस्या पैदा भएको छ। पर्यटन भनेको एउटा ठूलो ‘सप्लाई च्यानल’बाट चल्ने विषय हो। यस हिसाबले पनि अन्य क्षेत्रमा भन्दा पनि पर्यटनमा ठूलो प्रभाव पर्यो। त्यो प्रभाव अझैं बाँकी छ।
अहिले पनि कोभिड-१९ नियन्त्रण भइसकेको छैन, बजारमा चहलपहल बढे पनि पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्केको छैन। पुरानै अवस्थामा फर्कन कति समय लाग्ला?
हामीले जहिले पनि पर्यटकीय वातावरणलाई हेर्नुपर्छ। त्यसमा पनि अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रलाई हेर्दै हामी यसको तयारीमा कसरी लाग्छौं भन्ने कुरा हुन्छ। आन्तरिक रुपमा त पर्यटन क्षेत्र केही चलायमान हुन थालिसकेको छ। तर, अन्तर्राष्ट्रिय बजारमा भने हामी तयार हुनसकेका छैनौं। केही विषयमा थोरै सुधार गर्ने हो भने छिट्टै लयमा फर्कन पनि सक्छौं। हामीकहाँ सन् २०१९ मै १२ लाखको हाराहारीमा बाह्य पर्यटक आएका थिए।
तयारी अघि बढाएको अवस्थामा अहिले नै त्यसको ५० देखि ६० प्रतिशत हाराहारीमा पर्यटक आउन सक्थे। यही अवस्थामा पनि करिब ४ लाख विदेशी पर्यटक पर्यटक आउन सक्छन् कि भन्ने मेरो अनुमान छ। तर, यी सबै विषय फेरि पनि हाम्रो पर्यटकमैत्री वातावरणमा भर पर्छन्। पर्यटक आगमनमा जोखिमको कुरा पनि रहन्छ।
अहिले कोरोना संक्रमणको दर न्यून भए पनि संक्रमणको डर भने ह्वात्तै घटेको छ। संसारभर नै भ्याक्सिनको उपलब्धता पनि बढेको छ। त्यसले पनि मानिसहरुमा आत्मविश्वास बढाएको छ। गत मंगलबारसम्मको तथ्यांकलाई हेर्ने हो भने २५ करोडले भ्याक्सिन लगाइसकेका छन्। हामीले कम्तीमा भ्याक्सिन लगाइसकेकाहरुलाई नेपाल भ्रमणमा आउने वातावरण बनायौं, अरुलाई पनि आउनलाई सहज अवस्था निर्माण गर्यौं भने पर्यटन क्षेत्र छिटै चलायमान हुन्छ।
संसारभर नै सर्वे हुँदा एउटा रोचक तथ्य के आएको छ भने पर्यटकहरु घुम्ने इच्छा नभएर होइन, बरु घुम्नलाई सहज र विश्वासिलो वातावरण नभएर मुभमेन्ट नगरेका हुन्। हामीले घुम्ने वातावरण सहज बनाउने हो भने केही न केही पर्यटक आगमन बढ्छ। पर्यटक आगमन बढेपछि लयमा फर्कन धेरै समय नलाग्न पनि सक्छ।
पर्यटन क्षेत्रलाई पूरानै अवस्थामा फर्काउन सरकार र पर्यटन व्यवसायीले खेल्नुपर्ने भूमिका के हो?
सबभन्दा पहिले त गन्तव्यभित्रको तयारीमा सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्छ। संकट पार लगाउने एउटा महत्वपूर्ण कुरा विभिन्न सरोकारवाला निकायहरुसँग प्रभावकारी समन्वय र स्रोत बजारहरुमा एकदमै प्रभावकारी सञ्चार हुनुपर्छ। यी कुरा भएपछि पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्छ। अहिले यो पाटोमा काम गर्न सकिएको छैन।
पर्यटकका लागि कस्तो प्याकेज कसरी ल्याउने?
पर्यटनमा प्याकेज अति नै महत्वपूर्ण विषय हो। तर, त्यो भन्दा पनि महत्वपूर्ण अहिले नेपाल घुम्नका लागि सुरक्षित र सहज छ भन्ने सन्देश फैलाउन जरुरी छ।
महामारीपछि तीनवटा पक्षले गन्तव्य चयन गर्न सघाउँछन्। एउटा, पर्यटक जाने गन्तव्य केका लागि महत्वपूर्ण हो? अर्को, विभिन्नखाले सुरक्षा प्रोटोकल अपनाउँदा त्यो गन्तव्य महंगो त हुँदैन भन्ने लाग्नसक्छ। तेस्रो कुरा, गन्तव्य कत्तिको सुरक्षित छ भन्ने पनि हुन्छ। यी तीनवटै विषयमा हामीले ध्यान दिनुपर्छ। प्याकेज ल्याउँदा पनि यसमा ध्यान दिनैपर्छ।
अहिले घुम्न चाहने ९० प्रतिशत भन्दा बढी पर्यटकले प्राकृतिक, कम भीडभाड हुने र आइसोलेसनमा हुने गतिविधि भएका गन्तव्य रुचाएको सर्वेक्षणहरुले देखाएका छन्। नेपाल घुम्नलायक गन्तव्यले भरिपूर्ण देश हो। तर, हामीले यस्ता चिज हामीसँग छन् है भनेर स्रोत बजारहरुमा लैजानुपर्छ।
अहिले पर्यटकले कस्तो गन्तव्य खोजिरहेका छन्?
नेचर वेस्ड (प्राकृतिक) गन्तव्य नै हो। त्यो जंगल सफारीमा पनि हुन्छ, ट्रेकिङमा पनि हुुन्छ, पर्वतारोहण र र्याफटिङमा पनि हुन्छ। अर्को, नयाँ–नयाँ समूह बनाएर हिँड्ने चलन अहिले अन्त्यजस्तै भएको छ। अहिले सकेसम्म पारिवारिक र साथीहरुको समूह बनाएर हिँड्न थालिएको छ। त्यस्तै स्पा, योग तथा मेडिटेसन गर्ने प्रोडक्ट पनि प्रमुख रोजाइमा परेका छन्। खानपानमा हाइजेनिक र सफा खाना खोजीको विषय भएको छ। यस्तो सेग्मेन्टमा नेपाल बलियो गन्तव्य हो। तर, यसबारे पर्यटक आउने ठाउँमा जति धेरै प्रचार गर्न सकियो, त्यति नै धेरै पर्यटक नेपाल भित्र्याउन सकिन्छ।
अहिले पर्यटनमा नेपालले बेच्न सक्ने प्रमुख गन्तव्य र प्रोडक्ट के-के हुन सक्छन्?
हामीसँग अथाह गन्तव्य र प्रोडक्टहरु छन् जसलाई विश्वबजारमा बेच्न सक्दा नेपालको पर्यटन क्षेत्रलाई चलायमान पार्न सकिन्छ। यसमा पर्यटकीय सम्पदा, वस्तु तथा सेवा सबै कुरा आउँछन्। क्षेत्रगत रुपमा भन्नुपर्दा सबभन्दा पहिलो प्राकृतिक गन्तव्य र आइसोलेसन गन्तव्य हो। यसमा पर्वताहरोण, साइक्लिङ, जंगल सफारी, ल्यान्डस्केप फोटोग्राफी टुर, योग तथा ध्यान आदी पर्छन्। यी सबै सेग्मेन्ट हाम्रै हुन्। आकर्षण यसबाट पनि बढाउन सकिन्छ।
अघिल्लो वर्ष नेपाल भ्रमण वर्षलाई लक्ष्यित गरेर व्यवसायीले गरेको लगानी डुबेको छ। उनीहरु कहिले सामान्य अवस्थामा फर्कन सक्छन्?
यो एकदमै महत्वपूर्ण विषय हो। निजी क्षेत्र निकै ठूलो पिरमर्कामा छ। एउटा, अपेक्षा गरेअनुसार पर्यटक नआउँदा व्यवसायी मर्कामा छन्। अर्को, गरेको ठूलो लगानी पनि जोखिममा छ। अर्कोतिर श्रमिकलाई जोगाइराख्ने चुनौती पनि छ। पर्यटन क्षेत्रका श्रमिक लामो समयको अनुभवबाट तयार भएका हुन्छन्। यो गुणस्तरीय सेवा दिनुपर्ने क्षेत्र भएकाले भोलिका दिनमा उनीहरु अर्को क्षेत्रमा माइग्रेट भए, पर्यटन क्षेत्र चाँडै रिकभर हुने भयो भने श्रमिक कहाँबाट आपूर्ति गर्ने चिन्ता व्यवसायीमा छ।
अब व्यवसायीहरुले ऋण लिएर गरेको लगानीलाई यसका लागि राज्यका तर्फबाट वा अन्य निकायबाट कसरी सम्बोधन गर्ने भनेर सोच्नुपर्छ। अहिले भएको स्रोत पनि परिचालन हुन सकेको छैन। जस्तो कि, नेपाल राष्ट्र बैंकले नै ५० अर्बको एउटा कोष खडा गरेको थियो। विभिन्न मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायहरुमा पनि पर्यटन पुनर्उत्थानका लागि भनेर कोष खडा गरिएको छ। हामीले प्रदेश सरकारका पर्यटन मन्त्रालयमा पनि राम्रै बजेट देखेका छौं। तर, त्यो बजेट जोखिमका क्षेत्र पहिचान गरेर त्यो जोखिम कम गर्न प्रभावकारी रुपमा परिचालन भएको देखिँदैन। त्यसो हुनसक्दा व्यवसायी तथा श्रमिकसँगै सम्रग पर्यटन क्षेत्रलाई लाभ मिल्थ्यो।
चालु आर्थिक वर्षको आधा वर्षभन्दा धेरै समय हामीले गुजारिसक्यौं। त्यसकारण पनि जतिसक्दो चाँडो यो क्षेत्रमा सरकार फोकस हुनपर्छ। व्यवसायीहरुले पर्यटक आउने वातावरण बनाइदिन सरकारसँग अपील गरिरहेकै छन्। त्यसो हुँदा व्यवसायीहरुलाई नयाँ अवसर सिर्जना हुन्छ। राज्यका निकायहरुले पनि केही नयाँ प्रोडक्ट र सेवाहरु व्यवसायीले ल्याउँदैछन् भनेर पर्यटक आउने स्रोतबजारमा प्रभावकारी ‘मार्केटिङ’ गरिदिनुपर्छ। जनशक्ति पलायन हुनसक्ने जोखिम रहेकाले त्यसलाई रोक्न विभिन्न तालिमको अवसर पनि सिर्जना गरिदिनुपर्छ।
पर्यटनको सिजन सुरु भएको छ। सुरक्षा प्रोटोकलमा व्यवसायीले विरोध गरिरहेकाले पर्यटन आवागमन सहज बनाउन सरकारले के काम गर्नुपर्ला?
निजी क्षेत्रले गरिरहेका माग जायज छन्, निर्णय गर्ने तहमा बसेकाहरुले यसमा आफ्नो बुझाइ बढाउनुपर्छ। पर्यटन क्षेत्र आफैंमा कम जोखिम भएको क्षेत्र हो। एक त यो एउटा निश्चित करिडोरमा गतिविधि हुने क्षेत्र हो। जस्तो कि, एउटा पर्यटक विदेशबाट आएर विमानस्थलमा अवतरण गरेपछि सुरक्षा प्रोटोकल अनुसार होटलमा जान्छ र होटलबाट सिधै घुम्न निस्कन्छ।
पर्यटन सेवामुलक व्यवसाय भएकाले सेवामा विश्वसनीयता नभई हुँदैन। निजी क्षेत्रले सेवामा विश्वसनीयताका लागि भोलिको दिनलाई समेत हेरेर जोखिम मोलेका हुन्छन्। यसको अर्थ आज कम्प्रमाइज गरेर जे पायो त्यही गरिदिन्छन् जस्तो मलाइ लाग्दैन। यो क्षेत्रप्रतिको अलिकति बुझाइ बढाएर यसमा हामी केही खुकुलो हुनैपर्छ।
खुकुलो हुने भनेको चाहिँ आजको दिनमा व्यवसायीको माग नै क्वारेन्टिन हटाउनु पर्यो भन्ने हो। क्वारेन्टिनको विषयमा सरकारले स्पष्ट रुपमा के हो बताउन सक्नुपर्छ। अर्को, अनअराइभल भिसाको विषय छ। अचम्म मान्नुपर्ने कुरा त हामीले एकातिर पर्यटन गतिविधि खुला गरेका छौं भनेका छौं। पर्यटक आऊन् भन्ने चाहना पनि छ। पर्यटक आइदिए भने राज्यको आम्दानी पनि बढछ। अर्कोतिर निरुत्साहित गर्ने काम भएको छ। पर्यटकलाई जुन देशबाट आउने हो, त्यहीँबाट भिसा लगाएर आऊ भनिएको छ। सबै ठाउँमा हाम्रो दूतावास छैन, बढीमा ३० देशमा मात्रै दूतावास छन्। तर, पर्यटक २०० भन्दा बढी देशबाट आउँछन्। यो निर्णय पनि व्यावहरिक होइन।
अहिले धेरै गन्तव्यले ‘सेफ ट्राभल’ नीति लिएका छन्। हामीले त्यो पनि गरेका छैनौं। यो त सहजै गनुपर्ने हो नि। यस्तो विषयमा छिटो निर्णय गर्नुपर्छ र फ्रन्टलाइनमा बसेर सेवा दिने जनशक्तिलाई अभियानकै रुपमा ठूलो संख्यामा सहभागी हुनेगरी तालिम पनि दिनुपर्छ।
हिमाल आरोहणका लागि पर्यटक आकर्षित गर्न के गर्न सकिन्छ?
हिमाल आरोहण वास्तवमै हाम्रो पहिचान हो। यो बलियो छबि भएको पर्यटकीय प्रोडक्ट पनि हो। अर्को, यो कोभिडको समयमा कम जोखिममा राखिएको क्षेत्र पनि हो। हाम्रा ३ हजार मिटरमाथिका गन्तव्यहरुमा अहिले पनि कोरोना संक्रमण कम देख्छौं। बाहिरका मान्छे आउँदा पनि महिनौं लगाएर गरिने गतिविधि हो, हिमाल आरोहण।
हिमाल आरोहण एकदमै आइसोलेसनमा गरिने गतिविधि पनि हो। यस हिसाबले हिमाल आरोहणबारे हामी उदार हुनैपर्छ। केही समयअघि मात्र पर्यटन विभागका साथीहरुसँग यो विषयमा जानकारी लिँदा हिमाल आरोहणमा एकदमै चासो रहेको पाएँ। यही सिजनमा खुला गरेको अवस्थमा पनि २००–३०० समूह आरोहणमा आउने सम्भावना छ। तर, हामीले समयमै यसबारे निर्णय गर्नुपर्छ। यसले राज्यको आय बढाउन र गन्तव्यको छबि बढाउन प्रभावकारी भूमिका खेल्न सक्छ।
पर्यटन क्षेत्रभित्र पनि कुन क्षेत्र वा कुराले कोभिडपछिको पर्यटनलाई छिट्टो चलायमान बनाउन सक्छन्?
हरेक संकट जस्तै यो संकटले पनि हामीलाई केही पाठ सिकाएको छ। कुन सेग्मेन्ट र कुन स्रोतबजारमा जाने भन्नेबारे हामीमा स्पष्टता हुनुपर्छ। धेरै कम गन्तव्यमध्ये हामी केही पाको गन्तव्य हौं। यति हुँदाहुँदै पनि अहिले एक वर्षभन्दा बढी समय बितिसक्दा कसरी अगाडि बढ्ने भन्ने स्पष्ट रणनीति देखिँदैन। यसबारे एकदमै छिटो निर्णय गर्नुपर्छ। सम्बन्धित निकायहरुलाई मेरो आग्रह छ, हामीले सेग्मेन्टका हिसाबले यतिबेला आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ। किनभने आन्तरिक पर्यटकले सबै वस्तुस्थिति बुझेका हुन्छन्, आँट गरेर घुम्न निस्कन्छन्।
अर्को चाहिँ हाम्रो छिमेकका स्रोतबजारहरु हुन्। खासगरी भारत, बाङ्लादेश लगायतका देशमा हामी बढी फोकस्ड हुनुपर्छ। प्रोटोकलकै हिसाबले हामीले भारतलाई खुला पनि गरेका छौं। यो सन्देश भारतीय शहरहरुमा प्रभावकारी रुपमा फैलाउनु पर्छ। तेस्रो सेग्मेन्ट भनेको संसारभरका पर्यटकले बढी चासो राख्ने नेपालका सप्पदाहरु हिमाल, पर्वतारोहण, चरा हेर्न आउनेहरु, वन्यजन्तु अवलोकन तथा जंगल सफारीमा आउनेहरु र आइसोलेसनका गन्तव्यहरुमा आउने पर्यटकहरुलाई लक्षित गरेर सूचना प्रवाह गर्नुपर्छ।
अर्को, धार्मिक पर्यटन पनि हो। यसमा पनि हामी बलियो छौं। विशेषगरी हिन्दू र बौद्धमार्गीहरुमा। यस्तो महामारीपछि मानिसहरुलाई नयाँ जिन्दगीको सुरुआत तथा व्यवसाय सुरु गर्नका लागि सहज हुन सक्छ। यी काम गर्ने हो भने हाम्रो पर्यटन चाँडै लयमा फर्कन सक्छ।
अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्र तंग्रिनुपर्छ, तर विदेशी पर्यटक नआएसम्म त्यो सम्भव छैन। पर्यटकको खर्च बढाउनेगरी कस्ता कार्यक्रम तयार गर्न सकिन्छ?
पर्यटन नेपालको बलियो भविष्य बोकेको क्षेत्र हो। २०२० देखि २०३० को दशक पर्यटन क्षेत्रबाटै नेपालको सामाजिक तथा आर्थिक अवस्था उकास्न डोमिनेट गर्ने एउटा महत्वपूर्ण क्षेत्र हुन्छ जस्तो लाग्छ। तर, पर्यटनलाई बुझ्ने र हेर्ने सोच अझै पनि साघुँरो छ। यसलाई हामी जति खुकुलो बनाउन सक्छौं, त्यति छिटै देशलाई समृद्ध बनाउन सकिन्छ।
हाम्रो आवश्यकता अहिले मास पर्यटन हो कि गुणस्तरीय पर्यटन?
यो विषय लामो समयदेखि बहसमा आएको छ। तर, यो पर्यटकीय गन्तव्यभित्रको तयारीमा भर पर्छ। कि त पर्यटनमा शतप्रतिशत नै राज्यको नियन्त्रण भएको गन्तव्य हुनपर्छ। त्यस्तो अवस्थामा गुणस्तरीय पर्यटनको विषय बढी सम्भव हुन सक्छ। कि त केही व्यवसायीहरुको पूर्ण कन्ट्रोल छ भने गुणस्तरीय पर्यटनको विषय अगाडि आउँछ।
तर, हामीकहाँ मिक्स्ड छ। केही गन्तव्यहरु मंहगा र गुणस्तरीय छन्, केही सस्ता गन्तव्य पनि छन्। अहिले हामीले यो विवादलाई भन्दा पनि गन्तव्यभित्रको तयारीलाई बढी फोकस गरेर काम गर्नुपर्छ।
बाह्य पर्यटक आएका छैनन्, पर्यटन क्षेत्र चलायमान बनेको आन्तरिक पर्यटकबाटै हो। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अहिले गर्नुपर्ने के हो?
आन्तरिक पर्यटन प्रवर्द्धन गरेर, आन्तरिक पर्यटकको संख्या बढाएर नै यो क्षेत्रलाई बचाइराख्नुपर्ने अवस्था छ। यसका लागि सबभन्दा पहिले आन्तरिक तथा बाह्य दुवै क्षेत्रलाई लक्षित गरेर काम गर्नुपर्छ, जसबाट हामी छिटो रिकभर हुन सक्छौं।
अब अभियानकै रुपमा आन्तरिक पर्यटन प्रबर्द्धन कार्यक्रम अगाडि बढाउनुपर्छ। अहिले नै ढिलो भइसकेको छ। यसका लागि २०७८ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरेर अगाडि बढनुपर्छ। पर्यटनका ‘प्लेयर’हरुलाई केही सहुलियत दिनुपर्छ। घुम्न जानेलाई पनि सहुलियतका कार्यक्रमहरु ल्याउनुपर्छ। कर्मचारीलाई भ्रमण विदा दिने विषय पनि छ। यसका लागि अनुगमनलाई पनि बलियो बनाउनु पर्छ।
अर्को महत्वपूर्ण कुरा, अझै पनि कतिपय ठाउँमा आन्तरिक पर्यटकलाई पर्यटक नै नमान्ने अवस्था छ। खर्चकै कुरा गर्ने हो भने आन्तरिक पर्यटकले बढी खर्च गर्न थालिसकेका छन्। यो बुझाई हटाउन पनि पहल गर्नुपर्छ।
आन्तरिक पर्यटकमा पनि खानपिनमा बढी खर्च गर्ने तर, गतिविधिमा कम खर्च गर्ने प्रचलन छ। जस्तो कि, साइक्लिङ, र्याफिटिङ तथा पाराग्लाइडिङमा जानेहरुको संख्या कम छ। यस्ता गतिविधिमा बढी भन्दा बढी सहभागी हुन प्रोत्साहन गर्नुपर्छ। त्यसो गर्न सकेको अवस्थामा पनि आन्तरिक पर्यटनले अहिलेको संकटपछिको समयलाई टिकाइराख्न सहज हुन्छ।
श्रमिक धेरै बेरोजगार छन्। उनीहरूलाई रोजगारीमै फर्काउन के गर्न सकिन्छ?
वास्तवमा जीविकोपार्जनका लागि समस्या भोगिरहनुभएका श्रमिकहरु धैर हुनुहुन्छ। उहाँहरु एक वर्षभन्दा लामो समयदेखि निकै ठूलो पीडामा भएको हामी देख्छौं। अब सबभन्दा धेरै पीडामा परेकाको यकिन गरेर, विभिन्न सेक्टरबाट राहतका लागि भनेर छुट्याइएको बजेटलाई एक ठाउँ ल्याएर केही न केही राहत दिन सकेको अवस्थामा त्यसले ठूलो काम गर्छ।
भोलि पर्यटनको ट्रेन्ड कस्तो हुन्छ र हामी त्यसका लागि कसरी तयार हुनपर्छ भने विषय ठूलो हुन्छ। उनीहरुलाई जोगाउन तालीम तथा सिप विकासमा सहयोग गर्नुपर्छ। त्यो भनेको हामी भोलिका लागि आजै तयार हुनु पनि हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।