काठमाडौं– भारतीय टेलिभिजन आउने कार्यक्रम ‘कौन बनेगा करोडपती’को नाममा ठगी गर्ने ५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरी मुख्य नाइकेसम्म पुगेको हो।
पक्राउ पर्नेमा रविन खत्री, सञ्जय लामा, सञ्जिव लामा, नितिस कुमार र बेलाल अहमद छन्।
पक्राउ परेकामध्ये कुमार र अहमद भारतीय नागरिक हुन्।
उनीहरुले २५ लाखको चिठ्ठा परेको र त्यसको कर बापतको रकम पहिले नै पठाउनुपर्ने भन्दै पैसा लिएर ठगी गरेका हुन्।
डिएसपी अनुपम श्रेष्ठका अनुसार उनीहरुले इमो, भाइबर, म्यासेन्जर लगायत माध्यमबाट चिठ्ठा परेको भन्दै प्रलोभनमा पारेर कर बापतको पैसा मागी ठगी गरेका थिए। खत्रीलाई सुरुमा प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि थप अनुसन्धान गर्ने क्रममा मुख्य अभियुक्तहरु पक्राउ गर्न प्रहरी सफल भएको हो।
आफूहरुको पहिचान लुकाउन मनी ट्रान्सफरमार्फत उनीहरुले पैसा लिने गरेका थिए। पैसा लिएपछि फरार हुने गरेको पीडितले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।