हिजोआज मलाई मलाई एकदमै डर लाग्छ। त्यो डर किन लाग्छ, के कुराले डर लाग्छ, त्यो न म कोहीसँग साट्न सक्छु न कसैलाई खुलेर भन्न सक्छु। कहिलेकाहीँ त लाग्छ म किन यसरी डराइरहेको छु? न मैले कुनै ठूलै गल्ती पो गरेको छु कि? म विगतमा फर्केर सम्झन खोज्छु। तर, यो मानसपटलमा कहीँ कतै कुनै गल्ती नभेट्दा मलाई झन् बढी डर लाग्छ।
जब स्मृतिका पानाहरूमा कहीँ कतै कुनै गल्तीका गुञ्जायस भेटिँदैनन् त्यो बेला मेरो डर अझै बढेर जान्छ। सोच्छु, के म आफूले आफैंलाई चिन्न नसकेर डराएको त हैन? म आफूले आफैलाई चिन्ने धेरै प्रयास गर्छु, धेरै सोचविचार पनि गर्छु र आफूले गरिरहेका कामलाई नियाल्ने प्रयास पनि गर्छु। अनि यसो सोच्छु– सबै कुरा ठिकठाक नै त छ। राम्रैसँग जीवन चलिरहेकै छ। फेरि यस्तो विचार मनमा आउँदा अझै डर बढेर जान्छ। म आफू जीवन जिउनका लागि चाहिने सबै कुरामा परिपूर्ण छु जस्तो लाग्छ। त्यही पनि मलाई मात्र किन यसरी डर लाग्छ? के म मा कायरता भरिएको छ? सबै कुरामा पूर्ण छु भन्ने मेरो बुझाई नै गलत हो कि, जसले मलाई यस्तो विधि डर लाग्छ?
के अरु मानिस सोच्दैनन् म मात्र सोच्छु, त्यसैले मलाई मात्र डर लाग्छ? मलाई डर के को लाग्छ किन लाग्छ म त्यो कुरा सोच्नमै धेरै समय बिताउँछु किन? कहिलेकाहीँ त सोच्छु, यस्ता डर कति प्रकारका हुन्छन् होला? के सबै डर खान/लाउन नपाएर मात्र आउँछन् या आफ्ना सपना पूरा गर्न नसकेर ? यसो सोच्छु, यी कुरामा पनि त्यति डराउनु पर्ने जस्तो लाग्दैन। थोरै धेरै होला, मलाई यी कुराले पुगेकै छ। त्यसो हुँदा फेरि सोच्छु मलाई डर किन लाग्छ?
यस्तै यस्तै डरैडरको सोंचमा डुबिसकेपछि विस्तारै मलाई लाग्छ म डराउने अरु धेरै कुरा छन्। मलाई मेरो बारेमा हैन मेरा सन्ततिका कारणले डर लाग्छ। वर्ष दिनदेखि कोरोनाको कहरले स्कुलको अनुहार नदेखेका विद्यार्थी, गुजाराका लागि विदेशिएका युवा, खाना नपाएर भोकभोकै परेका जनताको अवस्थाले डर लाग्छ। कुबाटो र कुसंस्कारमा हुर्किएको युवा पुस्ता, पार्टीको झण्डालाई सर्वोपरि ठान्ने वर्ग, कोरोनाको प्रवाह नगरी पार्टीको झण्डा बोकी सडकमा उत्रेको त्यो भीड, फरक विचारलाई सम्मान गर्न नसक्ने जमात, सहीलाई सही र गलतलाई गलत देख्न नसक्ने हामी वरिपरिको जमात देखेर पनि मलाई डर लाग्छ। अनि गलत सूचना प्रवाह गर्ने सञ्चारकर्मी, वर्षौंवर्षदेखि निमुखामाथि भइरहेको दमन, अनेकौं स्वरुपका छुवाछुत, यो वा त्यो नाममा हुने आन्दोलनको मारमा परेका जनता, सानो चोटमा पनि उपचार नपाएर मृत्युवरण गरेका, एकमुठी अन्नको लागि लामो लाइनमा उभिएका निरीह चेहरा मेरो डर बढाउने अरु कारण रहेछन्।
सोझा जनतालाई सडकमा उत्रन प्रेरित गरिरहने नेताहरूको हाँसोसँगै ठोक्किएको महंगो रक्सीको गिलासको आवाजले पो मलाई डर लाग्दो रहेछ।
त्यस्तै, स्वतन्त्र रूपमा अभिव्यक्ति दिने मानिस नदेख्दा, सपनामा आएर झस्काउने शहीदहरूको अबोध चित्कार, उखु बारी र धान खेतमा मारिएका ती अबोध बालिकाहरूको रोदनले मेरो डर अझैं बढाइदिन्छ। अनि केन्द्रमा बसेर आफूलाई राजा, रजौटा, ठूलाबडा, नागरिककर्मी, अधिकारकर्मी, व्यापारी, शिक्षित भनाउनेहरु, हाकिमहरू, बिचौलिया, आफूले आफूलाई महान स्वतन्त्रतावादी ठान्ने चाकडीवाजहरू र सधैं आफ्नो स्वार्थको लागि सोझा जनतालाई सडकमा उत्रन प्रेरित गरिरहने नेताहरूको हाँसोसँगै ठोक्किएको महंगो रक्सीको गिलासको आवाजले पो मलाई डर लाग्दो रहेछ।
के यस्तो डर मलाई मात्र हो कि अरुलाई पनि लाग्छ? मलाई यी कुराले डर लाग्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। यी कुरा पनि डर हुन् र भविष्यमा यी कुराले ठूलो असर गर्छन् भन्ने कुरामा सहमत हुने, थोरै पनि यस्तो मान्न तयार हुने जमात नै भेटिएनन्। त्यसो भए के मेरो डर जायज छैन? के माथिका कुराले डराउनु जरुरी छैन? के मेरो सोंच नै जायज छैन? मलाई यो सोच्दा अझै बढी डर लागेर आउँछ। के साँच्चै माथिका मेरा डरहरूको भविष्यसँग कुनै सम्बन्ध छैन? या यी कुराले हाम्रो समाज अनि भावी पुस्तालाई केही असर गर्दैनन्?
दशकौंदेखिको परिवर्तनको आन्दोलन र पाएका उपलब्धिहरूको दुरुपयोग गर्दै जनतालाई सधैं भेडा सोच्ने नेताहरू र भेडा बन्ने जनताको सोंचदेखि डराउनु के जायज होइन र? फेरि पनि परिवर्तनको लागि आन्दोलन गर्न तयार रहनुस् भनेर सडकमा उत्रन बाध्य बनाउने, संविधानको घाँटी रेटेर बजाइने बेमौसमी बाजामा नाच्न तयार रहनुपर्ने कुराले तपाईंहरूलाई पनि भित्र भित्र पक्कै डर लाग्दो हो। हो, यस्ता कुरामा डर लाग्नु पनि पर्दछ। के यो मेरो डर हटाउने कुनै उपाय छैन? पक्कै छ, मेरा यी डरलाई एकछिन सापटी लिएर भविष्यको बारेमा सोच्नुस् र एकछिन डराउनुस्। आजैदेखि सहीलाई सही र गलतलाई गलत भन्ने प्रण गर्नुहोस्। यति गरेपछि भोलिदेखि न म डराउनुपर्नेछ न तपाईं।
@Rhishendra
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।