हामी रहरले नभई बाध्यताले काठमाडौं आएका हौँ। एक वर्षअघि भएको सहमति पटकपटक सम्झाउँदा पनि सरकारले बेवास्ता गर्ने र चिनी मिल संचालकहरू भागेर हिड्ने भएपछि सरकारलाई दबाब दिएर आफूहरूको बक्यौता लिनका लागि हामी काठमाडौँ आएका छौँ।
यसअघि पनि हामीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर हामीले स्मरणपत्र बुझाएका थियौँ। छठसम्म पैसा दिन हामीले भनेका थियौँ। तराईको महत्वपूर्ण चाड छठ भएकाले यसमा पैसा मगाउन हामीले उद्योगीलाई र उद्योगमन्त्रीलाई भनेका थियौँ। उद्योगमन्त्रीले पनि दिलाउने वाचा गर्नु भएको थियो। तर पाएनौँ।
त्यसपछि पनि किसानहरूको बक्यौता चुक्ता गर्न हामीले १५ दिन समय दिएका थियौँ। अनि पैसा नआएपछि हामी बाध्य भएर काठमाडौँ आएका छौँ। पत्रचार गरेर र उद्योगीलाई उपस्थित गराउँछौँ भनेर सरकारका मानिसहरु भन्नुहुन्छ। उद्योगी र सरकारबीचमा के कुराकानी हुन्छ हामीलाई थाहा र जानकारी हुँदैन। मन्त्रालयवाट हामीले जे खबर पाउँछौँ हामीले त्यही मात्र खबर पाउँछौँ।
सरकारले उद्योगीहरुसँग हामीलाई बसाएर किन मिटिङ गर्दैन? हामीसँग पुस १८ गते भएको पाँच बुँदे कपाली तमसुक गरेकाले सरकार दोषी हो। सरकारको निरीहताका कारण किसानहरु आफ्नो उत्पादनको मूल्य पाउनबाट बञ्चित छन्। उद्योगी र सरकारको मिलमतोका कारण हामीले पैसा पाएनौँ।
झन्डै दुई तिहाइ शक्तिसहितको बहुमतको सरकार छ। सरकार सक्षम छ। त्यसमाथि पनि कम्युनिस्ट नेतृत्वको सरकारका छ। त्यसैले किसानको माग उनीहरुले नसुन्न कसरी मिल्छ? किसान र मजदुरको पार्टी भएकाले सन्देश गलत जाने भएकाले समयमै पैसा दिन सरकारसँग आग्रह छ। यसपाली हामी पैसा लिएर जाने हो। यदि सरकारले पैसा दिलाउन सक्दैन भने हामी यहीँ बस्छौँ।
हामी शान्तिपूर्ण आन्दोलन गर्न आएका छौँ। सरकारलाई हाम्रो प्रश्न छ- तपाईंहरुले किन झुटो किन बोल्नुभयो? वाचा किन गर्नु भयो? पैसा दिलाउन किन सक्नुभएन? सामर्थ्य थिएन भने किन वाचा गर्नुभयो?
यदि तपाई (सरकार)हरू यति कमजोर हो भने किन सरकार बनेर हामीसँग वार्ता गर्नु भयो? हामी सडकमा बसेका थियौँ? सरकारले नसुने पनि नागरिक समाज र सञ्चार माध्यमसँग अनुनयविनय गरेका थियौँ। राजधानीबासीलाई पीडा सुनाएका थियौँ। राजधानीबासीले हामीलाई ठूलो साथ र सहयोग दिएका थिए।
सार्वजनिक सञ्चार माध्यमले हामीलाई हौसला र लड्न साथ दिए। तर सरकार यति झुटो बनेर किन आउनुभयो? किसानलाई निरीह, दुखी र असंगठित सम्झने सरकारको सोच छ भने त्याग्दिनुपर्छ। किसानका छोराछोरी यहीँ छन्। किसान समृद्ध भएन भने देश समृद्ध हुँदैन। समृद्ध नेपालको कुरा गर्नेहरुले किसानलाई मारेर हेरिबस्न सक्दैन मिल्दा पनि मिल्दैन।
मधेशमा उखु नगदे बाली हो। उखुको पैसाले धेरैको जीविका चलाउनुपर्छ। धेरै कुरा यही उखुको पैसामा निर्भर रहेको छ। हाम्रा सन्ततिको पढाइलेखाइ, परिवारको दबाइ र दैनिकी धान्ने रकम यसैमा निर्भर छ।
उखुको भुक्तानी नपाएकै कारण किसानका छोराछोरीहरु विद्यालयबाट बञ्चित भएका छन्। पढाइ छोड्न बाध्य छन्। विद्यालय फी र ट्युसन फी नदिने हो भने विद्यालयले पढाउँदैन। अहिले यही कारण हाम्रो छोराछोरी पढाइबाट वञ्चित भइसकेका छन्।
दैनिक खाद्यान्य उधारो खाइरहेका किसानले पसलमा बाँकी तिर्न सकेका छैनन्। गाउँघरमा उधारो नै चल्ने भएकाले अहिलेसम्म किसान बाँचिरहेका छन्। पसलेहरु पनि आशमा बसेका छन्। उनीहरु दैनिक रूपमा घरमा आएर पैसा माग्न थालेका छन्। सरकारले आजभोलि नै पैसा दियोस्। हामी यो पैसा लिएर मात्र जान्छौँ। नत्र यही धर्नामा बस्छौँ।
(मिश्र उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।