काठमाडौं-विश्वका विभिन्न २० मुलुकमा कोरोना संक्रमणबाट निधन हुने नेपालीको संख्या ३ सय १ पुगेको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ नेपालीको विदेशमा निधन भएको हो। यो साता जर्मनीमा १ र भारतमा १ नेपालीको मृत्यु भएको हो। जर्मनीमा काेराेना संक्रमित नेपालीको निधन भएको यो पहिलो घटना हो ।
समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ। शनिबार साँझसम्म ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१ प्रतिशत हो।
डा. सापकोटाले कोरोना भाइरसविरुद्धको खोप अब छिट्टै प्रयोगमा आउने संकेत देखा परेको भन्दै खुसी व्यक्त गरेका छन्। रुसले निर्माण गरेको स्पुतनिक-५ खोपको सामूहिक परीक्षण सुरु भएको र बेलायत र बहराइनले अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेका खोपको प्रयोगका लागि अनुमति दिएसँगै नयाँ आशा पलाएको उनको भनाइ छ।
यद्यपि नेपाली समुदायको ठूलो संख्या रहेको अमेरिका लगायतका मुलुकमा खोप प्रयोगका लागि एफडीएद्वारा अझै मान्यता प्राप्त नभएको र संक्रमण दरसमेत उच्च रहेकोले सावधानी अपनाउनुको विकल्प नरहेको उनले बताए । विश्वका कोरोना प्रभावित प्रत्येक मुलुकमा खोप उपलब्ध हुने आफ्नै समयरेखा तय हुने हुँदा र खोपको पहुँचका लागि अझै केही समय प्रतिक्षा गर्नुपर्ने हुनसक्ने भन्दै डा. सापकोटाले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन्।
खोपको पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, जोखिमयुक्त अवस्थाका मानिस, कमजोर स्वास्थ्य अवस्थाका बिरामी पर्ने भन्दै उनले अन्य सबैले कोरोना लाग्नबाटै बच्ने उपाय अवलम्वन गर्न सकिने बताए। विदेशमा रहेका नेपालीहरु संक्रमणको उच्च जोखिमबाट अझै मुक्त नभएकाले उच्च स्वास्थ्य सावधानी अपनाएर जनजीवन सामान्य बनाउन डा.सापकोटाले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।