एजेन्सी–एक वर्षअघिदेखि विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस चीनको वुहानबाट फैलिएको यसअघि बताइँदै आएको थियो। तर एक नयाँ अनुसन्धानमा यो भाइरसबाट त्यसअघि नै मानिसहरु संक्रमित भएको पाइएको छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का वैज्ञानिकद्वारा गरिएको यो अनुसन्धानको नतिजा क्लिनिकल इन्फेक्सियस डिजिज नामक पत्रिकामा प्रकाशित गरिएको छ।
सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीहरुले निमोनियाको गम्भीर लक्षण भएको र श्वासप्रश्वाससम्बन्धी समस्या भएको रोग देखिएको बताएका थिए। तर महामारी सुरु भएको ११ महिनापछि अनुसन्धानकर्ताहरुले अमेरिकाका ३ राज्यका ३९ मानिसमा कोरोना भाइरसको एण्टीबडी फेला परेको बताएका छन्। उक्त एण्टीबडी चीनमा कोरोना भाइरस फेला पर्नुभन्दा २ साताअघि नै उनीहरुको शरीरमा थियो।
अमेरिकामा १३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२०को बीचमा भएको रक्तदानमा ७ हजार ३ सय ८९ जनाले रगत दिएका थिए। जसमा १ सय ६ जना मानिसको रगतको नमुनामा कोरोना भाइरसको एण्टीबडिज फेला परेको थियो। कुनै पनि मानिसको शरीरमा एण्टीबडिज फेला पर्नुको अर्थ हो उक्त व्यक्ति भाइरस संक्रमित हुनु।
क्यालिफोर्निया, ओरेगन र वाशिङटनमा १३ देखि १६ डिसेम्बर बीच लिइएको रगतको नमुनामध्ये ३९ जनामा कोरोना भाइरसको एण्टीबडिज फेला परेको थियो।
अमेरिकामा २०२० को फेब्रुअरीमा कोरोना महामारी सुरु भएको थियो।
अमेरिकामा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्था रेडक्रसका अनुसार रक्तदानमा सहभागीमध्ये ३ प्रतिशत त्यतिखेर विदेश भ्रमणबाट फर्किएका थिए। तीमध्ये ५ प्रतिशत एशियाली देशबाट फर्किएका थिए।
यसअघि भएका अन्य अनुसन्धानमा पनि चीनभन्दा अरु देशमा कोरोना भाइरस फेला परेको बताइएको थियो। गत मेमा फ्रान्सका वैज्ञानिकहरुले २७ डिसेम्बरमै निमोनियाजस्तै लक्षण भएका बिरामीको उपचार गरेको र तिनमा कोरोना संक्रमण भएको बताएका थिए। जुन महिनामा इटलीको मिलान सहरमा ढलको पानीमा पनि कोरोना भाइरस फेला परेको बताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।