काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्। शनिबार दिउँसो ४ बजेतिर शितल निवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीसहित उनी निकट थप नेताहरुसमेत राष्ट्रपतिसँगको भेटका लागि पुगेका थिए। प्रधानमन्त्रीले पछिल्लो पटक देखिएको विवादका विषयमा कुराकानी गरेको स्रोतको दाबी छ।
राष्ट्रपतिले लगातार प्रधानमन्त्री ओलीलगायतका नेकपा नेताहरू भेटेर पार्टीमा हस्तक्षेप बढाएको भन्दै नेकपाकै केही नेताहरूले आलोचना गर्दै आएका छन्। पार्टीमा अप्ठेरो पर्नेबितिकै प्रधानमन्त्री ओली भने राष्ट्रपतिसँग छलफल गर्ने गरेका छन्। यसअघि पनि पार्टीमा विवाद हुँदा प्रचण्ड र ओलीले राष्ट्रपतिलाई साक्षी राखेर सहमति गरेका थिए।
प्रधानमन्त्री ओलीको इच्छाविपरीत शुक्रबार बसेको सचिवालय कमिटीको बैठकपछि अध्यक्षद्वयबीच भएका पत्र आदानप्रदानका शृंखला सार्वजनिक भएका थिए। सचिवालय बैठकमा यसअघि एकै प्रतिवेदन पेस गर्दै आएको भएपनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत छुट्टै प्रतिवेदन पेस गरेका थिए।
पार्टीमा गुटबन्दी गरेको, सरकार संचालनका प्रक्रियामा पार्टीसँग कुनै परामर्श नगरेको, भ्रष्टाचारीलाई संरक्षण गरेकोलगायतका आरोप प्रधानमन्त्री ओलीमाथि लगाउँदै प्रचण्डले १९ पाने राजनीतिक प्रतिवदेन पेस गरेका थिए।
यसअघि पनि गत शुक्रबार प्रचण्डसहित ५ जना सचिवालय सदस्यले तिनै विषयको संकेत गर्दै तत्काल बैठक बोलाउन आग्रह गरेका थिए। त्यसपछि मंगलबार पाँचै जनालाई पत्र लेख्दै ओलीले आफूलाई पार्टी र सरकार संचालनमा सहयोग नगरेको आरोप लगाएका थिए। यसका साथै पार्टीको जिम्मेवारी पूरा नगरी गुटबन्दीमा लागेको समेत उनको आरोप थियो।
शनिबारको बैठकमा नेताहरूलाई तिनै पत्र आदानप्रदान मात्र गरिएको थियो। बैठक मंसिर ३ गते पुनः बस्ने गरी सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।