विदेशतिर लागेको पनि लामो समय बितिसक्यो। सन् २००६ तिर जोसजाँगर लिएर परदेशिएको म अहिलेसम्म विदेशमै श्रम बेचिरहेको छु। सँगै आएका साथीभाइमध्ये आधा जति घरतिर फर्किसक्नु भयो।
विदेशबाट फर्कनु भएका साथीहरु पनि नेपालमा त्यति खुशी भएको बताउनु हुन्न। कहिलेकाँही फोनमा दुखेसो पोख्नु हुन्छ। 'के गर्नु? यहाँ त झन् अवस्था खराब छ, गुझारा चलाउन पनि कठिन छ। बालबच्चाको पढाई, चाडपर्वको खर्च, के भन्नु साथी। त्यसमाथि अहिलेको महामारी पनि। तिमी पनि आउने विचार छ भने अलि समय न आउँदा जो राम्रो हुन्छ।'
साथीभाइको कुरा सुन्दा त कुरो ठीक हो भन्ने लाग्छ। कमसेकम एकछाक खान र एकसरो लगाउन अनि सामान्य रूपमा चाडपर्व मनाउन हाम्रो परिवारलाई गाह्रो छैन। बालबच्चा खुसी छन्। दिदीबहिनीलाई पनि सानोतिनो गिफ्ट दिन सक्ने अवस्था छ।
त्यो दिन बल्ल दुःखको अनुभव हुन्छ, जुन दिन परदेशमा बसी चाडपर्व मनाउनु पर्छ। चाडपर्वमा घरमा हुनुको रमाइलो त विदेशमा बस्नेसँग तुलना गर्न सक्ने अवस्था छैन। फेरि पनि आफ्नो रीतिरिवाज अनुसार जसरी सकिन्छ, मनाउनु पर्ने हुन्छ। हामी पनि त्यसरी नै मनाउने कोसिस गर्दछौं।
सन् २०१० मा विदेश आएपछि एकपल्ट दसैँतिहार मनाउने सौभाग्य पाएको थिएँ। चार वर्षपछि मानेको त्यो वर्षको दसैँतिहार खुब रमाइलो भएको थियो।
त्यसपछि घरमा बसेर तिहार मनाउने सौभाग्य मिलेको छैन। विदेशमा भने तिहार साथीभाइसँग मिलेर मनाउँदै आएका छौँ। तिहार भनेको त दिदीबहिनीसँग मनाउने पर्व हो। साथीभाइ मात्र कसरी मनाउने भन्ने प्रश्न पनि उठ्न सक्छ।
यससँग जोडिएको सानो प्रसंग छ हामीसंग।
बिदाको दिन थियो। हामीहरू बाहिर घुम्दै थियौँ। एक जना महिला पार्कमा खिन्न मुद्रामा बस्नु भएको थियो। उहाँको नजिक गएर 'के भाे दिदी? भनी सोधेँ।दिदी भनेपछि उहाँले हामीतिर हेर्दै केही होइन, भन्नु भयाे।'
तर उहाँको अनुहार भने साँचो बोले जस्तो थिएन। हामीले कर गरेपछि आफ्नो वास्तविकता बताउन राजी हुनु भयो।
नेपालबाट आएको दुई वर्ष जति भयको रहेछ। एउटा सानो सुपरमार्केटमा काम गर्नु हुँदोरहेछ। जुन मार्केटको मालिक भारतीय रहेछन्। व्यापार राम्रोसँग नभएपछि मालिक भागी भारत गएछन्। अनि उहाँको बिचल्ली भएको रहेछ। आँसु बगाउँदै भन्नु भयो, 'अब घर जान पनि टिकटको लागि पैसा छैन। घरमा बालबच्चा छन्। साहुको ऋण बाँकी छ। सक्नुहुन्छ भने कतै सानो भए पनि काम पाउन पाए हुन्थ्यो।'
उहाँको कुरा सुनेपछि हामीले फोन नम्बर लियौं। सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्यौं। केही समयपछि उहाँको लागि कामको व्यवस्था पनि भयो। त्यो दिनदेखि हामी सबै उहाँलाई दिदी भन्न थालियो।
यसपाली तिहारमा घरकी दिदीबहिनीसँग टीका लाउन सम्भव छैन। परदेशी दिदीसँग तिहार मनाउने विचार गरेका छौँ। अहिलेको अवस्थामा धेरै घुम्न पनि सम्भव छैन। तिहार आइसकेको छ। तिहार जस्तो पर्वमा दिदीसँग टीका लगाउन उहाँका लागि केही उपहार पनि त किन्नु छ। हामी आपसमा कुरा गरी मार्केट तिर लायौ।
यसो महलमा घुम्दै थियौँ। घरबाट बहिनीको फोन आयो। दाई के गर्दैहुनुहुन्छ?
'बहिनी म बजारतिर छु, सबै साँच्चै छौ,' मेरो प्रश्न थियो।
'हजूर दाई हामी सबै साँच्चै छौं। हजुर पनि साँच्चै हुनुहुन्छ,' उत्तर दिएर प्रश्न आयो उताको।
ठीक छ बहिनी, के गर्दैछौ त,' मैले प्रश्न गरेँ।
दाई भाइलाई टीकाका सामग्री किन्न बजार आएकी थिएँ। हजुरको सम्झना आयो। अनि फोन गरेकी। हजूर बजारमा के गर्दैै हुनुहुन्छ त,' फेरि प्रश्न आयो।
'के हुनु र? म पनि घर आउन पाइनँ। यहाँ हामी सबै मिली यहाँ नैं धर्मदिदीसँग टीका लगाउन उहाँलाई उपहार किन्न आएका छौं,' उत्तर दिएँ।
'ठीक गर्नु भयाे दाई, जहाँ जसरी भएपनि आफ्नो पर्व मनाउनु पर्छ,' उताबाट कर्याङकुरुङ आवाज पनि आउँदै थियो।
'बहिनी बरु भन न, के उपहार राम्रो होला? एउटा राम्रो लेहँगा अनि चुन्नी किन्दिनु नि। त्यहाँ राम्रो पाइन्छ भन्छन्,' उनको सुझाव थियो।
'ल हुन्छ बहिनी म रुममा गएर फेरि फोन गर्छु ल,' संवाद अन्त्य भयो।
हामी एउटा राम्रो लेहँगा अनि साथमा सिगारको बक्स पनि किन्यौं। राम्रो पेकिङ गरी रूम तिर लागियो।
गल्फमा बिदा त फ्राइडे मात्र हुन्छ। यसपाली तिहार तिहार त फ्राइडे छैन। यो पनि हाम्रो लागि समस्या छ। सबै साथी भाइको सल्लाहपछि तिहारको दिन डिउटी नजाने निर्णय लिएका छौं।
भाइटीकाका दिन गिफ्ट बोकेर दिदीको रूम तिर लाग्ने योजना छ। दिदी पनि हाम्रो पर्खाईमा हुनुहोला। हामी गए पछि उहाँको अनुहार उज्यालो देख्न पाइएला।
दिदीले नेपालमा जस्तो सबथोक यहाँ सम्भव नभए पनि, मिल्ने र पाइने समान ल्याउनु होला। सेलको पनि व्यवस्था हुन्छ कि!
घरमा दिदीबहिनीसँग पनि टीका लगाउने बेला ग्रुप कल गरिन्छ नै।
परदेशी दिदीले र घरकी बहिनीबीच संवाद स्थापित गर्न सकियो भने अझै राम्रो हुने थियो। त्यो पनि प्रयास छ यसपाली।
प्राय खाडीका परदेशीलाई एकदिन मात्र तिहार लाग्छ। काममा धेरै दिन बिदा हुँदैन। भाइटीका शुक्रबार परेन भने कतिले चाहेर पनि बिदा पाउँदैनन्।तर धेरैजसोले यो दिन बिदा मिलाउन बल गर्छन्। हाम्रो पनि योजना यस्तै छ।
(पाल्पा तानसेनका स्थायी बासिन्दा कोइराला हाल वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्समा छन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।