काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको नेतृत्व हितेन्द्रदेव शाक्यलाई दिने तयारी अघि बढाएका छन्। प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्य अहिले प्राधिकरणकै सहायक कम्पनी 'एनइए इन्जिनियरिङ कम्पनी'को प्रबन्ध निर्देशक छन्।
प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई शाक्यको काज फिर्ता गराउन निर्देशन दिएका हुन्। प्राधिकरण सञ्चालक समितिका एक सदस्यले दिएको जानकारीअनुसार शुक्रबार मन्त्री पुनले कोइरालाई शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाउन भनेका हुन्।
शाक्यलाई सहायक कम्पनीबाट प्राधिकरणमा फर्काउने र रिक्त कार्यकारी निर्देशकमा उनैलाई लैजाने तयारी गरिएको छ। प्राधिकरण सञ्चालक समितिका सदस्यले दिएको जानकारीअनुसार पहिले उनलाई सहायक कम्पनीबाट फिर्ता बोलाउने र पछि कार्यकारी निर्देशक बनाउने तयारी मन्त्री पुनले गरेका छन्।
'एनइए इन्जिनियरिङ कम्पनीमा प्राधिकरणकोतर्फबाट गएका सबै कर्मचारीको काज समय सकिएको रहेछ,' ती सञ्चालकले भने, 'शाक्यलाई प्राधिकरणमा फर्काउन र अन्यको काज थप गर्न मन्त्रीले निर्देशन दिनुभएको हो।'
प्राधिकरणले अन्य कर्मचारीको काज समय थपिसकेको छ। शाक्यलाई भने अहिलेसम्म काज फिर्ताको पत्र दिइएको छैन। प्राधिकरणको १२ औँ तहका उनलाई तत्कालीन् कार्यकारी निर्देशक कुलमान घिसिङले एनइए इन्जिनियरिङ कम्पनीको नेतृत्व गर्न पठाएका थिए।
प्राधिकरणका तत्कालीन् कार्यकारी निर्देशक घिसिङको कार्यकाल गत भदौ २८ गते सकिएको थियो। त्यसपछि कोइरालाले निमित्त कार्यकारी निर्देशकको रूपमा प्राधिकरणको नेतृत्व गरिरहेका छन्। उपकार्यकारी निर्देशकमध्ये शाक्य वरिष्ठ रहेकाले उनी प्राधिकरण फर्किए वरिष्ठताका आधारमा कोइरालाको ठाउँमा उनी हुनेछन्।
मन्त्री पुनले प्राधिकरणमा घिसिङलाई दोहोर्याउने सार्वजनिक अभिव्यक्ति दिए पनि मन्त्रिपरिषद्बाट निर्णय भने गराउन सकेनन्। 'शाक्यजीलाई बिस्तारै प्राधिकरणको नेतृत्वमा अघि बढाउने मन्त्री तयारी देखिन्छ,' प्राधिकरण सञ्चालक समिति स्रोतले भन्यो।
शाक्य मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सुरुवाती कागजता तयार गर्ने कामदेखि संलग्न थिए। तत्कालीन् ऊर्जामन्त्री राधा ज्ञवालीले उनलाई एमसिसी पठाएकी थिइन्। उनले यसअघि चिलिमेमा प्लान्ट म्यानेजर भएर काम गरेका छन्।
चिलिमेअन्तर्गतको सान्जेन आयोजना अघि बढाउँदा जग्गा अधिग्रहणको काममा विवाद भएपछि उनी अफगानिस्तान गए। ज्ञवाली मन्त्री भएकै बेला २०७१ सालमा चिलिमेको प्रमुखबाट घिसिङलाई फिर्ता बोलाउन शाक्यले पनि मुख्य भूमिका खेलेको प्राधिकरणकै कर्मचारीहरू बताउँछन्। उनी जिम्मेवारी लिन खोज्ने तर निर्णय क्षमता नभएका र अस्थिर व्यक्तिका रूपमा चिनिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।