काठमाडौं- सन् २०२१ मा विश्व बजारमा विप्रेषण (रेमिट्यान्स) प्रवाह १४ प्रतिशतसम्म खुम्चने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले बिहीबार सार्वजनिक गरेकाे ‘माइग्रेसन एण्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्टअनुसार सन २०१९ को तुलनामा सन २०२० र २०२१ मा रेमिट्यान्स प्रवाहको अवस्था निकै खस्कने देखिएको हो।
यसवर्ष अर्थात् सन २०२० मा न्यून र मध्यमस्तरीय आय भएका मुलुकहरुमा जाने रेमिट्यान्स गत वर्षको तुलनामा ७ प्रतिशत अर्थात ५ सय ८ बिलियन अमेरिकी डलर बराबरले घट्ने विश्व बैंकको प्रक्षेपण छ। त्यस्तै २०२१ मा भने यस्ता मुलुकमा जाने रेमिट्यान्स साढे ७ प्रतिशत अर्थात् ४ सय ७० बिलियन अमेरिकी डलर बराबरले घट्ने छ।
रेमिट्यान्सको घट्दोक्रमको प्रभाव विश्वभरि नै देखिने विश्व बैंकको प्रक्षेपण छ। तर सबैभन्दा बढी असर भने युरोपेली मुलुकहरुमा देखिनेछ। सन् २०२१ मा युरोपमा १६ प्रतिशतसम्म रेमिट्यान्स घट्ने देखिएको छ। त्यस्तै पूर्वी एसियाली मुलुकहरुमा ११ प्रतिशत, मध्यपूर्वी र अफ्रिकी मुलुकमा ९ प्रतिशत, दक्षिण एसियाली मुलुकमा ११ प्रतिशत र ल्याटिन अमेरिकन तथा क्यारबियन मुलुकहरुमा ८ प्रतिशतले रेमिट्यान्स घट्ने आँकलन गरिएको छ।
यसवर्ष नेपालमा भित्रने रेमिट्यान्स १२ प्रतिशतसम्म घट्ने विश्व बैंकको प्रक्षेपण छ। दक्षिण एसियाली मुलुकहरुको हकमा समग्रमा २०२० मा रेमिट्यान्स ४ प्रतिशतले खुम्चिने देखिएको छ। बंगलादेश र पाकिस्तानमा भने यसको असर न्यून देखिने विश्व बैंकले जनाएकाे छ।
वैदेशिक रोजगारमा आएको गिरावटका कारण आप्रवासी कामदार भित्राउने मुलुकहरुले आर्थिक समस्या झेल्नुपर्ने देखिएको छ भने कामदार पठाउने मुलुकले रेमिट्यान्स गुमाउनु पर्नेछ। नेपालको हकमा भने खाडी र मध्यपूर्वी देशहरुमा कोभिड १९ का कारण घट्दोक्रममा रहेको रोजगारीको स्तर, कमजोर हुँदै गएको तेलको मूल्य, र रेमिट्यान्स प्राप्त हुने मुलुकहरुमा अमेरिकी डलरमा देखिएको मुद्राह्रासका कारण रेमिट्यान्समा त्यसका असर देखिने छ।
नयाँ आप्रवासी कामदार नभित्रने र पुराना कामदार फर्कने क्रम बढेकाले यसवर्ष र आउँदो वर्ष आप्रवासी श्रम बजारमा पनि समस्या देखिनेछ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि धेरैजसो मुलुकले लकडाउन जारी गरेका कारण कामविहीन अवस्थामा पुगेका श्रमिकहरु पनि स्वदेश फिर्ता हुन थालेका छन्। जसकारण आप्रवासी कामदारहरुले घर पठाउने पैसा १४ प्रतिशतसम्म घट्ने प्रक्षेपण विश्व बैंकले सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।