काठमाडौं– काठमाडौंमा हुने करिब आधा जस्तो अपराधको कारण मादक पदार्थ सेवनसँग सम्बन्धित हुने गरेको प्रहरीले जनाएको छ।
पछिल्लो ३ महिनाको अपराध विश्लेषणअनुसार घरेलु हिंसादेखि हत्यासम्मका घटनामा मदिरा कारण देखिएको छ। ३ महिनामा मदिराका कारण ८ सय ९ वटा घटना भएका छन्। पछिल्लो ३ महिनामा काठमाडौंमा १६ जनाको हत्या भएकोमा ५ हत्याको कारण मदिरा नै थियो। बलात्कारका ५३ मध्ये ७ वटा, ज्यान मार्ने उद्योगका १५ मध्ये ५ घटनामा मादक पदार्थ सेवन कारण देखिएको प्रहरीले जनाएको छ।
सार्वजनिक अपराधमा एक हजार ७ मुद्दामध्ये ६ सय ७ तथा घरेलु हिंसाका ४ सय ८९ मध्ये २ सय ८५ मादक पदार्थ सेवनसँग सम्बन्धित थिए।
३० लाखको घरेलु मदिरा नष्ट
महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा घरेलु मदिराविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ। पछिल्लो २ ० दिनमा परिसरले करिब २५ हजार लिटर घरेलु मदिरा र ४ हजार किलो कच्चा पदार्थ नष्ट गरेको छ।
काठमाडौं प्रहरीले बैसाख १ देखि घरेलु मदिरा नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको थियो। जस अन्तर्गत उपत्यकाका विभिन्न स्थानहरुबाट प्रहरीले घरेलु मदिरा बरामद गरेको छ। अवैध रुपमा उत्पादित त्यस्ता घरेलु मदिरा स्वास्थ्यका लागि समेत घातक हुने र त्यसले अन्य अपराध पनि बढाएकाले त्यसविरुद्ध अभियान चलाइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।