काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि काँठ क्षेत्रमा भने यसको कम असर परेको छ। कोरोना कहरमा रहदैगर्दा रोपेको धान चाडपर्व आउँदै गर्दा भने थन्क्याउन उपत्यकाका किसानहरुलाई भ्याईनभ्याई हुन थालेको छ।
असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासको कारण एक महिना पर धकेलिए पछि किसानहरु दोहोरो हतारमा छन्। एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दशैं नजिकिएर पर्व मनाउने हतार छ।
उपत्यकाका विभिन्न स्थानका धान खेतमा बिहीबार पुग्दा किसानहरु कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए। कोही भने धान झार्दै थिए। धान उठाउने काम सकेर दसैँ मनाउने योजना रहेको ललितपुरको दक्षिणी क्षेत्रका खेतमा भेटिएका किसानले बताएका छन्। त्यस्तै कोरोना संक्रमणको जोखिम भएपनि गाउँमा त्यसको असर नपरेकोले धान काटने काममा आफूहरु व्यस्त भएको किसानहरुको भनाई छ।
काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिक भित्र थन्काईसक्ने चलन छ। उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुईमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार हतार उठाउने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।