साकेला गाउँपालिका–५ मात्तिमका किसानको खेतमा पाकेर पहेँलपुर भएको धानबाली । दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने किसानको अनुमान छ । तस्वीर : केदार मगर
काठमाडौं- बालीनाली थन्क्याउने मुख्य सिजन सुरु भएको छ। असारमा रोपेको धान भित्र्याउन धमाधम हुने बेला सुरु भइसकेको छ। यसवर्षको मनसुनमा राम्रो वर्षा भएकाले धानबाली राम्रो भएको बताइने पनि गरेको छ। यसका साथै पछिल्ला केही दिनयता मौसममा पनि सुधार भएकाले धेरै स्थानका कृषक धान थन्क्याउन व्यस्त छन्।
धान मात्र होइन, अन्य कृषि कर्म पनि जारी छन्। राससले शनिबार प्रकाशन गरेका विभिन्न स्थानका तस्बिरलाई कृषक र कृषिकर्मसँग जोडिएकाहरूका घरआँगनमा भइरहेका गतिविधि प्रतिनिधिमूलक हुने गरी हामीले केही तस्बिर प्रकाशन गरेका छौं।
पाल्पाको तानसेन नगरपालिका क्षेत्रमा साइकलमा च्याउ बिक्री गर्दै हिँडेका युवा । तस्वीरः कृष्ण दर्नाल
बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका महिला खरको भारी घरतर्फ लैजाँदै। यहाँका महिलालाई खर काट्न चटारो परेको छ। तस्वीरः विनोद सिंह
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको मुझुङमा टनेलमा उत्पादित टमाटर। यहाँ उत्पादित टमाटर ठूलो मात्रामा जिल्ला बाहिर निकासी हुँदै आएको छ। तस्बिर : कृष्ण दर्नाल
आफूले पालेका बाख्राखसी चरणका लागि जङ्गलतर्फ लैजाँदै साकेला गाउँपालिका–५ मात्तिमका स्थानीय बासिन्दा। सिधा यातायात जोडिएसँगै जिल्लामा उत्पादित अधिकांश बाख्राखसी राजधानी काठमाडौँ निर्यात हुने गरेको छ। तस्वीरः केदार मगर
बडादशैं नजिकिएसँगै भक्तपुरका किसानहरुलाई धान काट्ने र भित्र्याउने चटारो परेको छ। भक्तपुरको मध्यपुर थिमि–१, लोकन्थलीका किसान जगतबहादुर प्रजापतिको परिवार पनि धान काट्न र झार्न व्यस्त थिए। तस्वीरः लक्ष्मी गारू
महाकाली नगरपालिका– ९ दत्तुमा लगाइएको मेवा तथा बन्दागोभी खेतीको अनुगमन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरी। कोभिड– १९ कारण बेरोजागार बसेका मोहनसिह सामन्त र सुरज सामन्तले व्यक्तिगत लगानीमा मेवा खेती शुरु गरेका हुन् । तस्बिर: नरेन्द्रसिह कार्की
महाकाली नगरपालिका– ९ दत्तुका मोहनसिंह सामन्त र सुरज सामन्तले व्यक्तिगत लगानीमा मेवा खेती शुरु। कोभिड– १९ कारण घरमा बेरोजगार बस्नुभन्दा आफ्नै दुई रोपनी जमिनमा मेवा खेती शुरु गरेका हुन्। उनीहरुले पहिलो चरणमा २०० बोट मेवाका लगाएका छन्। तस्बिर: नरेन्द्रसिह कार्की
शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा बाँसबाट बनेको भकारी मोटरसाइलमा घर लैजानका लागि राख्दै गरेका किसान। धानलगायतका अन्न राख्नका लागि भकारी प्रयोग गरिन्छ। तस्वीरः राजेन्द्रप्रसाद पनेरू
रामपुर नगरपालिका–५ स्थित राङभाङ्गमा फल लाग्दै गरेको कोदो खेती । यो क्षेत्रमा कोदो खेती लगाउने प्रचलन हट्दै गएको छ । तस्वीरः सुशीला रेग्मी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।