पूजनीय आमा, ढोग गरेँ आशीर्वाद दिनुहोला।
घरबाट आएको पनि तीन वर्ष भएछ। यसपाली घर आउने लगभग पक्का थियो। गएको साल म आफैं आएको थिइनँ। साहुको ऋण तिर्ने, अनि आउने विचार गरेँ। यसपालीको समय बदलिएको छ।
धेरै साथीभाइहरू बेरोजगार भएका छन्। यो समयमा म कसरी आउने? कम्पनीबाट बिदा दिएको छैन। राजीनामा दिएर आऊने हिम्मत ममा छैन। भएको यो काम पनि छोडेँ भने कसरी घर खर्च चलाउने?
छोराछोरीको भविष्य पनि मेरो कामसँग जोडिएको छ। एक दशकको लामो अवधिमा के गर्न सकेँ र? काम पनि सोचे जस्तो भएन। यो अवधिमा एकपल्ट टीका लाउने साइत जुरेको थियो। त्यो पनि घर आउँदा साहिँला बाजेको मृत्युसँगै शोकमा दसैँ गयो।
यसपाली त ठूलो आश गरेको थिएँ। लामो सास आउँछ आमा, के गरुँ आफ्नो देश जस्तो नहुँदो रहेछ। कोरोना महामारीसँगै मेरो बिदा पनि पछि सर्दैछ। मन यहाँ भए नि रातदिन घरको सम्झनाले सताएको छ।
सानो छोरा पनि अब त हिड्ने भयो होला। म कस्तो अभागी! न आमाको सेवा गर्न पाएको छु, न बालबच्चासँग रमाउन पाएको छु? दसैँ नजिकिँदै छ। छोराको बाटो नहेर्नु होला यसपाली। म आउने कुनै सम्भावना छैन।
के गरुँ आमा! समयले साथ दिएन। हजुरलाई कोसेली लिएर आउने कत्रो ठूलो चाहना थियो। अनि हजूर, म, बुहारी, छोराछोरी सबै सँगै बसेर हाँस्ने बोल्ने दिन कस्तो खुसी हुन्थ्यो!
आमाको हातबाट रातो टिका र पहेंलो जमरा लगाउने त्यो सपना फेरि एकपल्ट सपना मात्र बनेको छ। थालभर सेलरोटी, अर्सा, झिनिया, काँक्रोको अचार अनि चुकौनी सँगै बसी खाने रहर पनि रहर जो भएको छ।
बेसीमा फलानाको छोरो यसपाली दसैँ मनाउन आयो भनेर कुरा गरेको सुन्ने हजुरको इच्छा पनि टुटेको छ। छोराछोरीले बाबाले ल्याएको विदेशी कपडा भनेर लगाएर हिड्ने सपना पनि सकिएको छ। मेरो बाबा आउनु भो भनी, चकलेट बाँड्दै गाउँभर हिड्ने रहर पनि उडेर गएको छ। फेरि पनि आमा पिर नलिनू। म हजुरको आशीर्वादले सकुशल छु।
सानो कुरा जोड्न मनलाग्यो। 'सधै दसैँ आउने बेला साथीभाइले कहिले आउने हो? भनी खुब सोध्थे। आउने भए समान ल्याउन भन्थे। किन हो? यसपाली त सबै सुनसान छ। सायद यसपाली आउन्न भन्ने थाहा पाएछन् कि? अरू जेसुकै होस् हजुरको आशीर्वाद हुन्जेल मलाई केही हुन्न।'
आमा यसपाली पनि दसैंको टीकाका दिन पनि म काममा जानु पर्ने हुन्छ। म हजुरलाई बिहान फोन गर्नेछु। आशीर्वादका लागि। हजुरको आशीर्वाद बिना म काममा जाने छैन। आमा नरोई मलाई आशीर्वाद दिनुहोला। हजुरको आशीर्वाद पाएपछि म घरमा भएको अनुभव गर्ने छु। तपाईंको आशिर्वाद लिनेछु, छोराछोरीलाई आशिर्वाद दिनेछु। हजुरहरुले रातो टिका निधारमा अनि पहेँलो जमरा कानमा लगाएको हेरेर म काममा जानेछु। दुःख त लाग्छ। फेरि पनि दसैँको दिन जहाँ भएपनि खुसि रहन सक्नु पर्दो रहेछ।
आमा रात छिपिँदै छ। भोलि बिहान चाँडै कममा पनि जानु छ। अन्त्यमा यही भन्छु 'यसपाली दसैँमा म आउन पाइनँ आमा।'
उही हजुरको परदेशी छोरो
नारायण कोइराला
तानसेन, पाल्पा
हाल : युएई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।