काठमाडौं–विश्व बजारमै सुनलाई सुरक्षित लगानीको रुपमा लिइन्छ। जब अर्थतन्त्रमा संकट आउछ सुनले नयाँ रेकर्ड बनाउछ। परापूर्व कालदेखिनै सुन धातुहरु मध्येकै सबैभन्दा उत्कृष्ट मानिँदै आएको छ। इसापूर्व ५५० भन्दा अगाडि मुद्राको खासै प्रचलन थिएन। मुद्राको प्रचालन आएदेखि नै सुनले आफ्नो छुट्टै मूल्य बनाउँदै आएको छ। सुरुवाती अवस्थामा विनिमयको माध्यम बनेको सुन आधुनिक डिजिटल इकोनोमीमा पनि सबैभन्दा बलियो धरौटीको माध्यम बनेको छ।
विनिमयका लागि प्रयोग हुन थालेको सुन लामो समयदेखि संकटमा आफ्नो सम्पत्ति सुरक्षित गर्ने माध्यम बनेको छ। सन् १२५७ मा ग्रेट ब्रिटेनले सुनको मूल्य प्रति औंन्स ०.८९ पाउन्ड तोकेको थियो। त्यसयता सुनको आधिकारिक मूल्य निर्धारण हुँदै आएको छ। बेलायतले त्यतिबेला निर्धारण गरेको मूल्य १७ औं शताब्दिसम्म ४.२५ पाउण्ड प्रतिऔंन्स पुगेको थियो।
विश्व अर्थतन्त्र अमेरिकाले नेतृत्व गर्दै जाँदा सुनको मूल्य एकाएक बढ्न थालेको पाइन्छ। अमेरिकाले ‘गोल्ड स्ट्याण्डर्ड एक्ट’ जारी गरे पछि सुनको मूल्य प्रति औंन्स २० डलर तोकियो। सन् १९२९ मा आर्थिक मन्दी बढ्दा अमेरिकी संघीय सरकारले व्याजदर बढायो। यस्तो निर्णयले सन् १९२९ पछि शेयर बजार नै तहसनहस भयो। व्याजदर उच्च हुँदा डलरको मूल्य बढायो। जसले गर्दा सुनको मूल्यमा खासै सुधार आएन।
अमेरिकाले सन् १९३४ मा ‘गोल्ड रिजर्भ एक्ट’ ल्यायो। त्यसपछि सुनको मूल्यमा उल्लेख्य सुधार आयो। उक्त ऐन आएपछि अमेरिकी राष्ट्रपति फ्रान्कलीन डि रुजभेल्टले सूनको मूल्य प्रतिऔंन्स २० डलरबाट बढाएर ३५ डलर पुर्यााएका थिए। सन् १९७१ मा अर्थतन्त्र कमजोर अवस्थामा आयो। बेरोजगार संख्या बढ्नुका साथै मूल्य आकासियो। साथै बैंक व्याजदर दोहोरो अंक नाघ्यो। अमेरिकी राष्ट्रपति निक्सनले डलरलाई बलियो बनाउने प्रयास गरे पनि सुनको भाउ आकासिएको थियो।
४० वर्षदेखि स्थिर अवस्थामा रहेको सुनको मूल्य सन् १९७० पछि चार वर्षको अवधिमा १८३ डलरसम्म पुग्यो। सन् १९७९ मा पनि अर्थतन्त्रमा मन्दी आउदा मूल्यवृद्धि आकासियो। फलस्वरुप सुनको मूल्य १८३ डलरबाट ५१२ डलर नाघ्यो। तर तत्कालीन सरकारले सुनको कमिसन घटाएपछि मूल्य घट्न थाल्यो। तर अमेरिकी अर्थतन्त्र तथा डलर बलियो हुँदै जाँदा सुनको मूल्य लगातार घट्दो क्रममा थियो। सन् २००१ सम्ममा सुनको मूल्य प्रतिऔंन्स २७६ डलरसम्म तल झर्यो।
सन् २००१ पछि अमेरिकी अर्थतन्त्रलाई चीनले टक्कर दिन थालेपछि लगातार ९ वर्षसम्म सुनमा उछाल आयो। यसै क्रममा सन् २००८ मा विश्वमै आर्थिक मन्दी आयो। यसै क्रममा सुनले नयाँ रेकर्ड बनायो। चीन–अमेरिकाबीचको व्यापार युद्ध, खाडी मुलुकमा गृहयुद्ध हुँदा पेट्रोलियम पदार्थमा मूल्य बढ्यो। यसको प्रत्यक्ष असर सुनमा परेको थियो।
सन् २०११ को अगष्टमा सुनले नयाँ रेकर्ड बनाउने क्रममा प्रति औन्स १९१७ डलरसम्म कायम भयो। त्यसलगत्तै सुनमा भारी गिरावट आयो। त्यसयता लगातार गिरावट हुँदै आएकोमा दुई वर्षदेखि बढ्न थालेको थियो। यसै क्रममा कोभिड–१९ ले विश्व अर्थतन्त्रमै असर गर्दा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य अहिलेसम्म आर्थिक अवस्था कमजोर हुँदा नै बढी मौलाएको पाइन्छ।
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को असर विस्तारै कम हुँदै गएको छ। बेरोजगारको संख्या बढ्दै गर्दा अमेरिकी सरकारले बेरोजगार भत्तासमेत बढाउनु पर्ने बाध्यता बन्यो। तर पछिल्ला दिनमा विस्तारै नयाँ रोजगार सिर्जना भइरहेको छ। जसले गर्दा बेरोजगार भत्ताको माग पनि कम हुँदै गएको छ। अमेरिकाले नयाँ आर्थिक वर्षमा पुरै अर्थतन्त्रलाई रिभाइभ गर्ने गरि ‘स्टिमुलस प्याकेज’ (राहत प्याकेज) ल्याउने तयारी गरिरहेको छ। सुन र डलरको सम्बन्धका कारण सुनको मूल्यमा तलमाथि हुँदै आएकोमा पछिल्लो समय यसको प्रभाव कम हुँदै गएको छ। यस वर्षसम्ममा विश्वकै केन्द्रीय बैंकहरुले सुनको मौज्दात एक चरणमा पुर्याउने तरखरमा छन्।
अर्कोतर्फ कोभिडका कारण कतिपय सुनका खानी नै बन्दको अवस्थामा रहेकाले आपूर्ति हुन सकेको थिएन। अब सुनका खानी विस्तारै खुल्दै गएका छन्। यसले आपूर्ति पनि धान्ने विज्ञहरु बताउछन्। जसले गर्दा अबका दिनमा सुनको मूल्य बढ्नभन्दा पनि करेक्सनतर्फ उन्मुख हुने आँकलन गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य (प्रति औंन्स)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।