काठमाडौं– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा डिएसपी प्रजित केसी पनि प्रतिवादी बनेका छन्। शाक्य हत्यामा हत्याका नाइकेलाई जोगाएको आधारमा उनलाई पनि जिल्ला प्रहरी कार्यालय मोरङमा हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ।
जिल्ला अदालत मोरङले उनलाई आइतबार ३ दिन थुनामा राख्न म्याद दिएको छ। उनी सो मुद्दाका २८ औं प्रतिवादी बनेका छन्। केसीलाई न्यायधीश महेन्द्रकुमार पोखरेलको इजलाशले ३ दिन थुनामा राख्न म्याद दिएको जिल्ला अदालत मोरङका रजिष्ट्रार नवराज दुलालले बताए।
जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई सोधपुछका लागि बोलाएको थियो। केसी शुक्रबार उपस्थित भएका थिए। तीन दिन लामो सोधपुछपछि उनको पनि संलग्नता देखिएपछि प्रतिवादी बनाउने निर्णय भएको हो। स्रोतका अनुसार तस्करीमा सघाएको नभई हत्या घटनाको अनुसन्धानमा मुख्य नाइकेलाई सघाएकोमा उनी पनि प्रतिवादी बनाएका हुन्। उनी डिएसपी केसी नेतृत्वकै प्रहरीले शाक्यको शव बरामद गरेको थियो।
उनीसँगै सो प्रकरणमा हिरासतमा पुग्ने प्रहरीको संख्या ६ पुगेको छ। यसअघि पूर्वडिआईजी गोविन्द निरौला, एसपी विकाराज खनाल, डिएसपी संजय राउत, सइ बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का पक्राउ परिसकेका छन्। सो घटनामा संलग्न मुछिएका एसएसपी श्याम खत्री फरार छन्।
सम्बन्धित समाचारः३३ किलो सुन तस्करी प्रकरण : एसएसपीका चालक पक्राउ, छानबिन समिति विराटनगरमा
प्रहरी समातिदै, तस्करहरु फरार
सुन तस्कर र शाक्य हत्या प्रकरणमा मुख्य तस्करहरुलाई सहयोग गर्ने प्रहरी तथा एयरलाइन्सका कर्मचारीहरु धमाधम पक्राउ परिरहेका छन्। तर, तस्करीका मुख्य नाइकेहरु भने कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।
मुख्य नाइके चुडामणि उप्रेती फरार छन्। तस्करीमा संलग्न उनको गिरोहका एक दर्जन व्यक्तिहरुको सम्पती रोक्का गरिसकेको छ। कतिसम्म भने उप्रेतीको श्रीमती लगायत आफन्त समेत फरार भइरहेका छन्। उनीहरु कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। तस्करी जालोमा रहेका दुई जना तस्कर मात्र पक्राउ परेका छन्।
रोडस्थित आर.के ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका सञ्चालक पवन अग्रवाललाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।