काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट कोही पनि अछुतो छैन। फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी त झन् संक्रमणको उच्च जोखिममा पर्छन्। आवश्यक सतर्कता अपनाउँदाअपनाउँदै पनि स्वास्थ्यकर्मीहरु संक्रमित भइरहेका छन्। नेपालमा कोरोना संक्रमणको मृत्युदर कम भए पनि जोखिम भने धेरै छ।
कतिपय व्यक्तिहरुले कोरोना भाइसरलाई सामान्य रुपमा लिने गरेका छन्। केही विज्ञहरुले भने कोरोना भाइरस केही नभएको तर्क गरिरहेका छन्। तर स्वयं संक्रमित हुने व्यक्तिहरु भने उनीहरुको तर्कसँग सहमत छैनन्।
कोरोना भाइरसलाई सामान्य रुपमा नलिन उनीहरु आग्रह गर्छन्। यद्यपि, विभिन्न भ्रम सिर्जना गरिएजस्तो नभए पनि कोरोनाको संक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने उनीहरुको अनुभव छ।
केही समयअघि भरतपुर अस्पतालका मेसु डा श्रीराम तिवारी र वीर अस्पतालका कन्सलट्यान्ट फिजिसियन डा ध्रुव गैरे कोरोनाबाट संक्रमित भएका थिए। सेवामा खटिइरहेका बेला उनीहरु संक्रमित भएका हुन्। २ हप्ताभन्दा बढी उपचार गरेर उनीहरु हाल संक्रमणमुक्त भएका छन्। कोरोना सामान्य रुपमा नलिन दुवै जनाको आग्रह छ।
कोरानालाई जित्न सफल डा तिवारी र डा गैरेसँग सिर्जना खत्रीले कुराकानी गरेकी छिन्। संक्रमणमुक्त तिवारी र गैरेको अनुभव उनीहरुकै शब्दमाः
रोग लाग्नेलाई मात्र थाहा हुन्छ त्यसको पीडा : श्रीराम तिवारी
म चितवनस्थित भरतपुर अस्पतालमा मेसुका रुपमा कार्यरत थिएँ। नेपालमा कोरोना संक्रमण सुरु भएदेखि नै मेरो समय व्यस्त भयो। निरन्तर बैठक, छलफल अनि कोरोना संक्रमित बिरामीको व्यवस्थापन लगायत काममा व्यस्त थिएँ। एक्कासी साउन २७ गतेदेखि सुख्खा खोकी लाग्ने, जिउ दुखाइको महसुस हुने, स्वाद÷गन्ध कम थाहा हुने, टाउको दुख्ने जस्ता लक्षण देखा परे। अस्पतालको कामले गर्दा थकाइ महसुस भएको हो कि भन्ने लाग्यो।
साउन २८ गते दिउँसो कोरोना परीक्षणका लागि स्वाब दिएँ। साउन ३० गते बेलुका १०१।८ डिग्री ज्वरो आएपछि मलाई कोरोना संक्रमण त भएन भनेर मनमा चिसो पस्यो। नभन्दै ३१ गते शनिबारका दिन राति १०।३० बजे आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भयो। म ३२ गते बिहान ७ बजे अस्पतालमा गएर आइसोलेसनमा भर्ना भएँ।
पछिल्लो समय अस्पतालको ओपिडीमा पनि बिरामीको भीड बढ्न थाल्यो। म कोरोना संक्रमण समुदायमा फैलनबाट रोक्न र निजी अस्पतालसँग कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर छलफलमा सहभागी हुँदै आएको थिएँ। त्यस्तै, आइसोलेसनमा बेलाबेलामा निरीक्षण गर्न जाँदा त्यहीँ मलाई कोरोना संक्रमण भयो कि भन्ने आशंका छ।
सुरुवाती दिनमा खोकीले गर्दा बोल्न समेत गाह्रो भएको थियो। तर अहिले मेरो स्वास्थ्यमा सुधार हुँदै गएको छ। भदौ २ गतेदेखि खोकी कम हुँदै गयो। जिउ दुख्न पनि कम भयो। थकान पनि कम हुँदै गयो। स्वाद थाहा पाउने र गन्ध कम आउने पनि राम्रैसँग सुधार भयो र पुनः पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आयो। २० दिन अस्पतालको बसाइपछि भदौ १९ गते डिस्चार्ज भएँ।
८५ प्रतिशत मानिसलाई कोरोनाको सामान्य लक्षण देखिएका छन्। १० देखि १५ प्रतिशत मानिसमा कोरोनाको लक्षण देखिएको छ भने ४ देखि ५ प्रतिशत मानिसको अवस्था क्रिटिकल भएर आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको छ।
यस्तो समस्या विशेष गरी मधुमेह, उच्च रक्तचाप र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई बढी मात्रामा हुने गरेको देखिएको छ।
कोरोना संक्रमण सामान्य होइन र जटिल पनि होइन। रोग लाग्नुभन्दा अगाडि नै सावधानी अपनाउनु जरुरी छ। रोग लगिहाल्छ भनेर डराउनु भने हुँदैन र मलाई रोग लाग्दैन भनेर मास्क नलगाई भीडभाडमा जाने गर्नु हुँदैन। कतिपय मानिसले हेलचेक्र्याइँ गर्दा भयावह स्थिति पनि आउन सक्छ। त्यसकारण कोरोनाको बारेमा भ्रम सिर्जना गर्नु हुँदैन। रोग लाग्नेलाई मात्र थाहा हुन्छ त्यसको पीडा। त्यसैले सकेसम्म रोग लाग्न नदिन आफूलाई सुरक्षित राख्ने र यदि रोग लागिहाल्यो भने पनि आत्तिनु हुँदैन।
पौष्टिक आहारयुक्त खानेकुरा खानुपर्छ। प्रशस्त तातोपानी पिउने र हाम्रै घरमा पाइने जडिबुटीको प्रयोग गर्नुपर्छ। यदि संक्रमण भइहाल्यो तर लक्षण देखिएन भने आफ्नै घरमा छुट्टै कोठामा बस्न पनि सकिन्छ। कोरोनाले छिट्टै स्वास्थ्य बिग्रने हुँदा कुनै लक्षण देखिनासाथ अस्पतालमा चिकित्सकको निगरानीमा बस्नुपर्छ।
कोरोनाले शरीर र मानसिक मात्र होइन, सामाजिक पीडा पनि दिन्छ : डा धुव्र गैरे
म वीर अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन हुँ। म नियमित बिरामीको सेवामै खटिइरहेको थिए। अस्पतालका ओपिडी, आइसियु र आइसोलेसन वार्डमा दैनिक राउन्डमा जानुपथ्र्यो। त्यही क्रममा मलाई दुई÷तीन दिनदेखि खानामा रुचि कम हुँदै जानुका साथै स्वाद थाहा नहुने र बान्ता, डाइरिया हुन थाल्यो।
तर, पनि काम गर्दै थिएँ। साउन २१ गतेदेखि ज्वरो आउन थाल्यो। ज्वरो बढ्दै १०४ डिग्रीसम्म पुगेपछि राति नै वीर अस्पतालको इमर्जेन्सीमा गएँ। कोरोनासँग मिल्दाजुल्दा लक्षण भएकाले पिसिआर परीक्षण गरें। साउन २२ गते कोरोना पोजेटिभ देखियो। ज्वरो कम भएको थिएन, विस्तारै श्वास फेर्न गाह्रो हुन थाल्यो। शरीरमा अक्सिजनको मात्रा पनि घट्न थाल्यो। अक्सिजन दिएर पनि समस्या कम भएन। अस्पतालमा भर्ना भएको २ दिनमै आइसियुमा भर्ना गर्नुपर्ने भयो। टिचिङ अस्पतालको आइसियुमा ट्रान्सफर गरियो। कोरोनाले छिटोछिटो जटिलता उत्पन्न गर्ने रहेछ।
अनियन्त्रित ज्वरो, कमजोरी, सहन नसक्ने शरीरको दुखाइ र श्वास फेर्न निकै गाह्रो भइरहेको थियो। शरीरमा अक्सिजनको मात्रा ७० प्रतिशतमा झरेको थियो। फोक्सोमा निमोनिया देखिएको थियो।
यसलाई चाहिने एन्टिबायोटिकका साथै रेम्डेसिभिर एन्टिभाइरल औषधिहरु लिन सुरु गरिसकेको थिएँ। त्यसले पनि कम नभएपछि कन्भालेसेन्ट प्लाज्मा थेरापी पनि दिइयो।
त्यसबाट पनि श्वासप्रश्वासमा सुधार नभएपछि मलाई न्याजल क्यानुला (भेन्टिलेटरको विकल्पबाट) अक्सिजन दिइयो।
त्यसपछि विस्तारै शरीरमा अक्सिजनको मात्रा बढ्न थाल्यो। ज्वरो घट्दै गयो, अक्सिजनको मात्रा पनि बढ्दै गयो। त्यसपछि पुनः जाँच गर्दा कोरोना नेगेटिभ आयो।
२० दिनको अस्पताल बसाइपछि बाँकी उपचार घरमा नै गर्ने चिकित्सको सल्लाहपछि म डिस्चार्ज भएँ।
अहिले घरमा आराम गर्दै उपचारलाई निरन्तता दिएको छु। अहिले पनि बेलाबेलामा अक्सिजन चाहिने गरेको छ, जुन घरमा नै लिने गरेको छु। अहिले मेरो स्वास्थ्यमा सुधार आइरहेको छ। पोषिलो खानेकुरा खाइरहेको छु। कमजोरी छ तर अन्य लक्षणहरु कम हुँदै गइरहेका छन्।
अहिले कतिपय मानिसले कोरोना सामान्य रुघाखोकी जस्तै हो भनेर भ्रम सिर्जना गर्ने काम गरिरहेका छन्। उनीहरुका तर्क र टिप्पणी सुन्दा निकै दुःख लाग्छ। यो रोग कति जोखिमपूर्ण हुन्छ, यसले मान्छेको मानसिक र शारीरिक मात्र नभई सामाजिक रुपमा पनि कति तनाव उत्पन्न गराउँछ, त्यो त जसलाई संक्रमण भएको छ, उसलाई मात्र थाहा हुन्छ। अनि संक्रमितका परिवारले यसको पीडा भोगेका छन्। कुनै पनि व्यक्तिलाई आफू पीडित नभई पीडाको वास्तविकता महसुस हुँदैन। अहिले त्यस्तै भइरहेको छ कोरोनाबारे। जसलाई कोरोना संक्रमण देखिएको छैन, उनीहरु कोरोना केही होइन भनिरहेका छन्। कोरोना के हो, के होइन, ती संक्रमितलाई थाहा छ।
तसर्थ, म कोरोना केही होइन भन्नेहरुलाई भ्रम सिर्जना नगर्न र यसलाई हलुका रुपमा नलिन आग्रह गर्छु। र, आमनागरिकलाई पनि भ्रमका पछि नलाग्न अपिल गर्छु। रोगले व्यक्ति हेर्दैन, हेलचेक्र्याइँ कसैले पनि नगरौं।
सामाजिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले मिचिमिची हातधुने, मास्क प्रयोग गरौं। स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनले बनाएका मापदण्ड पालन गरौं। रोग लागेर दुःख पाउनुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।