काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्ना अनुभव साटासाट गरेका छन्।
गैरआवासीय नेपाली संघअन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शुक्रबार आयोजित भर्चुअल कार्यक्रममार्फत उनीहरुले आफ्ना अनुभव साटासाट गरेका हुन्।
दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा आयोजित ‘टिनएजर प्रेस्पेक्टिभ अन पेन्डामिक’ विषयक भर्चुअल कार्यक्रममा २० भन्दा बढी मुलुकबाट १२ देखि १९ वर्षसम्मका किरोशकिशोरीहरुले सहभागिता जनाएका थिए। सहभागिहरुले कोरोना कहरमा आफू, र आफ्नो परिवारले भोगेका तथा देखेका अनुभवहरु सुनाएका थिए।
कार्यक्रममा नेपाललगायत नाइजेरिया, क्यानडा, साउदी, अमेरिका, बहराइन, कतार, चीन, लगायत मुलुकमा रहेका किशोरकिशोरीहरुको उपस्थिति थियो। कार्यक्रममा रोबिना पौडेल, अभिलासा खतिवडा, प्रसान्त गौडेल, विक्रम केसी, अस्वीनी सिग्देल, जिया हमाल, सुहिम थापा लगायतले कोरोना कहरको अनुभव सुनाए।
अधिकांशले कोरोना कहरको सुरुवातमा विद्यालय जान नपरेकोमा आफूहरु खुसी भएको तर लामो समयसम्म घरबाहिर निश्किन तथा सामान्य अवस्थामा जस्तै साथीहरुलाई भेट्न नपाएकोमा गुनासो गरेका थिए। कतिपयले यो समयमा विद्यालय जान नपर्ने हुँदा अनलाईन कक्षामार्फत अध्ययन गर्ने र बाँकी समयमा आमबुबालाई सघाउने बताएका थिए। केही कोशोरकिशोरीहरुले कोरोनाको कहरको समयलाई सदुपयोग गर्दै आफ्नो रुचिअनुसारको खेलकुद तथा अन्य क्रियाकलापमा सहभागी भएको उल्लेख गरेका थिए।
कार्यक्रममार्फत किशोरकिशोरीले कोरोना महामारीका सम्बन्धमा जिज्ञासा समेत व्यक्त गरे। जिज्ञासाको जबाफ एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाले दिए।
डा सापकोटाले कोरोनासँग नडराई सचेत हुन सबैलाई आग्रह गरे। स्वास्थ्य सुरक्षाका विषयमा ध्यान दिन नसके कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उनले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।