काठमाडौं– तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकमा भएको डेढ अर्ब घोटालामा खराब कर्जा राखेर मात्र नभई नक्कली ऋणी खडा गरेर समेत अनियमितता भएको खुलेको छ।
ऋणी खडा गरिएका एक व्यक्ति पक्राउ परेपछि बैंकका सञ्चालक तथा कर्मचारीको थप कर्तुत खुलेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार बैंकका ऋणी घनश्याम घिमिरेलाई पक्राउ गरेको हो। झापाको शिवनगर–९ घर भएका घिमिरे ‘डमी’ ऋणी भएको खुलेको सिआइबीका अधिकारीले जनाएका छन्।
घिमिरेको नाममा ९५ लाख रुपैयाँ व्यक्तिगत कर्जा प्रवाह भएको थियो। पक्राउ परेपछि घिमिरेले ऋण निकाल्नका लागि आफ्नो नागरिकता लगायत कागजपत्रहरु मात्र प्रयोग भएको र पैसा अरुले नै लिएको बताएका छन्। उनी लगायत अरु धेरै ‘डमी’ ऋणी खडा गरेर बैंकमा अनियमितता भएको प्रहरीले जनाएको छ।
सिआइबीले बैंकको अनियमिततामा संलग्न सञ्चालक, कर्मचारी, ऋणी तथा मूल्यांकनर्तासहित २१ जनालाई पक्राउ गरिसकेको छ। सञ्चालक, कर्मचारी र केही व्यवसायी मिलेर कर्जा प्रवाहमा चरम अनियमितता गरेका थिए। एपेक्स हाल एनसिसी बैंकमा मर्ज भइसकेको छ।
सिआइबीले गत चैत २ मा एकैपटक १३ जनालाई पक्राउ गरेको थियो। बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसकेका छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल, सजल बज्राचार्य, प्रमोद भट्टराई र कृवेन्द्र श्रेष्ठ पक्राउ परिसकेका छन्।
त्यस्तै, ठुला ऋणी मनोज भेटवाल तथा धितो मूल्यांकनकर्ता नरेश स्वाँर पनि पक्राउ परिसकेका छन्। भेटवाल ‘क’ वर्गका ठेकदार हुन्। उनको बैंकका सञ्चालकहरुसँग निकटता थियो। ठगीकै नियतले उनले कमसल धितो राखेर ठूलो मात्रामा कर्जा लिएका लिए।
घोटालामा संलग्न बैंकका तत्कालीन सिइओ गोविन्दप्रसाद उपाध्याय अमेरिका पुगिसकेका छन्। त्यस्तै, तत्कालीन सञ्चालकहरु वसन्त मल्ल, लोकेन्द्र कर्माचार्य र रिता वादे श्रेष्ठ विदेश पुगेको प्रहरीले जनाएको छ। प्रहरीले छानबिन थालेलगत्तै उनीहरु भागेका थिए।
सो प्रकरणमा फरार रहेका अन्य व्यक्तिहरुको खोजी भइरहेको सिआइबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए। ४ वर्षअघिको सो घोटाला नेपाल राष्ट्र बैंकले लुकाउँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।