काठमाडौं- यातायात व्यवसायीले असोज १ देखि लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक यतायात चलाउन दिन माग गरेका छन्।
बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तीनवटा मजदुर संगठनको टोलीले यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यस्तो माग राखेका हुन्।
सरकारले यसअघि भदौ १५ देखि सार्वजनिक सवारी चलाउन दिन निर्णय गरेपनि कोरोना संक्रमण बढ्दै गएपछि सार्वजनिक सवारी चलाउने मिति असोज १ पुर्याएको थियो। व्यवसायीहरुले बैंक किस्ता तिर्न नसकेको, सवारी साधन खिया लागेको, मजदुरहरु भोकै परेको लगायतका कारणले अब आफूहरु सवारी चलाउनै पर्ने अवस्थामा पुगेको बताएका छन्।
'हामीले ६ महिनादेखि सरकारले भने अनुरुप सार्वजनिक सवारी घर ग्यारेजमै थन्क्याएर राख्यौं। अब सबै हिसाबले सवारी सञ्चालन गर्नै पर्ने अवस्था आएको छ,' महासंघका महासिचव सरोज सिटौलाले भने, 'असोज १ देखि सबै खाले सवारी चलाउने व्यवस्था गर्न विभागलाई आग्रह गरेका छौं। अनुमति नदिइए स्वतस्फुर्तरुपमा सवारी चलाउन व्यवसायीहरु बाध्य हुनेछन्।'
कोरोना भाइरस संक्रमण बढेसँगै सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेयता लामो दूरीका सार्वजनिक सवारी चल्न सकेका छैनन्।
सरकारले असार २६ गते देखि जिल्लाभित्र चल्ने गरी छोटो दूरीका बस चलाउन दिने निर्णय गरेको थियो। पछिल्लो पटक भदौ ३ देखि उपत्यकालगायत ४० भन्दा बढी जिल्लामा आशिंक तथा पूर्ण निषेधाज्ञा जारी गरेकाले छोटो दूरीका बस समेत सञ्चालन हुन सकेका थिएनन्।
'सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक सवारी चलाउनुपर्ने अवस्था आएको छ। सवारी सञ्चालन गर्न नदिने हो भने मजदुरसँगै सवारी धनीहरु पनि टाट पल्टिने अवस्था छ,' सिटौलाले भने। त्यसैले सबै बाच्नका लागि सुरक्षित ढंगले सवारी सञ्चालन गर्नुको विकल्प नरहेको उनको जिकीर छ।
यातायात व्यवस्था विभाग, स्वास्थ्य मन्त्रालय र यातायात व्यवसायी समेतको सहभागितमा सरकारले यसअघि नै सार्वजनिक यात्रुवाहक सवारी सञ्चालनका लागि स्वास्थ्य मापदण्ड बनाएको थियो। सोही मापदण्ड पालना गरेर सवारी सन्चालन गरिने भन्दै व्यवासायीले अनुमति दिन विभागसँग आग्रह गरेका छन्।
यस्तो छ बस सञ्चालनको स्वास्थ्य मापदण्ड
- जनचेतना अभिवृद्धिः यात्रु वा सेवामा संलग्न कर्मचारीहरुका लागि कोभिड–१९ प्रकोपको जोखिमसम्बन्धी आधारभूत ज्ञान तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मास्क लगाउने, हात स्यानिटाइजर वा साबुन पानीले धुने, जताततै नछुने र नथुक्ने, सामाजिक दूरीसम्बन्धी, भाडा तिर्नका लागि गरिएको व्यवस्था, बस बिसौनीमा पर्खने र ओर्लने तरिका निश्चित गरिने।
- यात्रु सिटको सरसफाइ तथा निर्मलीकरणः यात्रुले एकपटक सवारी साधन प्रयोग गरेपछि सिट सरसफाइ गर्ने।
- सामाजिक दूरी : यात्रु–यात्रुबीचको सामाजिक दूरी कायम गर्नका लागि यात्रुबाहक सवारी साधनको क्षमता अनुसार अधिकतम यात्रु संख्या निर्धारण गर्ने र ले–आउट सोहीअनुरुप बनाउने।
- यातायात सञ्चालनको समय तालिकाः सवारी साधनहरुको सञ्चालनपूर्व सिट निर्धारण र समय तालिका तयार गरी बस स्टपहरुमा राख्ने।
- यातायात सेवामा कार्यरत कर्मचारीको स्वास्थ्यको नियमित परीक्षणः प्रत्येक खेप सुरु हुने बेलामा वा दिनमा कम्तिमा दुईपटक निजको शरीरको तापक्रम मापन गर्नका लागि प्रत्येक बसमा थर्मल गनको व्यवस्था गर्ने।
- यात्रुहरुका लागि स्यानिटाइजर उपलब्ध गराउने
- भाडा असुलीका लागि वैकल्पिक उपाय अवलम्बन गर्ने : सकभर भाडा भुक्तानीका लागि मोबाइल बेस्ड स्क्यान एन्ड पे वा कन्ट्याक्टलेस कार्ड, अनलाइन तथा इलेक्ट्रोनिक भुक्तानी, भाडा भुक्तानीका लागि यात्रुहरुले टिकट काउन्टरबाट एकपटक वा धेरै पटक वा कुनै अवधिका लागि मान्य हुने टिकट किन्न सक्ने व्यवस्था गर्ने।
- चालक कक्ष र यात्रु कक्षलाई उपयुक्त खालको प्लाइ बोर्ड वा ग्लास वा फाइबर बोर्ड वा बाक्लो खालको प्लास्टिक सिटद्वारा छुट्याउने।
- सवारी साधनभित्र कोभिड-१९ सम्बन्धी सावधानीका सन्देश तथा सतर्कतासम्बन्धी जनचेतनामूलक सामग्री तयार गरि टाँस्ने।
- सवारी चालक र सहचालकका लागि मास्क, ग्लोब, भाइजर र स्यानिटाइजर उपलब्ध गराउने। बस टर्मिनल र बस बिसौनीमा साबुन पानी र स्यानिटाइजर राख्ने र कोभिड–१९ सम्बन्धी जनचेतनामूलक सामग्री राख्ने। अनुगमनमा खटिने ट्राफिक प्रहरी वा कर्मचारीलाई मास्क, स्यानिटाइजर, ग्लोब, भाइजर उपलब्ध गराउने।
- लामो, मध्यम तथा स्थानीय रूटमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधन यीलगायतका स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने विभागले जनाएको छ। यी मापदण्ड विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको स्वास्थ्य मापदण्डमा रहेर बनाइएको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।