सिओल- दक्षिण कोरिया सरकारले कोरोना संक्रमण निको भएका व्यक्तिलाई प्लाज्मा दान गरी सहयोग गर्न अपिल गरेको छ। सरकारले सोमबार प्लाज्मा दान गर्न सहजताका लागि देश भर ४६ वटा स्थानमा प्लाज्मा दान केन्द्र स्थापना गरेको छ।
कोरोना संक्रमण भई निको भएका व्यक्तिको प्लाज्माबाट संक्रमितको उपचारमा प्रभावकारी देखिएपछि यस्तो अभियान सुरु गरिएको सरकारको भनाइ छ।
सउल महानग भित्र २१ स्थानमा रहेका रेडक्रस केन्द्रमा प्लाज्मा दान गर्न सकिनेगरी व्यवस्था गरिएको छ । त्यस्तै राजधानी बाहिर २५ स्थानमा प्लाज्मा दान गर्न सकिने केन्द्र तोकिएको छ।
सोही अभियानअन्तर्गत कोरियामा पहिलो चरणको कोरोना संक्रमण महामारी फैलिएको केन्द्र सिञ्छन्जी चर्चका १६ सयभन्दा बढी सदस्यले आइतबार प्लाज्मा दान गरेका छन्।
कोरोना संक्रमण भई निको भएका १६ सय ४५ जना सदस्यले उपचाररत संक्रमितकालागि प्लाज्मा दान गरेको चर्चलाई उद्धृत गर्दै कोरियाली संचारमाध्यमले जनाएका छन् ।
प्लाज्मा दान गर्नेहरुका लागि सरकारले ३ लाख वन सहयोग गर्दै आएको भएपनि चर्चका सदस्यले भने सरकारको उक्त सहयोग लिन अस्वीकार गरेका छन्।
चर्चले भन्यो, ‘देशले हामीलाई कोरोना पोजेटिभ हुँदा निशुल्क परीक्षण र उपचार गर्यो, त्यसको सट्टामा हामीले सहयोग फर्काएका हौं।’
सिञ्छन्जी कोरियामा हालसम्म सबैभन्दा ठूलो सामूहिक संक्रमणको केन्द्र हो। चर्चमा आवद्ध ४ हजार ५ सय जना सदस्य भाइरसबाट संक्रमित भएको सरकारी तथ्याङ्क छ।
दक्षिण कोरियामा हालसम्म कोरोना संक्रमितको संख्या २१ हजार १ सय ७७ पुगेको छ। संक्रमणकै कारण ३ सय ३४ जनाले ज्यान गुमाएका छन् भने १६ हजार १ सय ४६ जना निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।