काठमाडौं- रौतहटस्थित चन्द्रपुर नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएको छ। कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न नगरपालिकाको सहकार्यमा तयार पारिएको आइसोलेसनसमेत भरिएको अवस्था छ।
२२ बेड क्षमताको आइसोलेसनमा २० जना संक्रमित रहेको र बाँकीलाई होम आइसोलेसनमा राखिएको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले बताए।
‘हाम्रो नगरपालिकाका ६ जना र अन्य नगरपलिकाका २० जना संक्रमित ४ वटा नगरपालिका मिलेर तयार गरिएको आइसोलेसनमा हुनुहुन्छ। बाँकी होम आइसोलेसनमा हुनुहुन्छ,’ मेयर चौधरीले नेपाल लाईभसँग भने।
आइसोलेसन भरिँदै गएकाले सामान्य अवस्था भएकालाई होम आइसोलेसनमा राखिएको उनले बताए। कोरोना संक्रमण बढ्दै गएकाले थप आइसोलेसन व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको मेयर चौधरीको भनाइ छ। तर केन्द्र सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि केही सहयोग नगर्दा समस्या देखिएको उनले बताए।
‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म केन्द्र सरकारबाट केही सहयोग आएको छैन,’ उनले भने, ‘यसअघिको लकडाउन अवधिमा प्रदेश सरकारले राहत बाड्नका लागि १५ लाख पठाएको थियो। पाएको भनेको त्यति मात्रै हो।’
सहयोगका लागि हामीले प्रदेश र केन्द्रमा पत्राचार गरेको र त्यसमा केही प्रतिक्रिया नआएको उनले बताए। अहिलेसम्म सबै खर्च नगरपालिकाले भ्याएसम्म आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिरहेको उनले जानकारी दिए।
आइसोलेसन, क्वारेन्टाइन, स्वास्थ्यकर्मी परिचालन तथा उनीहरूलाई खानबस्न, भत्ता लगायत नगरपालिकाले आफैँ गरिरहेको जनाएको छ।
होटल क्वारेन्टाइनमा स्वास्थ्यकर्मी
नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई होटल क्वारेन्टाइनमा राखेको जनाएको छ। फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षित रुपमा होटल क्वारेन्टाइनमा राखिएको नगरपालिकाका मेयर चौधरीले बताए।
‘स्वास्थ्यकर्मीहरुलाई हामीले सुरक्षित रुपमा होटल क्वारेन्टाइनमा राखेका छौँ। उहाँहरुलाई दैनिक भत्ता पनि उपलब्ध गराएका छौँ,’ मेयर चौधरीले भने। त्यस्तै अहिलेको जोखिमलाई मध्यनजर गर्दै समयसमयमा स्वास्थ्यकर्मीहरुको पिसीआर परीक्षण गर्ने गरिएको नगरपालिकाले जनाएको छ। हालसम्म कुनै पनि स्वास्थ्यकर्मीमा कोरोना नदेखिएको मेयर चौधरीले बताए।
के छ कोरोना संक्रमणको अवस्था?
चन्द्रपुर नगरपालिकामा अधिकांश कोरोना संक्रमित भारत तथा अन्य मुलुकबाट आएका छन्। पछिल्लो समय उनीहरूको सम्पर्कमा आएका अन्य व्यक्तिहरुमा समेत कोरोना देखिन थालेको छ।
नगरपालिकामा रहेका १२ जना संक्रमितमध्ये २ जना कोरोना जितेर घर फर्किसकेका छन् भने बाँकी १० जनामध्ये ६ जना नगरपालिकाले तयार गरेको आइसोलेसन तथा ४ जना होम आइसोलेसनमा राखिएको छ।
संक्रमितको सम्पर्कमा आएकाहरु ७ सयको कोरोना परीक्षण गरिसकिएको नगरपालिकाले जनाएको छ। बुधबार मात्रै संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरेर १ सय जनाको स्वाब संकलन गरिएको मेयर चौधरीले बताए।
रोकथाम तथा न्यूनीकरणका लागि के गर्दैछ नगरपालिका?
कोरोना रोकथामका लागि कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परीक्षणको दायरा फराकिलो बनाइएको उल्लेख गरिएको छ। त्यसका अलावा नगरपालिकाले जनचेतना समेत जगाइरहेको छ।
मेयर चौधरी भन्छन्, ‘होम आइसोलेसनमा रहेकाहरुका संक्रमितहरूसँग हाम्रा स्वास्थ्यकर्मीको टोली तथा हामी जनप्रतिनिधिहरू पनि दैनिक सम्पर्कमा छौँ। आइसोलेसनमा त २४ घण्टा नै स्वास्थ्यकर्मीको टोली खटाइएको छ।’
कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफ्नो तर्फबाट सक्दो पहल भइरहेको उनले बताए। ‘हामीले गर्न सक्नेसम्म सबै काम गरेका छौँ। यो हाम्रो दायित्व पनि हो। आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान दिनु हाम्रो पहिलो कर्तव्य ठानेर काम गरिरहेको छु,’ उनले थपे, ‘भ्याएँ, भ्याइनँ त्यो आफ्नो ठाउँमा छ। त्यसको मूल्यांकनपछि होला तर अहिलेसम्म कोरोना नियन्त्रणका लागि आफूले सक्दो कोसिस गरेको छु।’
फ्रन्टलाइनमा स्वास्थ्यकर्मीहरू खटिए जसरी आफू पनि खटिएको मेयर चौधरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।