एजेन्सी- सन् २०१५ मा टेड टकमा गरिएको एक अन्तर्वार्ताका क्रममा माइक्रोसफ्टका प्रमुख बिल गेट्सले मानव जीवनको अहिलेको सबैभन्दा ठूलो जोखिम भनेको भाइरस भएको र यसले जुनसुकै समयमा पनि वैश्विक दुर्घटना निम्त्याउन सक्ने भविष्यवाणी गरेका थिए। यदि अब आउने केही वर्षमा करोडौंको संख्यामा मान्छेको कुनै चीजले मृत्यु गराउँछ भने त्यो कुनै युद्ध र आणविक बम नभएर भाइरस भएको उनले बताएका थिए।
उनले भनेको ठिक ५ वर्षपछि उनको भनाइ चरितार्थ भयो। कोभिड-१९ ले विश्वलाई त्रसित बनायो। सबै व्यापार व्यवसाय ठप्पप्रायः बनायो। यात्रा प्रतिबन्ध गर्नुपर्ने अवस्था आइपर्यो। सारा विश्व नै पूर्ण लकडाउनको अवधारणा अपनाउन पुग्यो। तर कतिपयले महामारीलाई नै अवसरको रूपमा देखे भने कति कुराहरूमा यसले मानिसको जीवनशैली नै परिवर्तन गर्यो।
कोभिड-१९ ले गर्दा मानिसहरूमा अनलाइन पढाइ गर्ने अवस्था आइपर्यो जसले गर्दा भौतिक रूपमा कक्षाकोठामै हाजिर नभएर पनि विद्यार्थीहरूले घरमै बसी बसी सिक्ने मौका पाए। यसको प्रभाव सहरी क्षेत्रमा मात्र नभएर ग्रमीण भेगमा पनि प्रत्यक्ष रूपमा परेको छ। भर्चुअल रूपमा विद्यार्थीहरूले उपस्थिति जनाएर पढाइ गरिरहेका छन्। गृहकार्य, कक्षाकार्यहरूले गर्दा घरमै बसी बसी पनि विद्यार्थीको सिकाइमा सकारात्मक परिवर्तन आएको विभिन्न तथ्यांकहरूमा उल्लेख गरिएको छ।

दोस्रो परिवर्तन- हामी हाम्रो दैनन्दिनीय क्रियाकलापमा विशेष ध्यान दिन थालेका छौं। कतै हिँड्दा मास्क लाउने, केही सामान प्रयोग गर्नुअघि र पछि स्यानिटाइजरको प्रयोग गर्ने, हात धोइरहने बानीको विकास भएको छ।
तेस्रो परिवर्तन- कोभिड-१९ ले गर्दा ‘वर्क फ्रम होम’को वातावरण बनेको छ। धेरै देशहरूमा यो नौलो भने होइन। विशेषगरी आइटीसम्बन्धी विद्यार्थीका लागि त यो कुनै नौलो विषय हुँदै होइन। पश्चिमा देशहरूमा धेरै अघिदेखि नै वर्क फ्रम होमको सुरूवात गरिसकेका थिए। घरमै बसेर पनि कामहरू गर्न सकिने रहेछ भन्ने जान्नका लागि कोभिड महामारीले महत्त्वपूर्ण भूमिका खेल्यो।

अहिलेको सबैभन्दा ठूलो प्रश्न भनेको यो महामारीको अन्त्य भइसकेपछि पनि विश्व यसैगरी चलिरहन्छ त? भन्ने नै हो। यसको जवाफमा भारतीय कानुनमन्त्री रवि शंकर प्रसाद भन्छन्, ‘यसले सम्पूर्ण रूपमा नभए पनि केही न केही कुरामा भने अवश्यमेव परिवर्तन देखिनेछन्। वर्क फ्रम होम, हात धुने बानी, मास्क लगाउने बानी, स्यानिटाइजरको प्रयोग गर्ने र भीडभाडमा नजाने बानीको भने प्रचुरमात्रामा विकास हुनेछ।’
-एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।