काठमाडौं- सोमबारमात्र ७३ जनामा कोरोना संक्रमणको रिर्पोट आएको छ। ३ सय जनाको परीक्षण गरिएकोमा यो संख्यामा पुष्टि भएको हो। यसरी पुष्टि हुनेमा १०५ संक्रमति पुगेका छन्।
प्रदेश पाँचको सबैभन्दा धेरै प्रभावित जिल्ला अन्तर्गत बारा पर्छ। बाराका धेरै स्थानीय तह कोरोना संक्रमणको चपेटामा छन्। भारतबाट आउने नाका परेकाले पनि यो जिल्लामा संक्रमित धेरै भएका छन्। यो जिल्लाका अन्य स्थानीय तहजस्तै कलैया उपमहानगरपालिका पनि प्रभावित भएको छ।
कलैया उपनगरमा हालसम्म ५० जनालाई होम आइसोलेन र अन्य ५५ जना संक्रमितलाई कलैया आइसोलेनमा राखिएको छ। यहाँ देखिएका संक्रमितमा कुनै लक्षण देखिएको छैन। लक्षण नभएकाले उनीहरुलाई नगरले होम आइसोलेन र नगरको आइसोलेनमा राखेको छ।
नगरपालिकाले निर्माण गरेको कलैया आइसोलेन १०० बेडको रहेको छ। यहाँ संक्रमितहरुलाई राखिरहेका छौं। बिस्तारै यो पनि अभाव हुने देखिन्छ। संक्रमित दैनिक रुपमा बढिरहेका छन्। संक्रमित थपिँदै गएकाले थप ५० बेड आइसोलेन थप्ने तयारी नगरपालिकाले गरेको छ।
सामाजिक दूरी पालना गराउन र मास्क लगाउन कठीन
यहाँ संक्रमण समुदायस्तरमा पुगिसकेको छ। समुदायमा संक्रमण पुग्नुको एकमात्र कारण भनेको यहाँका जनता सचेत नहुनु नै हो। मास्क लगाउने, साबुन पानीले हात धुने र सामाजिक दूरी पालना गराउने कार्य कठीन रहेको छ। उपमहानगर भएपनि नागरिक आफैं सचेत भएर कोरोना संक्रमणबाट टाढा नबस्दा यो बिस्तारै फैलँदै जाने देखिन्छ। नगरपालिकाले सचेतनाका लागि माइकिङ गर्ने, सार्वजनिक सञ्चार माध्यमबाट सूचना दिने गर्दै आएको छ।
नगरको हटस्पटको रुपमा कलैया बजार.क्षेत्र रहेको छ। वडा नम्बर १० मा रहेको यो क्षेत्रमा धेरै संक्रमित रहेका छन्। कोरोना संक्रमण बढ्दै गएपनि जिल्ला प्रशासन कार्यालयले लकडाउन नै गरेको थियो। नगरले कोरोना संक्रमण फैलन सक्ने क्षेत्रहरुलाई सिल गर्ने, बजारहरु समय मिलाएर खोल्ने, मानिसहरुको भीड हुन नदिनेजस्ता कार्य गर्दै आएको छ।
बजारबाट समुदायमा पुग्यो कोरोना
सुरुमा कलैया बजारमा संक्रमित धेरै देखिएका थिए। विभिन्न क्षेत्रबाट आएका मानिसहरुको सम्पर्क हुने भएकाले यो क्षेत्रबाट अन्यमा फैलिएको अनुमान नगरले गरेको छ। नगरको मुख्य बजार भएकाले सबै क्षेत्रका मानिसको सम्पर्क यहाँ हुँदा त्यसले अन्यमा लग्यो। यो नगरमा खुल्लम खुल्ला बजारमा हिँड्दा सजह रुपमा फैलियो। नगरले अहिले पनि कन्ट्याक्ट ट्रेसिङ गरिहेको छ।
केन्द्र र प्रदेशको सहयोग छैन
यस्तो महामारीमा स्थानीय सरकारले मात्रै गरेर सकिँदैन। केन्द्र ,प्रदेश र स्थानीय तह मिलेर गरेमात्र यस्ता महामारी नियन्त्रण गर्न सकिन्छ। केन्द्रसँग पैसा र जनशक्ति छ। स्थानीय तहसँग छैन। स्थानीय तहले परिचालन गर्न सक्छ। स्थानीय तहले जनतासँग पुग्न सहयोग गर्न सक्छ। त्यसका लागि केन्द्र र प्रदेश सरकारले सहयोग गरेमा जनतासम्म सुविधा पुर्याउन सकिन्छ। नगरलाई अहिलेसम्म न प्रदेश न केन्द्रीय सरकारले सहयोग गरेको छ।
कन्ट्याक्ट ट्रेसिङमा समस्या
संक्रमित खोज्दै धेरै ठाउँसम्म पुग्नुपर्ने र जनशक्ति अभाव भएकाले समस्या भइरहेको छ। स्वास्थ्यको जनशक्ति कमी भएकाले स्वाब संकलनदेखि उनीहरुलाई आइसोलेनसम्म पुर्याउन समस्या भएको छ। अहिले नगरले स्वास्थ्य मापदण्ड पालना गराउँदै होम आइसोलेनमा राख्न थालेको छ। घर–घरमा कन्ट्याक्ट ट्रेसिङ गर्न जानुपर्ने अवस्था भएकाले जनशक्ति नहुँदा धेरै दिन लाग्ने भइरहेको छ।
नगरबासीलाई म आग्रह गर्दछु कोभिडसँग लड्न सामाजिक दूरी कायम गर्ने र मास्क लगाउन नबिर्सौं। कोरोनाको अन्य कुनै औषधि नभएकाले सचेत हुनुपर्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्दछु।
(यादव बाराको कलैया उपमहानगरपालिकाका मेयर हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।