काठमाडौं- काठमाडौं महानगरपालिका-३१ का अधिकांश स्थानमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको पाइएको छ। वडा नम्बर ३१ का शान्तिनगर, शंखमूल, पञ्चकुमारीलगायत स्थानमा भने कोरोना संक्रममितको संख्या बढ्दै गएको भन्दै वडाध्यक्ष नारायणप्रसाद भण्डारीले नागरिकले नै थप सचेत हुनुपर्ने बताए। ‘वडाका अधिकांश स्थानमा कोरोना फैलिएको छ। शान्तिनगर, शंखमुल, पञ्चकुमारी लगायत स्थानमा अलि बढि कोरोना देखिएको छ,’ वडाध्यक्ष भण्डारीले भने।
१ जनाको ज्यान गयो २६ जनामा कोरोना पुष्टि
शनिबारसम्म वडामा कोरोनाका कारण १ जनाको ज्यान गएको छ। २६ जनामा कोरोना पुष्टि भएको वडाध्यक्ष भण्डारीले बताए। ‘वडामा कोरोना संक्रमित ९७ वर्षीय वृद्धको ज्यान गएको छ। उनमा कोरोना देखिएपछि मृतकका छोराबुहारीको समेत पिसिआर परीक्षण गरिएको थियो। छोरा र बुहारी दुवैमा कोरोना पोजिटिभ देखिएको छ,’ अध्यक्ष भण्डारीले नेपाल लाइभसँग भने।
उनका अनुसार संक्रमितमध्ये ४ जना भने निको भएर घर फर्किएका छन्। बाँकी केही अस्पतालमा त केही होम आइसोलेसनमा छन्। अस्पतालका बेडहरु भरिभराउ हुन थालेकाले वडाका केही संक्रमितहरु होम आइसोलेसनमा रहेका छन्।
वडाले छुट्टै आइसोलेसन व्यवस्थापनबारे नसोचिएको वडाले जनाएको छ। ‘महानगरले ५ हजार बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालन गर्ने घोषणा गरिसकेको छ। वडाले छुट्टै व्यवस्था गरेको छैन,’ वडाध्यक्ष नारायणप्रसाद भण्डारीले भने।
अधिकांश संक्रमित प्रभावित जिल्लाबाट आएका
वडामा कोरोना देखिएका २६ जनामध्ये ३ जना त्यहिँका स्थानीय र बाँकी २३ जना प्रभावित जिल्लाहरुबाट आएका भएको वडा कार्यालयले जनाएको छ। प्रभावित जिल्लाबाट आएकाहरु संयमित नहुँदा कोरोना संक्रमणको अबस्था बढ्दै गएको वडाध्यक्ष नारायणप्रसाद भण्डारीले बताए।
नागरिक सचेत नहुँदा बढ्यो जोखिम
नागरिकहरु सचेत तथा संयमित नहुँदा कोरोनाको जोखिम बढ्दै गएको कार्यालयले जनाएको छ। अध्यक्ष भण्डारी भन्छन्, ‘हामीले त कोरोनाको जोखिमबारे सबैलाई सचेत गराइराखेका छौँ। जनता मान्नुहुन्न। हामीलाई कोरोना छैन जस्तो गरेर अनावश्यक रुपमा घरबाट बाहिर निश्किने प्रवृतिले जोखिम बढेको छ। मैले बुझ्न सकेको छैन।’
शनिबार पनि त्यो वडाका स्थानीयवासीहरू सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरुलाई आफ्नो टोलमा राखिएको भन्दै हुल बाँधेर विरोधमा उत्रिएका थिए। त्यो घटनाले पनि त्यहाँका स्थानीयहरू कति सचेत छन् भन्ने कुरा दर्शाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।