काठमाडौं-गाईभैंसीलाई लाग्ने पक्स भाइरस समूहकाे लम्पी स्कीन रोग काठमाडौं उपत्यकासहित दर्जनभन्दा बढी जिल्लामा फैलिएको छ। गत असारमा मोरङ जिल्लामा पहिलोपटक देखिएको यो रोग अहिले झापा, सुनसरी, रौतहट, काभ्रे, मकवानपुर, तनहुँ, कास्की र काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा फैलिएको पशु सेवा विभागले जनाएको छ।
विभागका महानिर्देशक डा वंशी शर्माका अनुसार विभिन्न चरणमा यी जिल्लाहरुबाट ल्याईएको नमुना परीक्षण गर्दा लम्पी स्किन पुष्टि भएको हो। यो रोग लागेका गाईभैंसीमा देखिने लक्षणबाटै रोग पहिचान गर्न सकिने भएका कारण पनि थप संक्रमण फैलन नदिन सजग हुनुपर्ने शर्माको भनाइ छ।
‘हामी सामान्य आँखाले नै यो रोग लागे-नलागेको पहिचान गर्न सक्छौं। शरीरका विभिन्न भागमा गिर्खा देखिने, उच्च ज्वरो आउने, आँखामा कचेरा देखिने, सिँगान बग्ने, मुखबाट फिज निकाल्नेजस्ता लक्षण देखिन्छन्,’ उनले भने, ‘संक्रमण भएका जनावर अरु जनावरको सम्पर्कमा आउन नदिन र चरन क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ।’
यो रोग लामखुट्टे, झिँगा, किर्ना, उपियाँ आदिबाट सर्छ। त्यसबाहेक संक्रमित गाईभैंसीको लसपसबाट पनि यो रोग फैलन्छ। यो रोगको ठोस उपचार नभएका कारण रोग देखिएको क्षेत्रबाट गाईभैंसी ओसारपसार रोक्ने, गोठ वरिपरिको वातावरण सफा राख्ने र झिँगा, लामखुट्टेजस्ता परजिवीबाट जोगाउनुपर्ने महानिर्देशक शर्मा बताउँछन्। यो रोगको संक्रमण अझै उत्कर्षमा जाने र कात्तिक, मंसीरपछि बिस्तारै घट्दै जाने आँकलन गरिएको छ।
संक्रमित गाईभैंसीमा १० प्रतिशतसम्म मृत्युदर देखिएको छ। त्यस्तै दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने र बाँझोपन पनि देखिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।