त्रासद समयले मानव अस्तित्वलाई नै खर्लप्पै निलुँला झैँ गरेर बडेमाको मुख बाइरहेछ। आज विश्वका प्रायः हरेक मानवको मनमा मृत्युको घण्टी बजिरहेको छ। संसारको सर्वोत्कृष्ट प्राणी, सर्वशक्तिमान प्राणी ‘मान्छे’ आँखाले देख्न नसक्ने एउटा सानो भाइरससँग महिनौंदेखि अन्त्यहीन युद्ध लडिरहेछ र विजय र पराजयको मोडमा निरीहप्रायः छटपटाइरहेछ।
औषधि विज्ञानलाई चुनौती दिँदै समय–समयमा मानव जीवनको परीक्षा लिन आइपुग्ने अनेक महामारीजस्तै अहिले करिब आठ महिनादेखि कोरोना भाइरसको महामारीले विश्वमा राज गरिरहेछ र मानव मस्तिष्कलाई हाँक दिइरहेछ र भनिरहेछ–‘ए मान्छे ! सक्छस् मलाई पराजित गर्न ?’
हमेशा झैँ पक्कै मान्छेले जित्ने छ कुनै न कुनै दिन यो कोरोनालाई। तर त्यतिन्जेल कति अमूल्य जीवन यसको शिकार बन्ने हुन् थाहा छैन। यो लेख तयार पार्दासम्म अर्थात् आठ महिनाको बीचमा विश्वमा सवा दुई करोडभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् भने करिब आठ लाखले ज्यान गुमाइसकेका छन्। नेपालमा पनि यसबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढिरहेको छ। तर पनि यो भयावह अवस्थाबाट अझै मान्छेले चेत्न सकेको छैन र लापरवाह देखिन्छ। बेफिक्र देखिन्छ, निष्फिक्र देखिन्छ।
विकसित देसहरू अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्माणमा जुटिरहेकाले पनि यो युद्ध जित्ने आसा सबैको मनमा पलाउनु स्वाभाविक हो। तर नेपालजस्ता विपन्न र अविकसित देसले भने उनीहरूको तुलनामा अझै धेरै क्षति बेहोर्नुपर्ने र खोपका लागि उनीहरूकै आसामा बस्नुपर्ने हुनाले पनि यो भाइरससँग बढी सावधानी अपनाउनु आवश्यक देखिन्छ।
तर बिडम्बना नै भनौं, हामी डराएका छैनौं र लापरवाह हिँडिरहेछौं। विज्ञहरू हामीलाई सावधान गराइरहेछन् तर पनि हामी सुनिरहेका छैनौं। विज्ञहरू हामीलाई भनिरहेछन्–‘कोरोना भाइरसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको मास्क लगाउनु र भीडभाड नगर्नु हो।’ तर विभिन्न बहानामा हामी अनावश्यक जमघट गरिरहेछौं, भीड बढाइरहेछौं।
हामीमध्ये धेरैलाई भीडभाडमा जाँदा वा अरु मानिससँग भेट्दा मास्क लगाउनु पर्छ भन्ने चेत छैन वा भनाैं हामी बेवास्ता गरिदिन्छौंं। दिनहुँ संक्रमणको दर बढ्दो छ। संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ। तर पनि चोकचोक र गल्लीगल्लीहरूमा मानिस जम्मा भएर गफ चुट्न छोडेका छैनन्। न त पसलमा जाने सबैले मास्क लगाएको देखिन्छ न पसलेले नै मास्क लगाएर बसेको देखिन्छ। लगाउनेहरूमा पनि अधिकांशको मास्क च्यूँडोमुनि सरेको हुन्छ। केही वा धेरैजसो यस्ता मानिसहरूका कारण समुदायमा संक्रमणको जोखिम बढिरहेको छ।
नेपाली समाजमा अब चाडपर्वहरू विस्तारै नजिकिँदै छन्। धार्मिक आस्थासँग जोडिएर आउने यस्ता चाडपर्वले मानिसहरूलाई सामुहिक रुपले जमघट हुन पे्ररित गरिरहने हुनाले पनि कोरोना भाइरसको संक्रमणको जोखिम अझै उच्च हुनसक्ने देखिन्छ। त्यसैले पनि मानिसमा उच्च सचेतना र सावधानीे जरुरत देखिन्छ। किनभने धार्मिक आस्थाले मानिसको जीवनलाई डो¥याएको मात्र हुँदैन, अन्धो पनि गराएको हुन्छ। धर्म, परम्ंपरा र संस्कृतिको नाममा गरिने विभिन्न अनुष्ठानहरू प्रायः एकाकी नभएर समूहगत हुने गर्छन्।
त्यसैले पनि संक्रमणको जोखिम कम गर्न सरकारले यस्ता पर्व र परंम्परामा जमघट नगर्न उर्दी जारी गरेको छ। मन्दिर, मस्जिदलगायतका धार्मिक स्थलहरू बन्द गराएको छ। तर पनि हामी सचेत बन्न सकिरहेका छैनौं। त्यसैले त साउन महिनाभरि सोमबारको दिन पशुपतिनाथ लगायतका प्रमुख शिवालयहरू बन्द रहे तर पनि अचेतन र धर्मभिरु महिलाहरू मन्दिरको गेटमै भए पनि झुम्मिएर आफ्नो आस्था प्रकट गरे। स्थानीय मन्दिर र शिवालयहरूमा त झन भीड कतिकति ! महिलाहरूलाई कोरोना भाइरस संक्रमणको डर भन्दा पनि देवताको डर धेरै भएजस्तो देखियो।
आज हिन्दु महिलाको महान पर्व तीज निरास–निरास घरघरमा प्रवेश गरेको छ। सदा झैं न ऊमंग छ न उल्लास। तर पनि हिन्दु मिथकले जनमनमा गहिरो प्रभाव पारेको तीज एउटा यस्तो पर्व हो जुन पर्व ‘पर्व’ मात्र नभएर हिन्दु धर्म र संस्कृति धान्ने अत्यन्त बलियो नाम्लोको रुपमा समाजमा स्थापित भएको छ जुन नाम्लो केवल महिलाले मात्र बोक्न सक्छन् र बोक्नुपर्छ अन्यथा हिन्दु धर्मको जग हल्लिन्छ, संस्कार र संस्कृति कमजोर बन्छ अनि महिलाले थामिदिएको पुरुषको आयु तलमाथि पर्नसक्छ। त्यसैले त तीज महिलाको लागि विशेष भएको छ किनकी यसमा खबरदारी गर्नेहरूमा पुरुषको लर्को देखिन्छ समाजदेखि सामाजिक सञ्जालसम्मै।
यो अत्यन्तै विषम समय हो। हाम्रा धार्मिक आस्था र पर्वहरूको आफ्नै विशिष्टता र महत्व हुँदाहुँदै पनि यसपटक हामी सम्पूर्ण महिलाहरू आफ्नो परिवार र आफ्नै सुरक्षाका लागि पनि मनलाई बलियो बनाएर, हृदयमा भक्तिभाव सुरक्षित राख्दै आफ्ना व्रत र अनुष्ठानहरू घरमै सम्पन्न गरौं। ईश्वर सर्वव्यापी हुनाले उनलाई हृदयले पुकारौं र आफ्नै घरको सानो पूजा कोठामा डाकौं। सच्चा हृदयले भक्तिभाव राख्यो भने ईश्वर खोज्न मन्दिर धाउनै पर्छ भन्ने पनि छैन। त्यसैले यसपालि हाम्रा आराध्यदेव महादेवलाई घरमै आव्हान गरि हृदयले दर्शन गरौं।
मानव जीवन अमूल्य छ। जीवन जोगिए धर्म पनि जोगिन्छ, पर्व, परम्परा, संस्कार र संस्कृति पनि जोगिन्छ। सधैँ हामी मन्दिर धाएकै हौं। यसपालि संकटको बेला भगवानलाई हाम्रै घर बोलाउँ, हामै्र घरमा स्वागत गरौंं। हरेक प्राणींमा व्याप्त ईश्वरले हामी सबैलाई एक्लाएक्लै पनि दर्शन दिनुहुने छ। त्यसैले यो पटकको तीजमा मन्दिर र मन्दिरका गेटमा झुम्मिएर कोरोना संकटलाई बढावा नदिऊँ।
सधैँ तीजमा माइतीको आस गर्ने र माइतीको आँगन टेक्न आतुर हुने छोरीचेलीहरूले यसपटक आफ्ना रहरलाई थाँती राखौं किनकि यसपटक हामी माइतीमा जाँदा खुसीमात्र होइन, महामारी पनि लिएर जान सक्छौं। बुढा बाबाआमाको निम्ति त झनै संकट बन्ने छौंं हामी। उहाँहरूको जीवनको लागि पनि हामीले यो त्याग गर्नैपर्छ।
त्यस्तै तीजमा घर–घरमा गरिने जमघट पनि यो वर्ष बन्द गरिनु पर्छ। किनकि हाम्रो घरमा आउनेहरूले थाहै नपाई हाम्रो परिवारमा संक्रमण छोडेर जान सक्छन्। हुन त महिनौंदेखि रमझम बोकेर कुदमकुद गर्ने तीजलाई घरभित्रै सीमित गर्दा धेरैलाई खल्लो लाग्ला नै तर पनि जीवनभन्दा ठूलो चाड हुँदैन। संकटको बेला व्यक्ति स्वयंं नै सावधान रहनु प्रमुख हुन आउँछ। कोरोना महामारीसँगको युद्ध केवल सरकारको मात्र होइन। हामी यसबाट कसरी सुरक्षित रहने भन्ने कुरा हाम्रै हातमा छ।
आज तीव्रतर रुपमा बढ्दै गएको संक्रमणका कारण अस्पतालहरू संक्रमितले भरिएको भन्ने सुन्नमा आइरहेको छ। यस अवस्थामा संक्रमण अझै भयावह बन्दै गएमा सरकारले हात उठाउने लगभग निश्चितजस्तै भएको सरकारको गतिविधिले देखाइरहेको छ। अझ चिन्ताको कुरा त यो छ कि अहिले संक्रमितको उपचारमा रातदिन खटिएका कैयौं स्वास्थ्यकर्मी नै संक्रमणमा परेका छन्। उनीहरूको जीवन संकटमा पर्नु भनेको हामी आफै संकटमा पर्नु हो। त्यस्तै संक्रमण व्यवस्थापनमा अग्रपंक्तिमा रहेर काम गरिरहेका धेरैजसो सुरक्षाकर्मीहरू पनि संक्रमित बनेको अवस्थामा हामी नागरिक आफैं सजग र सचेत बनेर आफ्नो ज्यान आफंै जोगाउनुको बिकल्प देखिंदैन। त्यसैले यो वर्ष आ–आफ्नै घरमा चाडपर्व मनाऔं, बाँचे त अर्को साल छँदैछ नि !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।