बारपाक (गोरखा)– ठ्याक्कै तीन वर्षअघि बारपाक मान्द्रेकी रेजिना गुरुङले भूकम्पमा बुवा गुमाइन्। बारपाक केन्द्रबिन्दु बनाएर आएको ७ दशमलव ८ म्याग्निच्युडको विनाशकारी भूकम्पले उनको घरसमेत ध्वस्त बनाइदियो।
२०७२ बैसाख १२ को भूकम्पमा गोरखा जिल्लामा मात्रै ४ सय ७२ जनाले ज्यान गुमाए भने ६१ हजार ३ सय ९३ निजी घरहरु भत्किए।
२६ वर्षीया गुरुङ यतिबेला घर बनाउनका लागि बल्ल जग खनिरहेकी छन्।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाका प्रमुख इन्जिनियर रोशन श्रेष्ठका अनुसार हालसम्म घर निर्माणका लागि ४३ हजार ९ सय ११ ले दोस्रो किस्ता र १८ हजार ४ सय ३ जनाले मात्र तेस्रो किस्ता रकम बुझेका छन्। निजी आवास पुन:निर्माणले गति लिन नसक्दा तीन वर्ष पुग्दासमेत धेरैजसो भूकम्पपीडित अझै पनि टहरामा बस्न बाध्य छन्।

अनुदान पाउनै सास्ती
आवास पुनःनिर्माणको अनुदान पाउन झन्झटिलो प्रक्रियाका कारण भूकम्पपीडितले सास्ती खेप्नुपरेको छ। गोरखाको दुर्गम उत्तरी चुमनुब्री गाउँपालिकाका बासिन्दाहरु अनुदानको किस्ता लिन सात दिनसम्म हिँडेर गोरखाको आरुघाट आउन बाध्य छन्। पाँच दिनभन्दा बढी समय लगाएर आरुघाट आए पनि बैंकमा पालो कुर्नुपर्ने अवस्था रहेको गोरखा छेकम्पारका टाँसी लामाको गुनासो छ।
मौलिकता फेरिएको बारपाक
भूकम्पको केन्द्रबिन्दु बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए। यहाँ १ हजार ३ सय १ निजी घर भत्केकोमा अहिलेसम्म ९ सय ३८ जनाले दोस्रो किस्ता र ५ सय ४३ जनाले तेस्रो किस्ताबापतको रकम बुझिसकेका छन्। बारपाकमा अहिले निजी आवास पुनःनिर्माणको काम धमाधम भइरहेको छ। विगतमा ढुंगाको छानो र ढुंगाकै गाह्रो भएको एकै स्वरुपको परम्परागत मौलिक घरका लागि पहिचान बनाएको बारपाक पुनःनिर्माणपछि भने फेरिएको छ।
हाल बारपाकमा रड, सिमेन्टको प्रयोग गरेर प्रायः पक्की घरहरु बनिरहेका छन्। भूकम्पले यहाँ केही संख्यामा रहेका पक्की घर नभत्किएपछि त्यस्ता घर बलियो हुने बुझाइका कारण पक्की घर बन्ने क्रम बढेको छ। तर यसले बारपाकको विगतको पहिचान छायाँमा पारेको बारपाकका स्थानीय जितबहादुर घले बताउँछन्।
लाप्राकमा बन्दै नमुना बस्ती
लाप्राकमा भूकम्पपीडितका लागि गैरआवासीय नेपाली संघको सहयोगमा नमुना बस्ती निर्माण भइरहेको छ। लाप्राकको पुरानो बस्ती पहिरोको जोखिमको कारण बस्नै नमिल्ने भएपछि लाप्राककै गुप्सीपाखामा ५ सय ७३ घरको निर्माण कार्य भइरहेको छ। निर्माण सम्पन्न गरेर छिट्टै हस्तान्तरण गर्ने लक्ष्य राखिएको भए पनि भौगोलिक विकटता तथा मौसमी प्रतिकूलताको कारण काममा ढिलाइ भएको संघका साइड इन्जिनियर कर्फूराम रन्जितकारले बताए। उनका अनुसार आगामी दसैंसम्म निर्माण सम्पन्न गरी स्थानीयलाई घर हस्तान्तरण गरिने लक्ष्य लिइएको छ।
ऐतिहासिक तथा धार्मिक संरचना बन्दै
भूकम्पबाट गोरखामा रहेको ऐतिहासिक गोरखा दरबार र मनकामना मन्दिरमा पनि क्षति पुगेको थियो। मनकामना मन्दिरको पुनःनिर्माणको काम लगभग सकिएको छ भने गोरखा दरबारको पुनःनिर्माणको काम भने पुरातत्व विभागले तीन वर्षपछि बल्ल सुरु गरेको छ।

विद्यालय अझै टहरामै
आर्थिक स्रोतको अभावमा भूकम्पका कारण क्षतिग्रस्त ८० वटा विद्यालयको पुन:निर्माण अझै हुन सकेको छैन। भूकम्पका कारण जिल्लामा ५ सय १३ वटा विद्यालय भवन भत्केका थिए। विद्यार्थीको संख्याको आधारमा विद्यालयलाई समायोजन गरेपछि पुनःनिर्माण गर्नुपर्ने ४ सय ४३ विद्यालय मध्ये हालसम्म २ सय ३१ विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भइसकेको छ। १ सय ५० विद्यालयको भवन निर्माणाधीन रहेको र ८० वटा विद्यालय भवन पुन:निर्माण लागि स्रोत नै जुट्न नसकेको जिल्ला कार्यान्वयन इकाइले जनाएको छ।
भौगोलिक कठिनाइ, पूर्वाधार, निर्माण सामाग्री तथा जनशत्तिको अभाव एवं सरकारको ढिलासुस्तीका कारण भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा पुनःनिर्माणको कार्य सन्तोषजनक ढंगबाट अगाडि बढ्न सकेको छैन। जसको प्रत्यक्ष असर स्थानीयलाई परिरहेको छ।

कमजोर नीति तथा स्थानीय तहको फितलो समन्वयका कारण पनि धेरै पीडितहरु हालसम्म पनि टहरामा बस्न बाध्य छन्। कतिपयलाई त भत्किएको घर नै टालटुल पारी बस्नुपर्ने बाध्यता छ। अन्योलको अवस्थामा बस्न बाध्य पीडितहरु भन्छन्, 'भूकम्पले दिएको पीडामा सरकारले थप पीडा थपिदिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।