काठमाडौं- केही दिनदेखि तराईका जिल्लाहरुमा कोरोना संक्रमण भयावह रूपमा फैलिरहेको छ। उच्च जोखिममा रहेको जिल्लामा पर्सा पनि पर्छ। भारतबाट आउनेहरु बेप्रवाह हिँड्दा सुरु भएको कोरोना संक्रमण अहिले समुदायस्तरमा पुगेको छ। म पोखरीया नगरपालिकाको मेयर भएकाले कोरोनाको जोखिमलाई हेरेर घरमा बस्न सक्ने कुरा भएन। दैनिक रूपमा जनताका पीरमर्का बुझ्न हिँडिरहेको थिएँ। यसरी म हिँडिरहँदा मेरो घर र परिवार जोखिमा पर्यो।
सुरुमा मेरो नगरपालिकाका केही वडाध्यक्षहरु कोरोना संक्रमित भए। अस्पताल, जनता र अन्य व्यक्तिहरुसँग धेरै सम्पर्क गरिहनु पर्ने भएकाले म सुरुदेखि नै जोखिममा थिएँ। जनताको मतले निर्वाचित भएकाले जोखिम छ भनेर जिम्मेवारीबाट पर भाग्न सकिएन।
हाम्रो नगरपालिका भित्र ४६ जना संक्रमित छन्। पाँचजना वडाध्यक्षहरु कोरोना संक्रमित भइसकेकाले म पनि उच्च जोखिममा छु भन्ने महसुस भइरहेको थियो। मसँगै काममा खटिएका एकजना वडाध्यक्षलाई सोमबार कोरोना देखिएपछि परीक्षण गराएको थिएँ। मेरो पनि रिपोर्ट कोरोना पोजेटिभ आयो।
श्रावण २६ गते मसहित ३४ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि टेकु पठाइएको थियो। टेकु प्रयोगशालाले आइतबार नतिजा पठाउँदा ३३ जनामा सङ्क्रमण देखियो।
सङ्क्रमित हुनेमा मसिहत वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव, अस्पतालका अन्य २ चिकित्सक, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी हुनुहुन्छ। पोखरियाका एकजना पत्रकार पनि कोरोना संक्रमित भएका हुनुहुन्छ।
मेरो परिवारमा मात्र १४ जनालाई कोरोना पोजेटिभ आएको छ। नगरपालिकाका एक वडाध्यक्षमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा मेयर र उनको परिवारका सदस्यहरुमा पनि कोरोना पोजेटिभ देखिएको हो। मेयर रौनियारसँग निकट सम्बन्ध रहेका अन्य १० जनामा पनि संक्रमण देखिएको छ।
मेरो परिवारका १४ जनामा संक्रमण देखिएको छ। बुबाआमा, दुईजना दाई र दुवै भाउजु, बहिनी, दुईजना भाई र तीनवटा भतिजा र एउटा भतिजीसहित संक्रमित भएका छन्।
बुवाको मुटुको समस्या छ। हाम्रो अवस्था सामान्य छ। छिमेकी र सबैको सहयोग पाइएको छ। हाम्रो टोलबासीले केही समस्या सिर्जना गर्नुभएको छैन। हामी बाहिर निस्केका छैनौं। घरमा सबैसँगै मिलेर बसेकाले कुनै समस्या भएको छैन।
नगरपालिका काम अहिले घरबाटै चलाइरहेको छु। सबैसँग फोन र इन्टरनेटको माध्यमबाट नियमित सम्पर्कमा छु। उपमेयरले धेरै जिम्मेवारी लिनुभएको छ। उहाँसँग पनि मैले कुराकानी गरिरहेको छु। प्रशासकीय अधिकृत र अन्य कर्मचारीसँग पनि कुरा भइरहेको छ। नगर र वडाहरु अहिले कोरोना महामारी कारण बन्द जस्तै छन्। केही सिमित कर्मचारीहरुले मात्र चलाएका छौं। स्थानीय जनताको कामका लागि कर्मचारी र जनप्रनिधिहरू खटिइरहनु भएको छ।
सामाजिक दूरी पालना गरौं तर नडराऔं भन्न चाहन्छु।
मलाई र मेरो परिवारलाई कोरोना संक्रमण भएपनि डराएका छैनौं। कोरोना लाग्ने बित्तिकै तत्काल मृत्यु हुने होइन। यो ठीक हुन्छ। म र मेरो परिवार सबैले कोरोना जितेर फेरि चाँडै जनताको सेवामा फर्किने वाचा नगरबासीसँग गर्न चाहन्छु। यो रोगसँग डराउने होइन। सचेत रहने, सामाजिक दूरी पालना गर्ने, मास्क लगाउने र आत्मबल बलियो बनाउने गर्नुपर्छ। यो घातक रोग होइन, त्यसैले पनि आत्तिनु हुँदैन। कोही पनि नआत्तिनु होला। रोगबाट दीर्घरोगीहरुलाई मात्र समस्या हुने भएकाले उहाँहरुलाई पनि सचेत हुन म आग्रह गर्दछु।
म संक्रमित म आफै परिवारसहित आइसोलेसनमा बसेकाले नगरको धेरै चिन्ता भएको छ। संक्रमिण रोक्न कन्ट्याक्ट ट्रेसिङ नियमित चलिरहेको छ। यसलाई अझै निरन्तरता दिइने छ। अबको विकल्प भनेको होम आइसोलेसन मात्रै हो। अस्पताल छैन। विरगञ्जको नारायाणी अस्पतालमा पनि स्थान छैन। पर्सा बाहेक अन्य जिल्लाबाट पनि उक्त अस्पतालमा बिरामी आउने भएकाले उसले मात्र उपचार गर्न अब सम्भव देख्दिनँ।
केन्द्रबाट सहयोग भएन
कोरोना महामारी रोक्न स्थानीय तहले मात्र सम्भव छैन। अब छिट्टै अर्को आइसोलेसन सेन्टर निर्माण गर्नुपर्ने भएको छ त्यसका लागि केन्द्रको सहयोग नभई सम्भव छैन। अब कोरोना नियन्त्रण स्थानीय तहबाट मात्रै गर्न सकिँदैन। संघ र प्रदेशले नै सहयोग गरेर काम गर्नुपर्छ।
प्रदेश सरकारले केही सहयोग गरेको छ तर केन्द्र सरकारले सुको पनि दिएन। प्रदेशले सुरुमा १५ लाख रुपैयाँ क्वारेन्टाइन र आइसोलेन निर्माणका लागि दिएको थियो। प्रदेशले दिएको पैसालले एम्वुलेन्स खरिद गरियो। बाँकी पैसा र नगरसँग भएको पैसाले ३७ लाखको आइसोलेन सेन्टर बनायौं।
विद्यालयलाई आइसोलेसन सेन्टर बनाऔं
कोरोनाका कारण विद्यालय सञ्चालन हुन नसक्ने भएकाले विद्यालयहरुलाई नै अस्थायी आसोलेसन सेन्टरको रुपमा चलाउनुपर्ने छ। सबै वडा र नगरमा सरकारको भवन नभएकाले यो नै उत्तम विकल्प हो। केन्द्र सरकारले प्रत्येक विद्यालय खोल्ने कुरा गरेपनि अव यसलाई स्थगित गरेर अस्थायी अस्पताल बनाइनुपर्छ। प्रत्येक जिल्लामा ५ हजार बेडको अस्पताल बनाउनुपर्ने आवश्यकता देखिएको छ।
होम आइसोलेसन राख्ने कुरा पनि मापदण्ड निर्धारण हुनुपर्छ। लक्षण नभएका मानिसलाई राख्दा त ठिकै हो लक्षण भएकै बिरामी राख्नुपर्ने भयो भने त्यो निकै कठिन हुनेछ।
अब विस्तारै लक्षण भएका बिरामी देखा पर्न थालेकाले अवस्था भयावह नहोला भन्न सकिन्न। संक्रमित दैनिक रुपमा बढिरहेकाले प्रदेश २ कै अवस्था भयावह छ।
खुला सीमाबाट समुदायमा पुग्यो
कोरोना फैलिनुको मुख्य कारण खुला सीमा हो। खुला सीमामा कडाइ गर्न नसक्दा यो समुदायमा पुगेको हो। सीमामा सुरक्षाकर्मी राखेपछि उचित कडाइ हुन सकेन। सरकारले साउन ५ गते लकडाउन खोलेपछि भारतबाट ह्वात्तै मानिसहरूको प्रवेश भयो। यसरी प्रवेश भएका मानिसले परीक्षण गरेनन्। उनीहरू समुदायमा सामाजिक दूरी, मास्क लगाउने, साबुनपानीले हात धुने जस्ता सुरक्षाका उपाय अवलम्बन गरेनन्। यी मानिसबाट विस्तारै समुदायमा पुग्यो। अब यो अझै विस्तार हुने देखिन्छ। समुदायमा चेतना नआएसम्म यसले महामारीको भयावह अवस्था लिने निश्चित छ।
(रौनियार पर्सास्थित पोखरिया नगरपालिकाका मेयर हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।