राष्ट्रकवि माधव घिमिरे अब हामीबीच रहनुभएन। यो दु:खद समयमा आफूसँग सम्बन्धित केही कुरा लेख्न चाहेँ।
राष्ट्रकविको जीवनयात्राको समयमध्ये विसं २००५ देखि २००८ सम्मको कामको जानकारी दिने लेखोट र विवरणहरु त्यति पाइदैनन्। उहाँसगको बसाईमा मैले यो कुराको जिज्ञासा राख्दा उहाँ यो समयलाई आफूले मातृभुमिलाई दिएको समय भन्नुहुन्थ्यो। यो समय लमजुङ बसाईसँग सम्बन्धित छ, त्यसैको आज छोटो चर्चा गर्न खोजेँ।
बिस २००४ मा उहाँ र कप्तान प्रेमबहादुर थापा (वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाका जिजु हजुरबुबा) ले श्री ३ पदमशमसेरसँग लमजुङमा एउटा स्कुल सञ्चालनका लागि बिन्तिपत्र हाल्नुभएछ। सोही साल आधार स्कुल सञ्चालनको ‘हुप्र’ भएपछि उहाँ लमजुङतर्फ जानुभएको रहेछ।
स्कुलको हुप्र लिएर लमजुङ गएपछि आफ्नो जन्मस्थान बाहुनडाँडा वा मावली दुराडाँडामा स्कुल स्थापनाको दबाब हुँदाहुँदै राणाशासनको विरोधको बिम्ब प्रयोग गर्दै राजवंशको उत्पत्तिस्थान लमजुङ दरबार र लमजुङ कालिका मन्दिरमा (जुन गाउँसहरमा अद्यपि छ) स्कुल स्थापना गर्नुभयो (जुन लमजुङकै पहिलो स्कुल मानिन्छ)।
त्यहाँ राष्ट्रकविले २००८ सम्म समय दिनुभयो। लमजुङको मध्यमागमा पर्ने यो ठाउँमा स्थापित यो स्कुलमा पहिले आफू एक्लै र पछि ७ जना गुरुहरुले लमजुङमा गर्नुसम्म शैक्षिक योगदान गर्नु भएको पाइन्छ।
उहाँले त्यो स्कुल स्थापना र सञ्चालन गर्दा गरेका दुःख र रोचक घटनाहरु अहिले पनि लमजुङ जिल्लामा प्रेरक कथाको रूपमा बताउने गरिन्छ। लमजुङमा अहिले पनि राष्ट्रकवि माधव घिमिरेलाई जेठा गुरु भनिन्छ। पछि माइलागुरु टीकाराम घिमिरे (बाहुनडाँडा), साइलागुरु तिर्थराज शर्मा (दुराडाडा), रामनाथ शर्मा (कास्की) वीरेन्द्र शर्मा (गोर्खा), उमानाथ शर्मा (गोर्खा) आदिले शिक्षा क्षेत्रमा गर्नुभएको योगदान अतुलनीय छ।
अहिले पनि यी गुरुहरुले गुरुकुलबाट आधुनिक शिक्षातर्फ रूपान्तर गरेको, गाउँगाउँ गएर विद्यार्थी ल्याउदै शिक्षा सबै जातजातिको पहुँचमा पुर्याएको र समाज परिवर्तनका लागि गरेको योगदानकै कारणले लमजुङ भूगोलका कारण अलिक अप्ठ्यारो भए पनि शिक्षाको हिसाबले सहज र अगुवा हुन सक्यो।
सायद सबै पुस्ता यसैमा गर्ब गरिरहेको छ। राष्ट्रकवि लमजुङबाट पढेर आउने सबैलाई ‘आफूले रोपेर आएको समि रुखको पालुवा’ भन्ने गर्नुहुन्थ्यो। सामीप्यताको त कुरै भएन, लमजुङको त्यस्तो कुनै गाउँ थिएन उहाँलाई जिजुबाजेको नाम भन्नेबित्तिकै अरु केही भन्नु परोस्। परिवारको इतिहास नै उहाँसग हुने गर्थ्यो। मेरो हकमा त म जहाँ जन्मेँ, त्यही उहाँले ५ वर्ष गुजारेको ठाउँ थियो।
लमजुङतिर हामी विद्यालय पढदासम्म दैनिक बिहान राष्ट्रिय गान र एउटा जेठा गुरु (माधव घिमिरे) को राष्ट्रिय गीत अनिवार्य गाउनु पर्थ्यो (अचेल के छ कुन्नि?)। सन्जोग जेठागुरुको ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ को एक शब्द सापटी लिएर मेरो हेडसरले मेरो नाम राखी दिनुभएछ।
मेरो नाम हाम्रो हेडसर बुद्धिबहादुर बुढाथोकीले राख्नु भएको रहेछ। अहिले पनि भेट्नेबित्तिकै सधैं मेरो नाम जोगीबाट किन अर्को नाम राखिदिनुभएको भन्ने गर्छु। हुन त मेरोमात्रै होईन लगभग सबै विद्यार्थीको नाम उहाँले राखेको भन्ने गरिन्छ। मेरो हकमा त बिहान राष्ट्रिय गीत गाउनेबित्तिकै मलाई भर्ना गर्न आमा जाँदा जोगीजस्तै सुनिने ज्योति राखेको भन्नुभएको थियो।
मेरो नाममात्रै होईन, लमजुङमा लागि यी महापुरुषहरुको कारणले सामाजिक र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन भएको छ। लमजुङतिर कुनै कार्यक्रम हुनेबितिकै जिज्ञासा र चासो राख्ने राष्ट्रकवि अब हामीबीच रहनुभएन। त्यो मायालु सामीप्यताको अब सधैं अभाव खड्किने भयो।
राष्ट्रकविले देशका लागि त असिम कामहरु गर्नुभयो। आफ्नो जन्मभूमिमा अप्ठ्यारो अवस्थामा पनि सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तन गरेर देखाउनु भयो। हामी सधैं आभारी थियौं र रहनेछौं। तपाईंलाई सधैं सम्झिरहनेछौं। हजुरको बैकुण्ठवास होस् आत्माले चिरशान्ति पाओस्। आदरणीय जेठागुरुलाई हामी सबै पालुवाको तर्फबाट हार्दिक श्रद्धाञ्जली।
बानियाको फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।