सिओल- दक्षिण कोरिया प्रवेश गर्ने विदेशीलाई प्रवेश गरेको १४ दिनभित्र कोरोना संक्रमणको पुष्टि भएमा सम्पुर्ण उपचार शुल्क स्वयं बिरामीले नै व्यहोर्नुपर्ने भएको छ।
अगस्ट २४ देखि कोरिया प्रवेश गर्ने नेपालीलाई प्रवेश गरेको १४ दिनभित्र कोरोना पुष्टि भएमा अस्पताल भर्ना शुल्कदेखि खानेबस्ने समेतको शुल्क स्वयं बिरामीले व्यहोर्नुपर्ने छ।
तर वैधानिक रुपमा बसोबास गरिरहेका विदेशीका लागि भने सम्पुर्ण उपचार खर्च आफ्ना नागरिक सरह सरकारले नै गर्ने बताइएको छ।
अगस्ट २४ देखि नेपालीलाई पनि सोहीअनुरुप नियम लागू हुने कोरियाको प्रकोप सुरक्षा तथा रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै नेपालस्थित कोरियाली दूतावासले जनाएको छ।
मंगलबार एक सूचना प्रकाशित गर्दै दूतावासले सो नियम लागू भएपछि कोरिया प्रवेश गर्ने नेपालीले १४ दिनभित्र कोरोना पुष्टि भएमा सम्पुर्ण उपचार खर्च स्वयंले व्यहोर्नुपर्ने स्पष्ट पारेको छ।
यसअघि सोमबार कोरियाली सरकारले रोग नियन्त्रणका लागि निर्देशित नियमको अवज्ञा गर्ने कोरियालीलाई समेत उपचार शुल्क स्वयंले तिर्नुपर्ने नियम लागू भएको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।