काठमाडौं- नेपालगञ्जमा कोरोनाको असर अन्यत्रको जस्तो भयावह त छैन। तर हामीले दैनिक डेढ सयको जाँच गर्दा १०/१५ जना कोरोना सङ्क्रमित देखिएका छन्। कोरोना भाइरस न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका लागि हामीले प्रोटोकलअनुसार काम गरिरहेका छाैं।
अहिलेसम्म हामीले सीमानाबाट आवातजावत गर्नेलाई उनीहरुको नाम टिप्ने, क्वारेन्टाइनमा राख्ने र शंका लागेकालाई चेकजाँच गर्ने गरिरहेका छाैँ। सङ्क्रमित देखिएपछि कन्ट्याक्ट ट्रेसिङ पनि गरिरहेका छाैँ। नेपालगञ्ज उपमहानगरमा संक्रमित भेटिएका ९६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १ सय ८६ जना सङ्क्रमित उपचारका क्रममा छन्।
स्वास्थ्य सामग्रीको अभाव पनि छ। हामीसँग ८ वटा भेन्टिलेटर मात्र छन्। बाँकेको भेरी अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी गरिएको छ। यो लेभल २ अस्पताल हो। यतिन्जेल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारको सहयोगमा कोभिडका बिरामी चेकजाँच गरिँदै आएको थियो।
सङ्क्रमित बढ्दै जाने अवस्था देखिएको कारण कोभिडका लागि छुट्टै अस्पताल बनाउन लागिएको हो। जसमा ४० बेडको आइसोलेन सेन्टर, ४५ बेडको शंकास्पद बिरामी राख्ने र ५० बेडको पोजेटिभ बिरामी राख्ने संरचना तयार गरिएको छ।
हाम्रो वित्तीय स्रोत अन्यत्रको जस्तै हो। कोभिड-१९ को लागि भनेर स्पेसल्ली केही छुट्याएका छैनौँ। तर आवश्यक परे अनुसारको रकम निकाल्न कन्जुस्याँइ गरेका छैनौँ। प्रदेश सरकारले यतिन्जेलसम्म सहयोग गरिरहेको छ।
कोरोना सङ्क्रमित भेटिएपछि त्यसको कन्ट्याक्ट ट्रेसिङको लागि सम्पर्कमा आएकालाई परीक्षण गर्ने तयारी गरेका छौँ। सकेसम्म भिडभाड हुन नदिन उपमहानगरले प्रयास गरिरहेको छ। समुदायस्तरमा विस्तारै फैलँदै गएकाले हामीले थप व्यवस्था गर्नुपर्ने भएको छ। हामीले अर्थतन्त्र बिग्रन दिन पनि भएन। लकडाउन गरिएको छैन। सावधानी अपनाउँदै काम गरिरहेका छौँ। आर्थिक स्थिति डुब्न दिन हुँदैन। सावधानी अपनाउने काम गर्ने हो।
(नेपालगञ्जका मेयर राणासँग गरिएको कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।