काठमाडौं- दैनिक औसत मागभन्दा बढी तरकारी काठमाडौं उपत्यका भित्रिरहेको भएपनि मूल्यमा अचाक्ली वृद्धि देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन र मूल्य विश्लेषणको काम सुरु गरेको छ।
विभागले तरकारीको मूल्य विश्लेषण गर्नका लागि सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिभित्रका २ वटा पसलहरुबाट विभिन्न वस्तुको थोक र खुद्रा मूल्यको विवरण लिएको छ। विभागले भट्टराई भेजेटेबल सप्लायर्स र समृत सब्बी भण्डारबाट फलफूल र तरकारीको मूल्यको जानकारी लिएको थियो। कुन वस्तुको कति मूल्य बढेको हो भन्नेबारे मूल्य विश्लेषण र त्यसको कारणबारे विभागले अध्ययन गरिरहेको सूचना अधिकारी रवीन्द्र आचार्यले बताए।
विभागले कालीमाटीभित्रका ५ वटा पसलमा अनुगमन गरेको भएपनि २ वटा पसलबाट मूल्य विवरण लिएको थियो। ती दूई पसलले बिक्री वितरण गर्ने वस्तुको मूल्यमा पनि तुलनात्मक रुपमा फरक देखिएको छ। विभागले आलु, प्याज, भण्टा, लौका, पिडालु, हरियो भटमास, बन्दा, काँक्रो, गोलभेडा, कटहरलगायत वस्तुको मूल्य संकलन गरेको थियो।
काठमाडौं उपत्यकामा दैनिक औसत ४ देखि ५ लाख मेट्रिक टन तरकारी तथा फलफूलको माग रहेको कालिमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ। तर पछिल्लो तीन–चार दिनयता औसत मागभन्दा बढी तरकारी कालिमाटीमा आइरहेको छ। गत शनिबार ९ लाख २६ हजार ५ सय मेट्रिक टन, आइतबार ७ लाख १४ हजार मेट्रिक टन र सोमबार ६ लाख २८ हजार मेट्रिक टन तरकारी तथा फलफूल कालिमाटी बजारमा आइपुगेको छ।
गतहप्ता निरन्तर वर्षात्का कारण देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण राजमार्ग अवरुद्ध भएर तरकारी आपूर्तिमा पनि केही समस्या देखिएको थियो। तर अहिले अवस्था सामान्य भइसक्दा पनि बजारमा तरकारीको मूल्य भने निरन्तर बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।