काठमाडौं- चलचित्र समाजको ऐना हो। श्रव्य/दृष्यमा समेटिएका कुरा अन्य माध्यमको भन्दा बढी वस्तुगत र प्रभावकारी हुन्छ। विषय भद्दा र अतिरञ्जित हुँदा त्यसले समाजलाई बढी बेफाइदा गर्छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा पनि चलचित्रमा भद्दा हुन नहुनेमा जोड दिन्छन्।
चलचित्रमा समेटिएका विषयवस्तु समाजलाई भारी बोक्ने खालको हुन नहुनेतर्फ उनले चलचित्रकर्मीको ध्यानाकर्षणसमेत गराएका छन्। ‘कथा समाजका लागि बोझ बन्न हुँदैन, हाँस्दाहाँस्दै, हसाउँदा हसाउँदै सन्देश दिन सक्नुपर्छ,’ चलचित्र विकास बोर्डमा शुक्रबार राजधानीमा आयोजना गरिएको एक समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री डा खतिवडाले भने, ‘चलचित्र मनोरञ्जनात्मक साथै सन्देशमुलक हुनुपर्छ।’
मन्त्री खतिवडाले विसं २०२४/२५ सालमा आफूले हेरेको नेपाली चलचित्र अहिले पनि ताजा स्मरणमा रहेको सन्दर्भ जोड्दै चलचित्रको महत्व यसबाट पनि प्रष्ट हुने बताए। मुलुकको पहिलो ‘आमा’ चलचित्रको सानो अंश प्रस्तुत हुँदा मन्त्री खतिवडा आफ्नो विगत सम्झन पुगेका थिए।
उनले मुलुकको परिवर्तन र सामाजिक मूल्य मान्यतासम्बन्धी अमिट छाप राख्ने भएकाले चलचित्र समाज सचेतनाका लागि चलचित्र प्रभावकारी माध्यम भएको समेत बताए। चलचित्रले गौरवपूर्ण इतिहास बोक्ने र त्यसको संरक्षण पनि उत्तिकै जरुरी रहेको उल्लेख गरेका थिए। ‘समाजलाई सन्देश दिन श्रव्यदृष्य सामग्री बढी ओझपूर्ण हुन्छ। सञ्चारको सशक्त माध्यम चलचित्रमा भद्दा र नकारात्मक सन्देश प्रवाह भयो भने त्यसले आम समुदायलाई नै नकारात्मक बनाइदिन्छ’ उनले भने।
चलचित्रको स्क्रिप्टदेखि नै समाजको मूल्य, मान्यता, संस्कार, संस्कृति र मुलुकको गौरवपूर्ण इतिहासलाई तथ्यपरक ढङ्गबाट सहज रुपमा प्रस्तुत गर्न सक्नुपर्छ। सम्बोधनका क्रममा मन्त्री खतिवडाले त्यसतर्फ सङ्केत गर्दै चलचित्रकर्मीलाई विशेष ख्याल गर्न सुझाव समेत दिए।
मन्त्री खतिवडालाई स्वागत गर्न चलचित्र विकास बोर्डले उक्त आयोजना गरेको थियो। सोही क्रममा उनले बोर्डको स्थलगत निरीक्षणका साथै कोभिड–१९ का कारण मुलुकको चलचित्र क्षेत्रमा परेको असरका विषयमा जानकारी लिएका थिए।
सरकारका प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले विश्व नै कोभिड–१९ को प्रभावबाट अछुतो नरहेको बताए। जोखिम न्यूनीकरण गर्दै आर्थिक गतिविधिलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने मुलुकसामु चुनौती खडा भएको मन्त्री खतिवडाले धारणा राखेका थिए। ‘सरकारले स्वास्थ्य जोखिम कम भएर लकडाउन हटाएको होइन, दैनिक जनजीवनमा नै अप्ठ्यारो परेकाले सहजीकरण गरिएको हो, आम नागरिक थप सचेत हुनु जरुरी छ,’ मन्त्री खतिवडाले भने। चलचित्र क्षेत्रमा जस्तो असर परेको छ मुलुकको अर्थतन्त्रमा उस्तै असर परेको स्मरण गराउँदै मन्त्री खतिवडाले लगानी ह्रास हुन नदिन र पूँजी क्षय हुन नदिन सरकारले आवश्यक व्यवस्थापन गर्ने आश्वासन समेत दिए।
कार्यक्रममा विदेशी चलचित्रकर्मीलाई छायाङ्कनमा आउँदा कर छुट गर्नुपर्ने विकास बोर्डको मागप्रति सङ्केत गर्दै मन्त्री खतिवडाले नेपालको प्राकृतिक वैभव सित्तैमा उपयोग नहोस् भनेर कर लगाएकाले सबै कर छुट हुन नसक्ने स्पष्ट पारेका थिए। अहिलेको समय भनेको चलचित्रकर्मीले स्वयत्तताका लागि नीति नियम बनाउने र परिमार्जन गर्ने बेला भएको भन्दै त्यसतर्फ ध्यान दिन उनले सुझाव दिएका थिए।
उनले स्टोरी बैंक, डिजिटलाइजेसन, सेन्सर प्रणालीलाई व्यवस्थित गर्ने विषयमा भने सञ्चार मन्त्रालयले आवश्यक सहयोग गर्ने आश्वासन समेत दिए। यस्तै चलचित्रकर्मीको वृत्ति विकास जीवनवृत्तिका सवालमा सरकारले पनि सम्झने उनको भनाइ थियो। मन्त्री खतिवडाले बिस्तारै धेरै सेवाहरू सहजीकरण गर्दै गएकाले उचित स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र हल सञ्चालन गर्ने विषयमा सरकारले ध्यान दिएको समेत बताए।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जतिसुकै चुनौती भए पनि मुलुकमा चलचित्र क्षेत्रलाई माथि उठाउनुको विकल्प नभएको बताए। उनले चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि पनि बोर्डले केही गर्नुपर्ने आवश्यकता महसुश गरेको बताए। दाहालले कोरोनाका कारण अति प्रभावित बनेको चलचित्र क्षेत्रलाई सरकारले छिट्टै सम्बोधन गर्ने आशा व्यक्त गर्दै आगामी दिनमा छायाङ्कन हुने चलचित्रका लागि प्रोत्साहन जरुरी रहेको औँल्याएका थिए। मन्त्री खतिवडाले उक्त विषयमा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।