सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपाका थप दुई जना कार्यकर्ता पक्राउ गरेको छ।
हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट बम विस्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ। पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका– ७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेल रहेको प्रहरी नायब निरीक्षक विनोद शर्माले जानकारी दिए।
पक्राउ गरिएकामध्ये बस्नेत यसभन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट रु दुई हजार धरौटी राखी तारेखमा छुटेका हुन्।
उनीहरुको साथबाट (जिलेटिन नियोजेल ९०) ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।