काठमाडौं- मनसुन सुरु भएयता शुक्रबारसम्म बाढी पहिरोलगायत प्राकृतिक प्रकोपबाट एक सय २० जनाको ज्यान गएको छ भने अझै ५१ जना बेपत्ता छन्।
मनसुन सुरु भएको जेठ ३० गतेदेखि पहिरोबाट १ सय, बाढीबाट ३ र चट्याङबाट १७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। यस्तै पहिरोबाट ४६ जना, बाढीबाट ५ जना अझै बेपत्ता छन्। प्राकृतिक प्रकोपबाट हरेक वर्ष ५ सय जनाको ज्यान जाने गरेपनि सबैभन्दा धेरै बाढी र पहिरोबाट ज्यान जाने गरेको हो।
शुक्रबार तीनको मृत्यु एक घाइते
शुक्रबार २४ घण्टामा ११ विपदका घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। कास्कीको माछापुच्छे गाउँपालिका- ८ स्थित खोरामुख पाखामा अविरल वर्षाका कारण एक घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ। सल्यानको कपुरकोट गाउँपालिका- ५ साउनेपानीको जंगलमा घर पोत्ने माटो लिन जादा एक जना गम्भीर घाइते भएका छन्।
आइतबार रातिदेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षा
आइतबार रातिदेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ। न्यूनचापीय रेखा आइतबारदेखि नेपालको तराई क्षेत्रमा केन्द्रित हुने भएकाले अधिकांश भूभागमा भारी वर्षाको सम्भावना देखिएको मौसमविद् मञ्जु बासीले बताइन्। ‘मनसुनको करिब चार महिनामा न्यूनचापीय रेखा नेपाल नजिक आउने र जाने नियमित भइरहन्छ‚’ बासीले भनिन् ‘जब न्यूनचापीय रेखा नेपालको सीमा नजिक आउँछ अनि मात्र भारी वर्षा हुन थाल्ने हो।’
गत असार २५ गतेदेखि सुरु भई असार २९ गतेसम्म देश अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो। फेरि आइतबारदेखि बिहीबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू-भाग गलिसकेकाले अब पर्ने पानीले पहिरोको सम्भावना बढेको हो। देशका विभिन्न स्थानमा बाढी‚पहिरोले ठूलो क्षति पुर्याएको छ।
प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताए। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ। मनसुन सुरु हुनुभन्दा पहिलेदेखि नै औसतभन्दा बढी वर्षा भइरहेको उनले बताए।
गृहमन्त्रालयमा शुक्रबार भएको कार्यक्रममा भूगर्भविद् शिव बास्कोटाले जमिन चिरा परेको र रुखहरु ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे। पानीका मुहानहरु सुक्ने वा पहिलेभन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैनाथ गरेर राखिएको बताए। सरकारी गैरसरकरी निकाय पनि तयारी अवस्थामा रहेकाले तत्काल परिचालन हुने अवस्थामा रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।