काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले गठन गरेको विभाग अमान्य हुने भन्दै कांग्रेसका तीन पदाधिकारीले निर्वाचन समितिमा उजुरी दिएका छन्।
सभापति देउवाले विधान र महाधिवेशनको निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीमा उल्लेख छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले उजुरी दिएका हुन्। उजुरीको बोधार्थ पार्टी सभापति देउवालाई बनाइएको छ।
महाधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागहरु नियमित कार्यकाल सकिएपछि बनाइएको भन्दै आपत्ति जनाइएको छ। विभागहरू अहिले आएर गठन गर्ने र सदस्यहरू मनोनयन गर्ने कार्य भइरहेको पौडेल पक्षले जनाएको छ। ‘निर्वाचनको सर्वमान्य मान्यता एवं आचारसंहिताको विपरीत हुन गइरहेको यो कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशाय समेतबाट प्रेरित रहेको हुँदा उक्त कार्य तत्काल रोक्न र बदर गर्न गराउन’ माग गरिएको छ।
विधि र पद्धति मिचेर विभाग गठन भएका अस्वीकार्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। सभापतिको विभाग गठन गर्ने क्रमले आसन्न महाधिवेशनको स्वच्छता एवं निष्पक्षतामाथि प्रश्न उठेको उल्लेख गरिएको छ। विधान र निर्वाचन आचारसंहिताविपरीतका मनोनयन र नियुक्तिहरूलाई स्वीकार नगर्न पार्टी पंक्तिलाई समेत अनुरोध गरिएको छ।
सभापति देउवाले गत माघमा कतिपय विभागका आफूनिकटका व्यक्तिलाई प्रमुखहरु तोकेका थिए। विधानतः २८ हुनुपर्ने विभागलाई बढाएर ४७ बनाइएको छ। पौडेल पक्षले विभाग गठनप्रति सुरुदेखि नै विरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।