वैदेशिक रोजगार बोर्ड भनेको श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ, दिदीबहिनी र उनीहरुका परिवारका हकहित तथा कल्याणका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत क्रियाशील एउटा संस्था हो। त्यसैले वैदेशिक रोजगारमा संलग्न रहेका नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनी र उनका परिवारहरुप्रति हाम्रो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सरोकार रहन्छ। यो हिसाबले विगतदेखि नै बोर्ड क्रियाशील रहँदै आएको छ।
अहिले कोभिडको अवस्थामा पनि क्रियाशील रहेर ऐन, नीति, नियमअन्तर्गतका सीमाभित्र रहेर हामीसँग भएका स्रोतहरुको अधिकतम परिचालनमार्फत् श्रमिकहरुको हकहित कल्याणका लागि भरपूर प्रयास गरिरहेका छौँ। अहिले हामी अप्ठ्यारोमा परेका वैदेशिक रोजगारमा संलग्न नेपालीहरुलाई उद्धार गर्ने, उहाँहरुलाई राहत प्रदान गर्ने र उद्धार गरेर स्वदेश ल्याइसकेपछि सामाजिक, आर्थिक पुनर्एकीकरण गर्ने सन्दर्भमा हामी क्रियाशील भइराखेका छौँ।
अहिले हामी धेरै विषयमा जान सक्दैनौँ। हामी अहिले उद्धारमा लागि रहेका छौँ। त्यसपछि राहत प्रदान गर्ने काम हाम्रो नियमित काम हो। हामी त्यसमा लागिरहेका छौँ।अबका दिनमा पुनर्एकीकरण कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि हामी क्रियाशील छौँ। उद्धारको सन्दर्भमा कुरा गर्नुपर्दा वैदेशिक रोजगारीका क्रममा कोरोनाका कारण समस्याग्रस्त भएका श्रमिकहरुलाई, खान बस्नै समस्या परेका श्रमिकहरुलाई सहायता प्रदान गर्ने भनेर हामीले नियोगहरुमा रकम पठाइसकेका छौँ। नियोगहरुले आवश्यकताअनुसार सहयोग पनि गरिराखेको अवस्था छ।
अर्को कुरा समस्यामा परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर नेपाल फर्काउनका लागि निर्देशिका तयार छ। त्यो मन्त्रिपरिषद्मा छ। मन्त्रिपरिषद्ले निर्णय गरेर पठाइसकेपछि हामीले हवाई टिकटबापत लाग्ने खर्चहरु नियोगमाफर्त् दिएर उहाँहरुलाई नेपाल फर्काउने हिसाबले अगाडि बढिरहेका छौँ। यो भयो उद्धारको कुरा।
अर्को शवको कुरा छ। लकडाउन भएपछि खास गरी मलेसिया र मध्यपूर्वी एशियाली मुलुकहरुमा शव रोकिएको अवस्था थियो। ती शवहरु व्यवस्थापन गर्न निकै चुनौती थियो। त्यो चुनौतीको हामीले सामना गरिरहेका छौँ। र शवहरु विस्तारै व्यवस्थापन गरिरहेका छौँ। ३५० भन्दा बढी शवलाई हामीले व्यवस्थापन गरेर अहिले करिब ९०-९५ शवमात्रै ल्याउन बाँकी छ। ती शवहरु पनि हामी छिट्टै ल्याउँदैछौँ।
करिब १३० वटा शव उनका परिवारको सहमतिमा सम्बन्धित गन्तव्यमै अन्त्येष्टि गरियो। यहाँ विमानस्थलमा ल्याइएका शवहरु लिन पनि लकडाउनका कारण परिवार आउन सक्नुहुन्न। यो अर्को चुनौती छ। यसमा पनि बोर्डले आफैँ रिसिभ गरेर ४० वटासम्म गाडी प्रयोग गरेर घरसम्म पुर्याइदिएकाे छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग भएकाहरुलाई आर्थिक सहायता प्रदान गर्ने काम पनि बोर्डले गरिरहेको छ।
अब विदेशबाट फर्किएकाहरुलाई पुनर्एकीकरणको कुरा छ। विदेशबाट फर्किएकाहरुलाई पुनर्एकीकरण गर्ने कुरा नेपालमा मात्र नभएर साउथ एशियामै अगाडि बढ्न सकिरहेको छैन। अहिले कोभिड १९ को समस्या आइसकेपछि विदेशबाट फर्किने नेपालीहरुको संख्या अनुमान गर्दा पुनर्एकीकरण कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि लैजानुपर्छ भन्ने हिसाबमा हामी अगाडी बढिरहेका छौँ।
मलाई आशा छ, यो असार मसान्तसम्ममा यो कार्यक्रम तयार भएर आइसक्छ। हामीसँग यसका लागि व्यापक प्याकेज पनि छ। तर, यसलाई कसरी सुरु गर्ने भनेर हामीलाई दुईवटा अप्ठ्यारो परेको थियो। एउटा त सामाजिक आर्थिक पुनर्एकीकरण के हो भनेर हामीले युनिभर्सल डेफिनेशन पाएनौँ। के हो त यो? कसरी जाने? भन्नेमा हामीलाई अलिकति समस्या परेको थियो। अहिले हामी अलिकति क्लियर छौँ।
वैदेशिक रोजगारमाथिको बढ्दो निर्भरतालाई कम गर्ने एउटा राष्ट्रिय रणनीतिको रुपमा पुनर्एकीकरण कार्यक्रमलाई लिइएको छ। त्यस्तै युवा जनशक्ति जो हुनुहुन्छ उहाँहरुलाई स्वरोजगार बन्न आकर्षित गर्ने। श्रमको सम्मान गर्ने प्रवृतिको विकास गर्ने र देशलाई आत्मनिर्भरतर्फ डोर्याउन सहयोग पुर्याउने कार्यक्रमको तयारी गरेका छौँ। अब बोर्डले पुनर्एकीकरण कार्यक्रम सञ्चालन गर्दैछ।
पुनर्एकीकरण कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने सन्दर्भमा अनेक अन्याेलता रह्यो। यो पुनर्एकीकरण कार्यक्रममा के कस्ता कम्पोनेन्टहरु राख्ने, कस्ता सर्भिसहरु दिने यी कुराहरुमा हामीले थुप्रै छलफल गर्याैं। एउटा टुंगोमा हामी पुगेका छौँ। हामीले अब फर्किने कामदारहरुलाई ४ वटा वर्गमा विभाजन गरेका छौँ। एउटा वैदेशिक रोजगार सफल भएर फर्कने, जसरी गएको त्यसरी नै फर्कने, ऋणमाथि ऋण लिएर फर्कने र वैदेशिक रोजगारीका क्रममा शारीरिक, मानसिकसँगै आर्थिक समस्या भएर फर्कनेहरु राखेका छौँ। उहाँहरुका लागि प्याकेज पनि फरक फरक राखेका छौँ।
(वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले पौरखी नेपालले आयोजना गरेको कार्यक्रममा राखेको मन्तव्यकाे सम्पादित अंश )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।