काठमाडौं- बुधबार भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको ‘वान टू वान’ संवाद सौहार्दपूर्ण नबनेपछि आज भेट हुने वा नहुने निश्चित भएको छैन। दुई अध्यक्षले केही दिनयता नियमित भेटवार्ता गर्दै आएका थिए।
बुधबारको छलफलमा प्रचण्डले ओलीलाई कुनै एक पदबाट राजीनामा दिन आग्रह गरेका थिए। तर, ओलीले अस्वीकार गरेका थिए। प्रचण्डलाई उनले अध्यक्ष बन्न मन भए महाधिवेशन र प्रधानमन्त्री बन्न मन भए चुनाव कुर्न भनेको प्रचण्डको ब्रिफिङ सुनेका एक नेताको दाबी छ।
साथै, प्रधानमन्त्रीको पक्षधरता लिएर देशका विभिन्न ठाउँमा भएकाे प्रदर्शन रोक्न पनि प्रचण्डले आग्रह गरेका थिए। तर, ओलीले त्यसलाई पनि अस्वीकार गरेका थिए। उनले राष्ट्रवादी प्रधानमन्त्रीको पक्षमा जनता स्वतः स्फूर्त उत्रिएको बताएका थिए।
ओलीले जे गर्ने हो स्थायी कमिटीबाट गर्नुहोस् भन्दै प्रचण्डलाई हाँक दिएपछि वार्ता झन् तिक्ततातिर मोडिएको थियो। जसले गर्दा आज बैठक हुने नहुने निश्चित हुन नसकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।