इस्लामावाद- पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुरेशीलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएकाे छ। उनलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोना भाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन्।
कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपनि विदेश मन्त्री कुरेशीले अलग्गै बसेर घरबाटै आफ्नो काम गर्ने भएका छन्। 'सुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर कोरोना परीक्षण गराएँ, नतिजामा सङ्क्रमण देखियो, म अब सेल्फ क्वारेन्टाइनमै बस्छु र म यहीँबाटै काम पनि गर्छु,' उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
पछिल्लो विवरण अनुसार पाकिस्तानमा दुई लाख २३ हजार ७२८ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् भने चार हजार ५९२ जनाको मृत्यु भएको छ। विश्वभरी सङ्क्रमणहरुको सङ्ख्याका आधारमा पाकिस्तान १२ औँ अग्रस्थानमा पर्दछ।
(रासस-एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।